नेपालमै मोबाइल एसेम्बलिङ सम्भाव्यताको अध्ययन हुँदै, कार्यदल गठन



काठमाडौं । नेपालमै मोबाइल निर्माण गर्ने सम्भावनाको अध्ययन शुरु गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल एसेम्बलिङ र रिफर्बिस गर्न सकिने सम्भाव्यताको अध्ययन अघि बढाएको हो ।

नेपालमा मोबाइलको एसेम्बलिङ र रिफर्बिस गर्नेलगायत सम्भावित उद्योगजन्य व्यवसायमार्फत् रोजगरी तथा आय आर्जनमा टेवा पुर्याउने सम्बन्धि कार्यका लागि अध्ययन अघि बढाइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

सो अध्ययनका लागि प्राधिकरणले टास्कफोर्स (कार्यदल) नै गठन गरिसकेको छ । कार्यदलमा अर्थ मन्त्रालयका, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मोबाइल फोन इम्पोटर्स एशोशिएसनका प्रतिनिधि, स्वतन्त्र विज्ञ र प्राधिकरणका प्रतिनिधि छन् ।

उक्त कार्यदले उभोक्ताको रुचि कस्तो मोबाइलमा रहेको छ ? मोबाइल एसेम्बल गर्ने उद्योग स्थापना गर्न राज्यले के कस्तो सुविधा दिनुपर्छ ? एसेम्बलिङका लागि आवश्यक पर्ने कच्चा पदार्थमा कति सहुलियत दिन सकिन्छ ? कस्ता प्रकारका मोबाइल पार्टपूर्जा नेपालमा उत्पादन गर्न सकिन्छ ? नेपालमा उत्पादन भएको मोबाइलबाट उपभोक्ताले कस्तो सेवा पाउँछन् ? नेपाल जस्ता विकासोन्मुख राष्ट्रमा कसरी एसम्बलिङ उद्योग सञ्चालन भएका छन् ? ती मुलुकको अनुभव तथा विकासक्रमको पनि अध्ययन गरिन्छ । एसम्बलिङ र रिफर्बिस सञ्चालनका लागि राज्यले लिनुपर्ने नीतिको सहितको अध्ययन गरिने अर्यालले बताए ।

‘नेपालमा मोबाइल फोनको उपयोग बढ्दो क्रममा छ । मोबाइल आयातमा राज्यको अर्बै रुपैयाँ बाहिरिने गरेको छ’, अर्यालले भने, ‘नेपालमै मोबाइल एसेम्बलिङ तथा रिफर्बिस गर्न सकिए व्यापार घाटा कम गर्न सकिन्छ ।’

नेपालमा मोबाइल एसम्बलिङ र रिफर्बिसको सम्भव छ कि छैन भनेर अध्ययन अघि बढाइएको उनले बताए ।

नेपालमा वार्षिक करिब २५ देखि ३० अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भइरहेको छ । नेपालभित्रै एसेम्बल वा रिफर्बिस गर्ने सकिए पूँजी पलायन रोकिनुका साथै रोजगरीको अवसर सृजना हुने प्राधिकरणको विश्वास छ ।

यसअघि प्राधिकरणले सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भन्दै २०७६ सालमा परामर्शदाता नियुक्त गरेको थियो ।

परामर्शदाताको प्रतिवेदनमा करको विषय, प्रविधि तथा मापदण्ड पुरा गर्नुपर्ने लगायत विषय उठाएको थियो । उक्त अध्ययनले उठाएको पक्षलाई पनि सम्बोधन गर्ने गरी नयाँ कार्यदल गठन गरिएको उनले बताए ।

रिफर्बिस भनेको पुराना स्मार्टफोनलाई नयाँ जस्तै बनाउने हो । यस लागि सरकारले तोकेको निश्चित कम्पनीले बिग्रेका पार्टपूर्जा मर्मत र नयाँ राखेर बजारमा बेच्ने कार्य हो ।


क्लिकमान्डु