प्रभु क्यापिटलले दियो सेयर बजार सम्बन्धी एकदिने आधारभूत तालिम
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले चितवनस्थित भ्याली स्टेट कलेजको सहकार्यमा चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
फागुन २९ गते स्मार्ट ब्यांकेट, भरतपुरको सभाहलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो ।
कार्यक्रममा भ्याली स्टेट कलेजका प्राध्यापक मनअधिकारीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको प्रमुख अतिथि प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रममा सम्बोधन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पूँजी बजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए ।
साथै कलेजहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले वित्तीय साक्षरता अभिवृद्धिमा मद्दत गर्ने बताए । त्यस्तै कार्यक्रममा अतिथि युनियन लाइफ इन्स्योरेन्सका प्रदेश नं. २ का डेपुटी प्रदेश प्रमुख इन्द्रराज सुवेदिले मोफसलमा यस्ता कार्यक्रमको आयोजना हुनु सुखद् पक्ष भएको बताए ।
कार्यक्रममा नेपालको सेयर बजारको अवस्था, लगानी किन गर्ने, प्राथमिक बजार तथा धितोपत्रको दोस्रो बजार, सेयर बजारलाई प्रभाव पार्ने तत्वहरुका साथै सेयर बजार विश्लेषण गर्ने आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण एवं आफ्नो पोर्टफोलियो कसरी बनाउने, लगानी व्यवस्थापन भनेको के हो लगायतका विषयमा जानकारी सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।