मोबाइल फोनको आयात ८४ प्रतिशतले बढ्यो



काठमाडौं । पछिल्लो समय मोबाइल फोनको अत्यधिक आयात भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनाको अवधिमा ८४.६८ प्रतिशतले आयात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

कोरोना भाइरस महामारीका कारण लामो समय बन्दाबन्दी र अत्यावश्यक व्यवसायबाहेक अन्य व्यवसाय खोल्न बन्देज लगाएसँगै मोबाइल सेटको आयात बढी भएको व्यवसायीहरू बताउँछन् । साथै, पछिल्लो समय कोरोनाले गर्दा विभिन्न इन्स्टिच्यिूट, स्कुल तथा कलेज बन्द भएको अवधिमा अनलाइन कक्षा हुने भएकाले पनि मोबाइलको माग बढेको र सोही अनुसार आयात भइरहेको मोबाइल व्यवसायीहरू बताउँछन् ।

चालु आवको सात महिनाको अवधिमा नेपालले २४ अर्ब ६ करोड ८१ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार ८ सय ७२ सेट मोबाइल फोन आयात गरेको छ । साथै, गत वर्षको सोही अवधिमा नेपालले १३ अर्ब ३ करोड २७ लाख रुपैयाँ बराबरको ३३ लाख ३५ हजार ७ सय ७६ सेट मोबाइल फोन आयात गरेको थियो । गत वर्षको तुलना चालु आवमा नेपालले ३०.९७ प्रतिशतले बढी मोबाइल फोन सेट आयात गरेको छ भने ८४.६८ प्रतिशत बढी रुपैयाँले मोबाइल फोन आयात भएको छ ।

त्यसैगरी उक्त आयातित मोबाइल फोनबाट नेपाल सरकारले ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २ अर्ब ६ करोड ४४ लाख राजश्व संकलन गरेको थियो । जुन गत वर्षको तुलनामा ८४.५ प्रतिशतले बढी हो ।

यस्तै, माघ महिनामा मात्रै ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको ७ लाख ४ हजार बढी मोबाइल फोन आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब २४ करोड रुपैयाँ बराबरको ३ लाख ६६ हजार बढी आयात भएको थियो । जुन गत वर्षको तुलनामा १७६.३१ प्रतिशतले बढी हो । साथै चालु आवको माघ महिनामा आयात भएको आयातित मोबाइल फोनबाट ५४ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।


क्लिकमान्डु