ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ४३ लाख, १ वर्षमा ९ प्रतिशतले बढे



काठमाडौं । नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको उपयोग बढ्दो देखिएको छ । एक वर्षको अवधिमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने उपभोक्ता ९ प्रतिशतले बढेका छन् । २०७६ मंसिरमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने उपभोक्ता २ करोड १३ लाख ७३ हजार ३२८ थिए ।

२०७७ मंसिरमा २ करोड ४३ लाख ४७ हजार १४७ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस (म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनमा देखिएको छ । एक वर्षको अवधिमा २९ लाख ७३ हजार ८१९ ले बढेको छ ।

ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने सबैभन्दा धेरै उपभोक्ता नेपाल टेलिकम रहेका छन् । नेपाल टेलिकमको ब्रोडब्यान्ड इन्टरनेटको उपभोक्ता १ करोड २१ लाख ७४ हजार ३०२ छन् । ६७ लाख ५२ हजार २३३ उपभोक्ता सहित एनसेल दोस्रो स्थानमा छ । इन्टरनेट सेवा प्रदाय (आइएसपीएस) को उपभोक्ता ५२ लाख ९ हजार २५८ छन् भने स्मार्ट टेलिकमको उपभोक्ता २ लाख ११ हजार २५४ छन् ।

ग्रामीण क्षेत्रमा ५१२ केबीपीएस र सहरी क्षेत्रमा १० एमबीपीएसको स्पिडलाई प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट मान्दै आएको छ ।

वायरलेस प्रविधि, केबल, फाइबरमार्फत दिइएको इन्टरनेट र टेलिकमको थ्रीजी र फोरजीलाई प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट मानेर यो हिसाब निकालेको हो ।


क्लिकमान्डु