सरकारी डिजिटल भुक्तानी सेवा ‘नमस्ते पे’ले पायो अनुमति



काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा स्थापना भएको नेपाल डिजिटल कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनको अनुमति प्राप्त गरेको छ ।

राष्ट्र बैंकले २०७७ चैत ४ गते नेपाल डिजिटल कम्पनीलाई ‘नमस्ते पे’ सेवा सञ्चालन गर्ने अनुमति (लाइसेन्स) प्रदान गरेको हो । नमस्ते पेमा नेपाल टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग ल्याइने छ । उपभोक्ताले मोबाइल नम्बरमै बैंकमा जस्तै रकम जम्मा गर्ने सुविधा पाउनेछन् ।

टेलिकमले अन्य भुक्तानी सेवा प्रदायकभन्दा फरक यूएसएसडी अर्थात मोबाइलमा निश्चित अंक डायल गरी बिना इन्टरनेट भुक्तानी सेवा सञ्चालन गर्नेछ ।

मोबाइल एप्स, क्यूआर कोडलगायतका अन्य सेवा पनि यसमा रहनेछन् । नमस्ते पे सञ्चालनमा आएपछि स्मार्टफोन प्रयोग नगर्ने उपभोक्ताले पनि डिजिटल कारोबार गर्न सक्नेछन् ।

नमस्ते वाटलेको चुँक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । नेपाल टेलिकमको २५ करोड रुपैयाँ अर्थात ६३ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १५ करोड रुपैयाँ अर्थात ३७ प्रतिशत लगानी छ ।

डिजिटल पेमेन्ट कम्पनी सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया पूरा गरी टेलिकम र वाणिज्य बैंकले २०७७ कात्तिकमा राष्ट्र बैंकका आवदेन बुझाएका थिए ।

आवेदन पेश गरेको करिब ४ महिनपछि डिजिटल पेमेन्ट कारोबारका लागि स्वीकृती प्राप्त गरेको हो । राष्ट्र बैंकको निर्देशिका अनुसार टेलिकम आफैंले डिजिटल पेमेन्ट कम्पनी सञ्चालन गर्न पाउँदैनन् । तर सहायक कम्पनीका रुपमा भने सञ्चालन अनुमति दिइने व्यवस्थाअनुसार नयाँ कम्पनी खोलिएको हो ।

जसमा वित्तीय क्षेत्रको अनुभवसमेत आवश्यक पर्ने भएकाले टेलिकमले पूर्ण सरकारी स्वामित्व राष्ट्रिय वाणिज्य बैंकसँग साझेदारी गरेको हो । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच एक वर्षअघि नै डिजिटल पेमेन्ट कम्पनी खोल्ने सम्बन्धमा समझदारी भएको थियो ।


क्लिकमान्डु