इन्टरनेटको मूल्य घटाउने सरकारको तयारी



काठमाडौं । सरकारले इन्टरनेटको मूल्य घटाउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेटको मूल्य महंगो भएको भन्दै शुल्क घटाउने विषयमा अध्ययन भइरहेको जानकारी दिए ।

मन्त्री गुरुङले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुसार नै सरकारले प्रत्येक घरघरमा इन्टरनेट सेवा पुर्याउने योजनालाई तीव्रता दिएको समेत बताए । उनले त्यसका लागि सम्भव हुने स्थानमा अप्टिकल फाइबर र नहुने स्थानमा वायरलेसबाट भए पनि इन्टरनेट पुर्याउने योजना सुनाए ।

मन्त्री गुरुङले इन्टरनेट सेवालाई सस्तो बनाउन राजश्व कम गर्ने योजना पनि सुनाए । उनले डिजिटल नेपाल निर्माणका लागि सरकारले नीति कार्यक्रम अघि सारेको बताउँदै त्यसका लागि मन्त्रालयले डिजिटल फ्रेमवर्क कमिटी गठन गरेको जानकारी दिए ।

अहिले सरकारले नागरिक एप्स र मोबाइल एप्स सञ्चालन गरिरहेको उनको भनाइ छ । डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्नका लागि पनि दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गरी प्रविधिमैत्री बनाउने तयारी गरिएको उनले बताए ।

शनिबार कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको भन्दै राजनीतिक स्थिरताका लागि दलहरुलाई आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना, सञ्चार प्रविधिलाई शहर केन्द्रितभन्दा पनि गाउँ केन्द्रित गर्नुपर्ने माग गरे ।

महासङ्घका अध्यक्ष नवराज कुँवरले सञ्चार प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास गर्न सकिने हुँदा त्यसमा लगानी गर्न सरकारलाई आग्रह गरे । सन् १९९२ मा स्थापना भएको महासङ्घको ५८ वटा जिल्लामा शाखा रहेको छ ।


क्लिकमान्डु