पब्जी मोबाइल प्रो लिगमा ८ नेपाली टिमले ५४ लाख जिते




काठमाडौं । पब्जी मोबाइल प्रो लिग दक्षिण एसियामा नेपाली टिमले करिब ५४ लाख रुपैयाँ जितेको छ । प्रो लिगमा ८ वटा टिमले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । समूह चरणको खेलमा नेपाली टिमले ४५ हजार अमेरिकी डलर आर्थत ५३ लाख ९१ हजार रुपैयाँ जितेका हुन् ।

प्रो लिगको समूह चरणमा नेपाल, बंगलादेश, पाकिस्तान र मंगोलियाका २० टोलीले प्रतिस्पर्धा गरेका थिए । यसमा सबैभन्दा धेरै नेपालको ८ टिम, बंगलादेशको ६ टिम र पाकिस्तान र मंगोलियाको ३/३ टिम सहभागी थिए । २० वटा टिमलाई ५ समूहमा विभाजना गरिएको थियो । एउटा खेलमा १६ वटा मात्र टिम सहभागी हुन सक्छन् ।

समूह चरण ‘विकडे’ र सूपर ‘विकइन्ड’ मा खेलाइएको थियो । विकडेमा २० वटै टिमले ८/८ खेल खेलेका थिए । हरेक दिन ५ खेल हुनेछन् । विकडेको खेलबाट शिर्ष १६ पर्ने टिम सूपर विकइन्डका लागि छनोट हुन्छन् । एक हप्तामा २ दिन विकडे र ३ दिन सूपर विकइन्डका खेल खेलाइएको थियो । विकडेमा सहभागी सबै टिमले ८ खेल खेलेका थिए । सूपर विकइन्डका लागि छनोट भएका १६ टिमले १५ खेल खेलेका थिए ।

सोमबार र बिहीबार अफ डेको रुपमा रहेको थियो । समूह चरण ३ हप्तासम्म सञ्चालन भएको थियो । विकडेको अंक सूपर विकइन्ड छनोटका लागि मात्र गणना गरिएको थियो । फाइनल पुग्नका लागि सूपर विकइन्डको अंक तालिकामा शिर्ष १६ भित्र पर्नुपर्ने हुन्छ ।

समूह चरणको कुल पुरस्कार राशी ९५ हजार अमेरिकी डलर अर्थात १ करोड १३ लाख ८१ हजार रुपैयाँ रहेको छ । सूमह चरणका सहभागी सबै टिमलाई समान रुपमा २५ सय अमेरिकी डलर दिइनेछ । सूपर विकइन्डको खेलमा ‘चिकेन डिनर’ खेल जित्ने टिमले १ हजार अमेरिकी डलर प्राप्त गरेका थिए । सूपर विकइन्डमा कुल ४५ वटा खेल भएका थिए ।

नेपाली टिमले २५ वटा खेल जितेको थियो । नेपाली टिमहरु मध्ये डीआरएस, टीटुकेले ५/५, कार्नेज, डेडआई गाइजले ४/४, एसजीले ३, पीएनले २ र सेभेन सी, एचभीले १/१ खेल जितेका थिए ।

पब्जी मोबाइल प्रो लिग दक्षिण एसिया समूह चरणको उपाधी मंगोलयाको जियूस ईस्पोर्टले जितेको छ ।

फाइनमा नेपालको ८ टिम सहित बंगलादेश र पाकिस्तानको ३/३ र मंगोलियाको २ टिम पुग्न सफल भएका छन् । बंगलादेशको ३ र मंगोलयाको १ टिम फाइनल पुग्नबाट वञ्चित भएका छन् ।


क्लिकमान्डु