दक्षिण कोरियाली अमेजन ‘कुप्याङ’ ले न्यूयोर्क स्टकमा आइपीओ जारी गर्ने



एजेन्सी । दक्षिण कोरियाली इ–कमर्स जायन्ट कम्पनी ‘कुप्याङ’ अमेरिकाको न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचिकृत हुने भएको छ ।

न्यूयोर्क स्टकमा सूचिकृत भएमा कुप्याङको मूल्यांकन करिब ५० अर्ब अमेरिकी डलर हुनेछ ।

कुप्याङको मूल्याकंन करिब ९ अर्ब अमेरिकी डलर रहेको छ । यो दक्षिण कोरियाको उच्च मूल्यांकन भएको स्टार्टअप हो । ४२ वर्षिय अर्बपति बम किमले सन् २०१० देखि कुप्याङको नेतृत्व गर्दै आइरहेका छन् । सो कम्पनीले के कति मात्रामा आइपीओ जारी गर्ने भन्ने जानकारी भने गोप्य राखेको छ ।

कुप्याङलाई दक्षिण कोरियाको अमेजनको नामले पनि चिनिन्छ । कुप्याङ अलिबाबा पछि अमेरिकामा आईपीओ जारी गर्ने दोस्रो ठूलो गैर अमेरिकी कम्पनी बन्नेछ । अलिबाबाले सन् २०१४ मा अमेरिकामा आईपीओ जारी गरेको थियो ।

कुप्याङले सस्तो मूल्यमा छिटो डेलिभरी दिएर आफ्नो व्यवसाय विस्तार गरिरहेको छ । कुप्याङले २४ घण्टा भित्र अनलाईन अर्डर डेलिभरी गर्दै आएको छ । यसले तयारी खाद्यान्न ‘कुप्याङ इट्स’ बाट डिलेभरी गर्ने गरेको छ । यस्तै, ‘कुप्याङ प्ले’को माध्यमबाट भिडियो स्ट्रिमिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

सन् २०१८ को अन्यतिर कुप्याङले जापानी अर्वपति मसायोसी सनबाट २ अर्ब अमेरिकी डलर सफ्ट बैंक भिजन फन्डबाट उठाएको थियो ।

सन् २०१८ मा किमले फोब्र्ससँग भनेका थिए, ‘हामी ५ वा १० प्रतिशत वृद्धि गर्न चाहदैनौं । हामी तीव्र्र वृद्धिमा विश्वास राख्छौं ।’ कुप्याङको लगानीकर्तामा ब्ल्याकरक, सिकोया क्यापिटल र विलिनियर लगानीकर्ता विलियम एकम्यान रहेका छन् ।

किमले हावर्ड विजनेस स्कूल छाडेर शुरु गरेको स्टार्टअप कुप्याङ अहिले दक्षिण कोरियाबाट संसारभर थप विस्तार गर्ने तयारीमा छ । ‘मलाई थाहा थियो म दक्षिण कोरियामा व्यवसाय शुरु गर्नेछु’, सन् २०१६ को फोब्र्सको अन्तर्वातामा उनले भनेका थिए ।

दक्षिण कोरियामा कुप्याङको प्रतिस्पर्धा इ–कमर्श कम्पनी अमेजन र अलिबाबासँग छ । दक्षिण कोरियाको इ–कमर्श बजार विश्वको छैठो ठूलो हो ।

एनालाइटिक वेबसाइट इ–कमर्स डीबीका अनुसार सन् २०१९ मा दक्षिण कोरियाको इ–कमर्सको राजश्व ६१ विलियन अमेरिकी डलर छ । यो आईपीओले कुप्याङको बजार दक्षिण कोरिया बाहिर पनि बढ्ने कम्पनीको विश्वास छ ।

बजार विस्तार गर्न कम्पनीले निर्वाह गर्ने भूमिका मूख्य हुनेछ । दक्षिण कोरियाको राजधानी सोलसहित कुप्याङको कार्यालय बेजिङ, सांघाई, लस एन्जल्स्, सिएटल र सिंगापुरमा छ ।


क्लिकमान्डु