हामी आफूमात्रै होइन हजारौंलाई धनी बनाउँछौं, हर्बल, आइटी र शिक्षामा लगानी थप्दैछौं: हेमराज ढकाल



आइएमई समूह देशकै नाम चलेको प्रतिष्ठित व्यापारिक घराना हो । यो समूहको लगानीमा दुई दर्जन बढी व्यापार व्यवसाय सञ्चालमा छन् । व्यवसाय शुरु गरेको तीन दशक नपुग्दै आइएमइ समूह अर्बौंको साम्राज्य विस्तार गर्न सफल भएको छ । व्यवसायीद्वय चन्द्र ढकाल र हेमराज ढकालले आफ्नै बलबुँतामा यो सफलता हात पारेका हुन् । दाई चन्द्र आइएमइ समूहका अध्यक्ष छन् भने भाई हेमराज  प्रबन्ध निर्देशक हुन् । भनिन्छ हरेक महामारीले नयाँ अवसरको सिर्जना गर्छ । कोरोना महामारीले व्यापार व्यवसायमा कस्तो असर गर्यो ? साथै, के कस्ता अवसरहरु सिर्जना गर्यो ? अब यो समूहले कुन क्षेत्रमा लगानी विस्तार गर्दैछ ? छोटो समयमै आइएमई समूहले यतिठूलो सफलता हात पार्नसक्नुका पछाडिको रहस्य के हो ? लगायतका विषयमा केन्द्रित रहेर प्रबन्ध निर्देशक ढकालसँग क्लिकमाण्डूका लागि पुष्प दुलाल, आशीष ज्ञवाली र कमलकुमार बस्नेतले गरेको कुराकानीः

कोरोना महामारीका कारण लकडाउन भएको पनि एकवर्ष पूरा भइसकेको छ । यसबीचमा अर्थतन्त्र नराम्रोसँग प्रभावित भयो । कोरोनाले कस्तो असर गर्यो । र, त्यसको कसरी सामना गर्नुभयो ?

कोरोना जसरी विश्वभरी आयो, त्यसले मानव सभ्यताको ‘थट प्रोसेस’ परिवर्तन भयो । व्यवसाय गर्ने शैली परिवर्तन भयो । सोसाइटियल भ्यालू परिवर्तन भयो । हाम्रो पूरा इको सिस्टमलाई नै परिवर्तन गर्यो । जसरी चीनबाट शुरु भएर विश्वव्यापी रुपमा फैलियो । शुरुमा ट्राभल इन्डष्ट्रिबाट शुरु भएर काम गर्ने संस्कृति नै परिवर्तन भयो । वर्क फ्रम होमको कल्चर शुरु भयो । त्यसको असर नेपालमा पनि पर्यो । ग्राहकलाई सेवा पनि दिनुपर्ने र सहकर्मी साथीहरुको स्वास्थ्यलाई हेरेर घरबाट नै काम गर्याै। पहिले एउटा मिटिङका लागि पनि एयरलाइन्स चढ्नु पर्थ्यो भने अहिले घरमै बसेर जुमबाटै सहजै गर्न सकिन्छ । कोरोना महामारीका कारण सिर्जित लकडाउनका कारण शुरुमा निकै ठूलो असर पर्यो । कैयन कम्पनीहरु बन्द भए । धेरैले रोजगारी गुमाएको अवस्था थियो भने अहिले केही व्यवसायबाहेक धेरै व्यवसायहरु रिभाइभको चरणमा छन् । विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटनको चहलपहल बढ्न थालेको छ ।

व्यवसायको वृद्धिदरमा कत्तिको असर परेको छ ?

शुरुवाती दिनमा त ठूलो असर गर्यो । तर लकडाउन हटेसँगै त्यो बिस्तारै रिभाइभ भइरहेको अवस्था छ । आइएमई ग्रुप अन्तर्गत सञ्चालत पर्यटनसँग सम्बन्धित कम्पनीमा ठूलो असर गर्यो भने डिजिटल व्यवसायमा राम्रो फाइदा पनि भयो । चन्द्रागिरि हिल्स बन्द भयो भने सोही समयमा आइएमई पेको कारोबारमा राम्रो भयो । विदेशमा लकडाउन हुँदा शुरुमा पैसा पठाउन गाह्रो भयो तर डिजिटलमाध्यमबाट पठाउने सुविधा भएकाले १० प्रतिशत तलमाथि मात्रै भएको छ । त्यसैले रेमिट्यान्समा ठूलो असर परेको छैन ।

व्यवसाय रिभाइभ हुने चरणमा भएकाले बेलामा अहिले फेरि कोरोना भाइरसको नयाँ प्रकार देखिएको छ । पूर्वतयारी कस्तो छ, के गर्नुपर्ला ?

हिँजोका दिनमा कोरोना महामारीका कारण जुन प्रकारको भयाभयको अवस्था सिर्जना भयो त्यो भोगेर हामी बाहिर आइसकेका छौं । त्यसबाट हामीले अब कसरी काम गर्ने हो भन्ने अनुभव पनि भएकाले पहिलेको तुलनामा अहिले धेरै प्यानिक हुँदैन् । अब व्यवस्थापन गर्नका लागि कुनै पनि समस्या हुँदैन । किनभने हिजोका दिनमा हामीले सिकेको पाठ पनि त्यही हो ।

भनिन्छ कुनै पनि समस्याले नयाँ अवसरको सिर्जना गर्छ । तपाईंले कोरोना महामारीको यो समस्याभित्र के कस्तो अवसरहरु देख्नुभयो ?

एउटा चिनियाँ उखान छ, एभ्री क्राइसेस ह्याज इक्वेल अमाउण्ट अफ अपरचुनिटी’ । भनेको जहाँ समस्या छ त्यहाँ समस्या समाधानको अवसर छ । जस्तो मुटुको गति पनि एउटै दिशामा जानु भनेको त मृत्यु हुनु हो त्यसका लागि पनि उतारचढाव हुनुपर्छ । सन् १९२० मा पनि महामारी शुरु भयो त्यसपछि स्वास्थ्यको क्षेत्रमा ठूलो विकास भयो । अहिलेको अवस्थामा डिजिटल इकोनोमीको ठूलो अवसर सिर्जना भएको छ ।

त्यही त, तपाईंले कुन क्षेत्रमा बढी अवसर देख्नुभयो ?

महामारीपछि २/३ वटा क्षेत्रमा राम्रो अवसर देखेको छु । पहिलो त डिजिटल क्षेत्रमा ठूलो सम्भवना छ । आइटीको अथाह सम्भावना छ । अहिलेका युवाहरुमा सिक्ने कला पनि राम्रो छ । ग्लोवल स्पेसमा नेपालबाट आइटीलाई लिएर जान सक्ने अवस्था छ । साथसाथै स्वास्थ्य क्षेत्रमा पनि राम्रो सम्भावना छ । मानिसहरु नेचुरल थेरापीको क्षेत्रमा पनि राम्रो सम्भावना छ । हामीकहाँ भएको मौसम र भौगोलिक बनोटले पनि छिमेकी मुलुकमा बिक्री गर्न सक्छौं । नेपाल कृषि प्रधान देश भए पनि आयात ठूलो छ । कृषि उत्पादन बढाएर निर्यात गर्न सक्ने सम्भावना पनि ठूलो छ । विदेशमा गएर काम गर्ने युवाहरुले सीप सिक्नु भएको छ । त्यसैले कृषि क्षेत्रमा पनि उद्यम गर्न सक्ने सम्भावना छ ।

यी सबै सम्भावनामाथि तपाईंले आफ्नो तयारी पनि त गरिरहनु भएको होला नि ?

लगानीकर्ताका हिसाबले हरेक दिन लगानीको सम्भावना खोज्ने क्रम जारी नै छ । र, विदेशबाट काम गरेर सीप सिकेर फर्कनेहरुमा पनि उद्यमशिलताको विकास भएको छ । हामीहरुले उद्यमशिलताको सोच भएकाहरु युवाहरुको सोचमा पनि लगानी गर्छौ । त्यसबाहेक केही नयाँ क्षेत्रमा पनि लगानी गर्ने योजना बनाइरहेका छौं ।

डिजिटलमा ठूलो संभावना छ भन्नुभयो । आइएमई समूहले डिजिटल क्षेत्रमा के कस्ता काम गरिरहेको छ ? र, आगामी दिनमा विस्तार कसरी गर्दैछ ?

आइएमईले रेमिट्यान्सको क्षेत्रमा काम शुरु गर्दा टेक कम्पनीकारुपमै भएको हो । जसका कारण दुबइबाट जुम्लामा ५ मिनेटमा पैसा पठाउन सकिएको हो । हामीले जहिले पनि के सोच राखेका छौं भने हाम्रो व्यवसायले धेरैभन्दा धेरै मानिसमा प्रभाव पार्नुपर्छ । सबैको अपनत्व विकास हुनुपर्छ भन्ने हो । आजका दिनमा पनि डिजिटल क्षेत्रमा अझ बढी काम गर्ने योजना बनाएका छौं । कसैसँग भएको नयाँ आइडिया छ भने त्यसलाई लिन पनि सकिन्छ वा आफै पनि काम गर्नेछौं । र, यो काम छिट्टै हुनेछ । अहिले पनि मिदासमार्फत् शिक्षा र स्वास्थ्यको क्षेत्रमा डिजिटल प्लेटफर्मका रुपमा काम गरिरहेका छौं । जसलाई अझ व्यापक बनाउने प्रयासमा छौं ।

कोरोना महामारीले के ज्ञान सिकायो ?

म धेरैजसो देशबाहिरै बस्थे । निकै धेरै ट्राभल गर्नेमा पर्थे । तर महामारीले घरमै बस्न बाध्य भएँ । जसले घरमै बसेर पनि सजिलो ढंगले काम गर्न सकिन्छ भन्ने पाठ सिकायो । घरमै बसेर काम गर्दा पनि उत्तिकै रुपमा काम गर्न वा अझ बढी काम गर्न सकिन्छ भन्ने ज्ञान पनि सिकायो । आफैलाई बुझ्ने मौका पनि भयो ।

आइएमई ग्रुपको लगानी कति छ ? र, कति जनाले रोजगारी पाएका छन् ?

आजका दिन लगानी यति छ भन्ने तथ्यांक मसँग त छैन । अहिले हामीले २० हजारलाई रोजगारी दिएका छौं भने अप्रत्यक्षरुपमा ग्रुपमा १ लाख जति जोडीएका छन् । हाम्रो लगानी विभिन्न क्षेत्रमा विविधिकरण भएको छ । प्रोजेक्टअनुसार भएको लगानीको तथ्यांक छैन । पब्लिक कम्पनीमा भएको लगानी सार्वजनिक नै हुनेभयो ।

चन्द्र ढकालको पब्लिक कम्पनी रणनीतिः बन्लान् त डलर अर्बपति, कहाँ कति छ लगानी र सम्पत्ति ?

आजका दिनमा २० अर्बको जति लगानी भएको छ भन्न त मिल्ला नि ?

त्यो भन्न सकिने कुरा भएन । लागनी भनेको ऋण पनि हो । हरेक व्यवसायमा ऋण लिनैपर्छ । हामीसँग बैंकको लोन पनि छ । ५० देखि ६० प्रतिशतसम्म ऋण लिएका छौं । त्यसैले इक्विटीमात्रै लगानी हुँदैन ।

तपाईं लामो समय विदेश पनि बस्नुभयो । नेपाल र विदेशमा काम गर्न के कस्ता भिन्नता पाउनुभयो ?

विदेश र नेपालमा काम गर्नका लागि प्रोसिड्युरलमा फरक छ । विदेशमा समस्या छैन । नेपालमा त्यो समस्या छ । हाम्रा लागि विदेशमा काम गर्नभन्दा नेपालमै धेरैभन्दा धेरै काम गर्न सहज हुन्छ । विदेशमा काम गर्नका लागि एउटा स्ट्यान्डर्ड हुन्छ त्यही अनुसार काम हुन्छ भने नेपालमा प्रक्रियागतरुपमा जाँदा केही समस्या छन् ।

नेपालमा व्यवसायीहरुले बैंकको ब्याजदर बढी भयो भन्ने सुनिन्छ । तपाईंलाई चाहीँ ऋणीका हिसाबले ब्याजदर बढी भएको भन्ने लाग्छ कि लाग्दैन ?

हामी बैंकको सञ्चालक छौं । र, ऋणी पनि छौं । बैंकले पनि लगानीकर्ताको पैसाबाट कमाउनु पर्ने हुन्छ । अहिलेको हिसाबमा हेर्दा गत वर्षकोभन्दा घटेको छ । ब्याजदर जहिले पनि स्थिर हुन्छ भन्ने हुँदैन । बजारमा हुने आर्थिक गतिविधिले निर्धारण गर्ने हो । आजका दिनमा नेपालमा बसेर जापानमा हुने ब्याजदर खोजेर पनि हुँदैन । बैंकको ब्याजदरलाई आधार मानेर हामीले लगानी गर्ने हो । ऋणीका हिसाबले सस्तो होस् भन्ने त हुन्छ नै । बैंकले निक्षेपकर्तालाई पनि दिनुपर्छ । र, ऋणीसँग पनि ब्याज लिनैपर्छ । यो ब्यालेन्स हुनुपर्छ ।

आइएमईले अहिले आफ्नो लगानी भएका कम्पनीलाई धमाधम पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरिरहेको छ । पब्लिकमै जान के कुराले तान्यो ?

हामीले व्यवसाय गर्दा पारदर्शितामा विश्वास गर्छौं । र, धेरैभन्दा धेरैको सहभागिता होस् भन्ने चाहन्छौं । पब्लिकहरु पनि कम्पनीमा सेयरहोल्डर बन्नुपर्छ भन्ने सोच छ । आइएमई हामीले शुरुवात गरे पनि यसको बेनिफिसियरी सबै हुनुपर्छ भन्ने हो । र, हाम्रो ग्रोथमा अरुको पनि सहभागिता हुनुपर्छ । त्यसबाहेक जवाफदेहिता पनि हुनुपर्छ । राज्यले लिएको नीतिअनुसार पनि चल्नुपर्छ भन्ने हो ।

आइएमई समूहले प्रवद्र्धन गरेको ग्लोबल आइएमइ देशकै ठूलो बैंक छ । अब त यति भनिदिनु न आइएमई ग्रुपले वर्षमा कति कमाउँछ ?

त्यो तपाईंले पब्लिक लिमिटेड कम्पनीका रुपमा सार्वजनिक भइसकेको तथ्यांक भएकाले जहाँबाट पनि लिन सक्नुहुन्छ । फेरि नाफा भन्ने पैसा मात्रै होइन ।

आइएमईको आइपीओ कहिले जारी होला ?

अब छिट्टै हुन्छ । त्यसको प्रक्रिया पनि अगाडि बढिसकेको छ । मापदण्ड पूरा भइसकेको छ । प्रक्रियामा अगाडि बढिसकेका छौं । यो आजको भोलि सकिन्न । त्यो चरणमा छ । धितोपत्र बोर्डका मापदण्ड पूरा गर्ने प्रक्रियामा हामी अघिबढेका छौं । अबको एक वर्षभित्रमा सर्वसाधारणले आइपीओमा आवेदन दिन पाउनेछन् । सम्भवतः बुक बिल्डिङबाट नै आउँछ । सम्भवतः हामीले १० प्रतिशतदेखि ३० प्रतिशतसम्म ल्याउने योजना बनाएका छौं । तर निर्णय भइसकेको छैन । न्यूनतम १० प्रतिशत आउँछ नै ।

सेयर बजारमा हाथवे ठूलो कम्पनीमा पर्छ । अहिले सेयर बजारमा लगानीकर्ता पनि बढिरहेका छन् । हाथवे आइएमई ग्रुप अन्तर्गत नै भएकाले अहिलेको सेयर बजारलाई कसरी लिनु भएको छ ?

आइएमई ग्रुपको लगानी भएकाले पनि त्यो नित्तान्त स्वायत्त संस्था हो । सेयर बजार हाथवे नै चलाउँछ भन्ने होइन । अहिलेको सेयर बजारमा यतिधेरै अनलाइनका प्रयोगकर्ता भएकाले कसैले चाहने पनि नियन्त्रण गर्न सक्दैन ।

आइएमइ ग्रुपकै लगानी रहेको चन्द्रागिरि हिल्सको सेयरमूल्य लगातार बढिरहँदा कस्तो महशुस भइरहेको छ ?

लगानीकर्ताका हिसाबले निकै राम्रो हो । खुसी लाग्छ । सर्वसाधारणले यति धेरै माया गर्नु भएको छ । त्यसमा खुसी लाग्ने भइहाल्यो ।

देशभर कतिवटा केवलकार बनाउने योजना छ ?

अहिले हामीले त्यसको अध्ययन गरिरहेका छौं । आजको भोलि हुने होइन । अहिले हामीले चन्द्रागिरिपछि बुटवलमै बनाउने हो । अन्य स्थानमा पनि बनाउने योजना छ । तर कहाँ बनाउने भन्नेमा हामी अध्ययन गरिरहेका छौं ।

पूर्वाधारमा निजी क्षेत्रले लगानी गर्दा कस्ता समस्या आउने रहेछन् ?

चन्द्रागिरिलगायतका पूर्वाधार निर्माणका काममा स्थानीय समस्याहरु बढी आउँछन् । जग्गाको कुरा, सामूदायिक वनको कुरामा समस्या आउँछन् । अहिले लाइन मिनिस्ट्रीहरु बढी भएकाले पनि समस्या धेरै भइहाल्ने भयो । र, समय बढी लाग्छ अनुमति माग्न पनि । स्थानीयको आफ्नो सरोकारको विषय छ । सीमानाको कुरा हुन्छ । पर्यावरणको कुरा पनि छ । यावत समस्या आउँछन् । यहाँ बसेर कार्यालय चलाएजस्तो हुँदैन । तर, नीतिगत तहमा नियम कानूनहरु अलिबढी सहज भयो भने नेपालमा मेगा प्रोजेक्टहरु सञ्चालन गर्न सकिन्छ । त्यसका लागि सरकारले निजी क्षेत्रको सल्लाह र सहकार्यमा सञ्चालन गर्नका लागि उत्प्रेरणा दियो भने नसकिने भन्ने छैन ।

विदेशका हकमा निजी क्षेत्रले पनि बन्डहरु जारी गरेर ठूल्ठूला प्रोजेक्ट सञ्चालन गरेको देखिन्छ । नेपालमा यस्ता ठूलो प्रोजेक्ट चलाउनका लागि के कस्ता समस्या भएको पाउनु भएको छ ?

नेपालमा लाइन मिनिस्ट्रीहरु धेरै छन् । यस्ता प्रोजेक्टमा वन पनि भएकाले आइइ, इआइएको पनि समस्या छ । त्यस्ता प्रोजेक्ट बनाउनका लागि कनेक्टिभिटीको समस्या पनि छ । पानीको पनि समस्या छ । यी समस्या भएन भने काम गर्न निजी क्षेत्रले गर्न नसक्ने भन्ने छैन ।

चन्द्रागिरिजस्तो सबैबाट वाहवाही पाएको प्रोजेक्टजस्तै अरु कुनै प्रोजेक्ट बनाउने योजना के छ ?

चन्द्रागिरि हिल्सको अवधारणा म मलेसियामा बस्दा आएको हो । मलेसिया गेन्टिङ हाइल्याण्डबाट आएको अवधारणा हो । यो मेरो ड्रिम प्रोजेक्ट हो । अब नेपालमा दीर्घकालीन असर गर्ने खालका बाटोको कुरा होला त्यो पनि चलाउन सकिन्छ । हामीले कनेक्टिभिटीमा काम गर्ने योजना बनाएका छौं । नेपालका गाउँगाउँका प्रत्येक घरमा इन्टरनेट पुर्याउने योजना छ ।

प्रत्येक घरघरमा इन्टरनेट पुर्याउनका लागि के कस्ता काम गरिरहनु भएको छ ?

एक वर्षदेखि डिशहोमले यो काम पनि शुरु गरिसकेको छ । काठमाडौंमा बिस्तार शुरु गरिसकेका छौं । गत वर्ष कोरोना महामारीका कारण केही समस्या भयो । तर हामीले काम अगाडि बढाइरहेका छौं । फेरि हामीे काम गर्न खोजे पनि गर्न सक्दैनौं । त्यसमा पनि प्राथमिकतामा पर्नुपर्छ । अहिलेको प्राथमिकतामा कनेक्टिभिटी नै हो । त्यसका लागि काम गर्ने योजना बनाएका छौं । त्यसबाहेक पूर्वाधारको क्षेत्रमा अहिले हामीले जलविद्युत्मा सानो लेभलमा काम गरिरहेका छौं ।

महत्त्वाकांक्षी चन्द्र ढकालः बैंकको जागिरेदेखि महासंघको नेतृत्वसम्म

तपाईंहरुको ठूलो पहिचान बैंकिङ क्षेत्र पनि हो । अझै ठूलो बनाउन बिग मर्जरमा जाने के सोच छ ?

बैंकको हिसाबले अहिले मैले केही भन्न मिल्दैन । अहिले बैंकको साइज राम्रो छ । त्यसैले अब गुणस्तरमा सेवामा राम्रो गर्ने मै बढी केन्द्रित छौं ।

तपाईं आइएमई इन्स्योरेन्सको अध्यक्ष पनि हुनुहुन्छ । बैंकमा जस्तै बीमा क्षेत्रमा बिग मर्जरमा कसरी शुरुवात गर्नुहुन्छ ?

बीमा क्षेत्रमा दीर्घकालीन रुपमा मर्जरको शुरुवात हुन्छ । त्यो आवश्यकता पनि देखिएको छ । त्यसमा नियमनकारी निकायले पनि त्यो अग्रसरता देखायो भने त्यसमा पनि अग्रसरता देखाउन सकिन्छ ।

नेपाल इन्स्योरेन्स र आइएमई जनरल दुबैमा तपाईंहरुको लगानी देखिन्छ । यी दुबै कम्पनी मर्जरमा जाने कुरामा तपाईंको के योजना छ ?

बाहिर त हल्ला चलेको छ । हल्लाकै आधारमा केही निर्णय हुँदैन । यी दुबै कम्पनीहरु आफ्नो ढंगले स्वतन्त्र रुपमा चलिरहेका छन् । भोलिका दिनमा मर्जरमा जानका लागि नियमनकारी निकायबाट अग्रसरता देखिनुपर्छ । पुँजी बढाउनका लागि पनि मर्जरको आवश्यकता आउन सक्छ । त्यसमा राज्यको नीतिअनुसार हामीले सक्ने सहयोग भनेको गर्नेनै छौं ।

तपाईंहरुको धेरै लगानी सेवामूलक क्षेत्रमा छ । उत्पादनमूलक उद्योगमा लगानी बढाउने योजना के छ ?

हरेक अर्गनाइजेसनमा कुनै कोर एक्सर्पजिट हुन्छ । हाम्रो सेवामूलक क्षेत्रमा बढी छ । अब बिस्तारै हामी सिफ्ट हुन्छौं नै । तर मुख्यगरी सेवामूलक क्षेत्रमै हुन्छौं ।

लगानी सम्मेलनमा शो केसमा आइएमई सिमेन्ट पनि थियो । अहिले के भइरहेको छ ?

त्यो प्रोजेक्ट अहिले होल्डमा छ । अहिले हामीहरु टुरिजम प्रोजेक्टमै बढी केन्द्रित भएका छौं ।

तपाईंहरुले उद्यमशिलता बढाउनका लागि भेञ्चर क्यापिटलिस्टका रुपमा काम गर्ने योजना के छ ? कसैको योजना मन परेको खण्डमा लगानीको योजना के छ ?

यो सोच हाम्रो पहिलेदेखिकै हो । यसमा हामीले काम पनि गरिरहेका छौं । उद्यमशिलता भएकाले युवाहरुमा लगानीमार्फत् सहयोग गर्ने पाटो खुला छ । हामीले रोजगारीमात्रै सिर्जना नगरी उद्यमशिलता बढाउनका लागि पनि काम गरिरहेका छौं । कुनै योजना छ भने मसँगै नै आएर योजना सुनाएर लगानी गर्न सक्छौं । अहिले विशेषगरी टेक्नोलोजी सम्बन्धि कम्पनीमा लगानी गर्ने हाम्रो सोच छ । परम्परागत ढंगबाट चलिरहेका कम्पनीहरुलाई डिजिटल बनाउने वा टेक कम्पनीमार्फत काम गर्नका लागि कसैले राम्रो योजना ल्याउँछ भने त्यसमा लगानी गर्न समस्या छैन । यसका लागि हामीसँग एउटा टीम छ । त्यो टीमले अध्ययन गरेर अवधारणा तयार पार्छ । वर्षमा कम्तीमा पनि ४/५ वटा नयाँ उद्यमी हाम्रो लगानीमा जन्मिउन भन्ने छ । यसका लागि हामी तयार छौं ।

यसमा के समस्या रहेछ ?

यसमा अब समस्या नीतिगत तहमै बढी हुन्छ । लगानीकर्ताका हिसाबले त्यो कुरामा हामीले सोच्नुपर्छ । उहाँहरुलाई लगानी उपलब्ध गराउने, निर्देशन गर्ने सिकाउने काममा केही समस्या छ अहिले पनि । नयाँ उद्यमी बन्न चाहने युवाहरुले बनाएको कतिपय प्रोजेक्टहरु कागजमा हेर्दा निकै राम्रो देखिन्छ । तर रियालिटीमा हेर्दा सफल बनाउने पर्छ । आम्दानी पनि गर्नुपर्छ । त्यसलाई पनि अध्ययन गर्दा सुक्ष्म ढंगले हेर्नुपर्छ ।

आइएमई ग्रुपको अटो क्षेत्रमा पनि लगानी छ । महंगो भनिएको बाइक हार्ले डेभिन्सनको डिलरसिप पनि फिर्ता भइसकेको छ । किन त्यस्तो भएको होला ?

यो पहिले भारतमा उत्पादन हुन्थ्यो । त्यो बन्द भएको छ । अहिले पनि अर्डर बेसमा ल्याउन सकिन्छ । कम्पनी आफै पनि अन्य क्षेत्रमा लगानी बढाउन चाहेको अवस्थामा हामीले बन्द गरेको हो । तर अहिले पनि ल्याउन सकिन्छ । कम्पनीको सोच नै फरक परेकाले समस्या भएको हो ।

व्यापार गरेपछि सफलताका कथाहरु त बढी नै आउँछन् । तर अटो क्षेत्रमा तपाईंहरुलाई सफलता हात नपरेको हो ?

कुनै पनि व्यवसाय दीर्घकालीनरुपमा सोच बनाएर जाने हो । अहिलेको हिसाबले हेर्दा राम्रोसँग नै अगाडि बढेको छ । सबैलाई हेरेर अगाडि बढ्नुपर्छ । त्यसबाहेक पब्लिकलाई नै फोसक गरेर कुनै ब्राण्ड ल्याउनका लागि पनि प्रयास भइरहेका छन् । हामीले अटो क्षेत्रमा पनि केही गरौं भन्ने योजना बनाएकै छौं । यसमा पनि अध्ययन भइरहेको छ । हामीले नयाँ नयाँ कुराहरु हरेक दिन नै हेरिरहेका छौं । टु ह्विलर्स वा फोर ह्विलर्समा पनि हेरिरहेका छौं ।

प्रसंग बदलौं । हामीले तपाईंबारे आजसम्म बुझे अनुसार सक्रियरुपमा व्यवसायमा प्रवेश गरेको २८/३० वर्ष भयो । आइएमई भनेको सुपर फास्ट भनेरै चिनिन्छ । त्यसैगरी व्यवसायिक यात्रामा पनि सुपर फास्ट ग्रोथ देखिएको छ । यो ग्रोथका पछाडिको रहस्य के हो ?

हामीले जुन समयमा व्यवसाय शुरु गर्यौं । म सन् १९९४ मा म जापानमा बस्थेँ । त्यो समयमा जापानमा भर्खरै नेपालीहरु जान शुरु गरेका थिए । त्यहाँबाट आइएमईको सोच शुरु भएको हो ।

त्यसभन्दा अगाडि कुरा गर्दा मैले एसएलसी बाग्लुङबाट गरेको हो । एसएलसी पास गरिसकेपछि म काठमाडौं आएँ । त्यो समयमा दाई (चन्द्राप्रसाद ढकाल) बैंकमा काम गर्नुहुन्थ्यो । मैलै त्रिचन्द्र कलेजमा आइएससी गरेँ । म गाउँबाट आएको हिसाबले खर्च पनि चाहियो । त्यो हिसाबले शुरुमा कोल्स स्टोर (किराना पसल) शुरु गर्यौं । म विहान कलेज जाने दिउँसो पसलमा बस्थे ।

यो सन् २०४८ सालतिरको कुरा हो । पक्नाजोलमा हामी दाई, दिदी र म बस्थ्यौं । त्यो बेलामा हामीले पसलमा ५०/६० हजार रुपैयाँ लगानी गरेका थियौं ।

त्यो बेलामा यतिठूलो साम्राज्य स्थापना हुन्छ भन्ने लागेको थियो ?

साइन्स पढेको हिसाबले त मेरो सोच नै डाक्टर वा इन्जिनियर नै बन्ने थियो । र, मलाई अमेरिका पढ्न जाने ठूलो धोको थियो । अमेरिका जानका लागि ट्राइ पनि गरेँ तर भिसा दिएन । अनि जापान गएँ । र, जापानबाट आइएमईको अवधारणा शुरुवात भयो ।

आइएमईको अवधारणा कसरी शुरु भयो ?

जापनमा केही नेपालीहरु हुनुहुन्थ्यो । जापानमा इन्डियन रेष्टुराँ खुल्ने र त्यही रेष्टुराँमा भारतबाट नेपालीहरु जान थालेका थिए । त्यो समयमा जापानीज र नेपाली भाषा राम्रो जानेकाले मलाई सहज भयो । बैंकमा काम गर्ने एकजना साथी हुनुहुन्थ्यो । नेपालीले बैंकमा भाषा नजान्दा मलाई बोलाउनु हुन्थ्यो । त्यो बेलामा नेपालीहरुलाई जापानबाट पैसा नेपाल पठाउनका लागि सहज तरिकाले गर्न सकिन्छ भन्ने सोच आयो । र, म ४ वर्ष जापान बनेपछि नेपाल आएँ । दाई बैंकमा काम गरिरहनु भएको थियो । जापानबाट आइएमईको शुरुवात गर्न पाइएन् । तर, सन् १९९९ मा मलेसियाले नेपाललाई सोर्स देशका रुपमा लियो । र, त्यसपछि हामीले मलेसियाबाट आइएमईको शुरुवात गर्यौं ।

आजका दिनमा ठूलो साम्राज्य स्थापना भइरहेको छ । अझ कति ठूलो आकार बन्ला भन्ने सोच्नुभएको छ ?

मैले साइजमा कहिल्यै सोचेको छैन । मेरो सोच भनेको हामीले धेरैभन्दा धेरै जनालाई साथमै हिँडाएर प्रभाव पार्ने हो । त्यसैका आधारमा म अगाडि बढेको छु ।

तपाईंहरुको व्यवसायको शुरुवात राज्यका नीतिलाई सहयोग गर्नका लागि नै गरेको देखिन्छ । रेमिट्यान्सदेखि बैंक, मर्जर, डिजिटल पेमेन्टलगायतका व्यवसायमा त्यो देखिन्छ । राज्यका नीतिसँगै अघिबढ्दा यो सफलता हात परेको हो ?
हामीले जहिले पनि भइरहेको भन्दा पनि एक कदम अगाडि बढेर के गर्न सकिन्छ भन्ने सोचमा हुन्छौं । हामी हरेक काम नयाँ गर्न मन पराउँछौं ताकी प्रत्येक मानिसलाई प्रभावमा पार्न सकोस् भन्ने नै हाम्रो सोच हुन्छ ।

शिक्षा र स्वास्थ्यमा पनि लगानी बढाउँदै हुनुहुन्छ ?

अहिले हामीले मिदास अस्पतालमा लगानी गरेका छौं । त्यसले शिक्षा र स्वास्थ्य दुबै क्षेत्रमा काम गरिरहेको छ । प्रविधिको उच्चतम प्रयोग गरी नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा कसरी प्रभाव पार्न सकिन्छ भन्ने सोच नै हो । यो पनि डिजिटल इकोसिस्टमको एउटा पाटो हो । कुनै निश्चित प्रडक्टभन्दा पनि प्लेटफर्मका रुपमा अगाडि बढ्ने हो ।

हामीले लेखेको र पढेका आधारमा निकै सफल व्यवसायीमारुपमा लिएका छौं । तपाईंका असफलताका कुराहरु पनि त होलान् नि ?

बाहिर आउँदा सफलताका कथाहरु धेरै आउँछन् । तर हामीले असफलता पनि पाएका छौं । हरेक क्षेत्रमा उत्तिकै सफलता मिल्दैन । हामीले शिक्षा क्षेत्रमा प्रवेश गर्न खोजेको निकै लामो समय भइरहेको छ । तर त्यसमा राम्रोसँग सफलता प्राप्त गर्न सकेका छैनौं । त्यसबाहेक पनि अन्य केही काममा पनि असफलता पाएका छौं ।

तपाईंले अंक दिँदा १०० मा कति सफलता र कति असफलता भन्नु हुन्छ ?

मैले अहिलेसम्म काम गरे अनुसार खुसी छु । सफलता र असफलता भन्ने कुरा भनेको छुट्टै हो । असफलता हुने वित्तिकै टाउको समातेर बस्ने पनि होइन । सफलताका लागि अगाडि बढ्ने हो ।

तपाईं सफल व्यवसायी भएकाले तपाईंजस्तै सफल हुनका लागि के चाहिन्छ ? आउँदै गरेका युवाहरुलार्ई के सुझाव दिनुहुन्छ ?

आफ्नो क्षेत्रमा सबै सफल हुनुहुन्छ । सबैको आ-आफ्नो सफलता आफ्नो ठाउँमा छ । सफलता आजको भोलि केही पनि हुँदैन । दीर्घकालीन सोच हुनुपर्छ । निरन्रता चाहिन्छ । उद्यमीका हिसाबले हेर्दा समस्या कहाँ छ र त्यो समस्या कसरी समाधान गर्ने हो त्यो हेर्ने हो । समस्या जहाँ छ त्यहाँ अवसरहरु पनि हुन्छन् । समस्या नै भएन भने समस्या हुँदैन । व्यवसायीले पनि त्यो हेर्ने हो । साथै व्यवसाय गर्दा पैसा पनि कमाउनु पर्छ । पैसा कमाउन सकेन भने व्यवसाय टिकाउ हुन सक्दैन । व्यवसाय शुरु गर्दा कम्पनीमा ३/४ वर्षसम्म टिकाउन हुनुपर्छ । त्यसपछि व्यवसायले पैसा कमाउनै पर्छ । चन्द्रागिरिको काम पनि त अहिले पब्लिकमा आउँदा ३ वर्षमात्रै हो । तर हामीले शुरुवात गरेको त १२ वर्ष भइसकेको छ । आफूलाई प्यासन पनि हुनुपर्छ । व्यवसाय शुरु गर्दा प्यासन पनि हुनु उत्तिकै जरुरी छ । प्यासनले नै ड्राइभ गर्ने हो ।

तपाईंको  प्यासन के हो ?

आजका दिनमा मेरो प्यासन भनेको फिनटेक नै हो । डिजिटलमै अझ धेरै काम गर्नुपर्छ भन्ने हो । शिक्षा र स्वास्थ्य पनि त्यही डिजिटलकै एउटा पाटो हो । यसैमा भविष्य पनि छ भन्नेमा मलाई विश्वास छ ।

मेरो पढ्ने पनि सोख छ । शुरुमा म अमेरिका जाने योजना थियो । त्यहाँ गएर पढौं भन्ने थियो । पछिल्लो समयमा पनि म अमेरिकाको हवार्ड विश्वविद्यालयमा गएर पढेँ । एमआइटीएमा पनि ३ वर्ष जति पढे । एक वर्ष जति लण्डन बिजनेस स्कुलमा पनि पढेँ । हामीहरु त्यहाँबाट डिग्री लिने मात्रै होइन त्यहाँ कसरी काम गरिरहेका छन् भन्ने पनि ज्ञान पाउने हो । आफूले गरिरहेको काम ठीक छ कि छैन भन्ने छुट्याउन पनि सहज हुन्छ ।

संस्था सफल बनाउनका लागि के चाहिने रहेछ ?

व्यवस्थापनका हिसाबले हेर्दा सबैभन्दा ठूलो कुरा टीम नै हो । राम्रो टीम । आजका दिनमा तपाईंले हेर्नुभयो भने जति पनि भेञ्चर छन् सबै भेञ्चरमा सीइओहरु छन् । उहाँहरुले नै ड्राइभ गर्नुपर्छ । त्यसै अनुसार रणनीति बनाएर उहाँहरुमार्फत् लागू गर्ने हो ।

असफलता पाइन्छ कि भन्ने सोच हुन्छ कि हुँदैन । कि सफल भइहालिन्छ भन्ने सोच शुरुमै हुन्छ ?

निर्णय गर्दा के होला वा कसो होला भन्ने त हुन्छ नै । तर, आफ्नो प्यासनले काम गर्ने हो । त्यसो हुँदा सफलता वा असफलता भन्दा पनि प्यासनलाई अगाडि बढाउने हो । काम गर्दै जाँदा सफलता पाइन्छ नै ।

तपाईंको व्यवसायमा तपाईंहरु फस्ट जेनेरेसन हुनुहुन्छ । धेरै कम्पनीहरु पब्लिक लिमिटेडमा गइसकेको अवस्थामा पब्लिकबाटै चल्ने कम्पनीहरु पनि छन् । बिजनेशमा फस्ट जेनेरेसन भएर काम गर्दा कति सहज हुने रहेछ ?

फस्ट जेनेरेसन भएका कारणले गर्दा आफूले आफ्नो प्यासन अनुसार काम गर्न पाइन्छ । आफ्नो सोचमा व्यवसायलाई अगाडि बढाउन पाइन्छ । रिस्क पनि उत्तिकै हुन्छ । सहज वा असहज दुबै पाटो हुन्छ भने दोस्रो जेनेरेसनका लागि पहिलेकै लिगेसीलाई अगाडि बढाउँदै जाने हो । व्यवसायलाई निरन्तरता दिँदै नयाँ प्यासन पनि फलो गर्न सकिन्छ ।

तपाईं बिजनेसका बारेमा कति समय सोच्नुहुन्छ ?

जति बेला पनि बिजनेस कै बारेमा सोचिन्छ । सुत्ने समयबाहेक बाँकी समयमा व्यवसायकै बारेमा सोच्ने हो । विश्व बजारमा के भइरहेको छ त्यसका लागि पुस्तकहरु पढ्छु । अमेरिका वा जापानमा नयाँ चिज आयो भने त्यसलाई नेपालमा कसरी ल्याउन सकिन्छ भन्नेबारेमा सोच्छु । भइरहेको व्यवसायलाई कसरी अझ अगाडि बढाउने भन्नेमा पनि सोच हुन्छ ।

नेपालबाट लाखौं युवाहरु विदेशमा छन् । उनीहरु नेपाल फर्केपछि के काम गर्दा ठीक होला के सुझाव दिनुहुन्छ ?

सबैभन्दा पहिले त आफ्नो प्यासन फलो गर्ने हो । ज्ञान भएको क्षेत्रमा लगानी गर्ने हो । प्यासनलाई निरन्तर फलो गर्नुपर्छ । सफलता ओभरनाइट आउँदैन । समय लाग्छ । त्यो संकटमा आत्तिनु हुँदैन । भय र त्रासको बाउन्ड्रिबाट बाहिर आउनुपर्छ । असफल भइयो भने फेरि उठौंला भन्ने सोच हुनुपर्छ । मसँग प्यासनसँगै ड्रिम पनि छ । आजका दिनमा मेरो सपना एउटा यस्तो व्यवसाय होस् ताकी धेरैभन्दा धेरै मानिसहरुको सहभागिता होस् । अन्तर्राष्ट्रियस्तरको कम्पनी होस् भन्ने चाहना हो । नेपाली भएर पनि अन्तर्राष्ट्रियस्तरमा काम गर्न सक्छन् भन्ने कम्पनी स्थापना गर्नुछ । र, त्यो आइटीबाट सम्भव छ । त्यसैका लागि अहिलो मिदासमार्फत् शिक्षा र स्वास्थ्य क्षेत्रमा काम भइरहेको छ । आइएमई पेमा पनि काम भइरहेको छ । फेरि अर्को कुरा आइएमईको शुरुवात पनि डिजिटलबाटै भएको हो । आइएमईमार्फत् रेमिट्यान्स ल्याउने कुरा पनि डिजिटलको माध्यम हो । जसकारण मलेसियाबाट ५ मिनेटमा कर्णालीसम्म पैसा पुर्याउने काम हो ।

व्यापारबाहेक सामाजिक क्षेत्रमा चाहीँ के-केति काम गरिरहनु भएको छ ?

व्यापार बाहेक व्यक्तिगतरुपमा भन्नुपर्दा म टेनिस खेल्छु । राम्रै खेल्छु । त्योभन्दा बढी हामीले सामाजिक क्षेत्रमा अनाथ बालबालिकाहरुलाई संरक्षण गर्ने काम पनि गरिरहेका छौं । उनीहरुलाई शिक्षा पनि दिलाइरहेका छौं । विभिन्न जिल्लामा अथान बालबालिकाहरुलाई फाउण्डेसनमार्फत् पढाउने काम भइरहेको छ । व्यापार आफ्नो ठाउँमा छँदै छ, त्यसबाहेक फिलान्थ्रोपिस्टका रुपमा पनि काम गरिरहेको छु ।

व्यापारमा सफल हुनुहुन्छ । तपाईंजस्ता सफल व्यक्तिहरु राजनीतिमार्फत् राज्यको नेतृत्वमा पुग्नुभयो भने त देश कायापलट हुन्थ्यो होला है ?

सबैका आफ्नो क्षमता हुन्छ । डाक्टरले इन्जिनिर बन्छु भनेर पनि हुँदैन । त्यसैले आजका दिनमा त्यो सोच छैन ।

आजका दिनमा नेपाललाई सम्मृद्ध बनाउनका लागि के गर्नुपर्ला ?

आजका दिनमा सबैभन्दा ठूलो लगानी शिक्षा क्षेत्रमा लगाउनुपर्छ । युवाहरुलाई राम्रो र गुणस्तरीय शिक्षा दिन सकियो भने त्यो युवाले भोलिका दिनमा राम्रो काम गर्नसक्छ । त्यसका आधारमै नेपाल विकसित हुन्छ भन्ने हो । त्यसबाहेक नेपालमा राजनीति स्थिरता पनि आवश्यक छ । राजनीति स्थिर भयो र दीर्घकालीन सोच भयो भने नेपालमा राम्रो विकास हुन्छ ।

चन्द्र सर महासंघमा हुनुहुन्छ तपाईं सीएनआईमा । यो रणनीति हो कि संयोग ?

त्यस्तो होइन । त्यसलाई त्यसरी बुझ्नु पनि हुँदैन ।


क्लिकमान्डु