पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्कालै फिर्ता लिन यातायात व्यवसायीको माग



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्कालै फिर्ता लिन माग गरेको छ ।

महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी फागुन ८ गतेसम्ममा मूल्यवृद्धि फिर्ता गर्न माग गरेको हो ।

साथै, उक्त मितिभित्र सरकारबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरिएमा महासंघको तत्काल कार्यसम्पादन सचिवालयको बैठक बसी आवश्यक निर्णय गरिने चेतावनी दिएको छ ।

‘देशभर सञ्चालित सार्वजनिक सवारी साधनहरुको कर, रुट इजाजत दस्तुर जाँचपास बीमा प्रिमियम लगायत सवारी साधनसँग सम्बन्धित च्यासिस पार्टपुर्जा, टायर लुब्रिकेन्टसलगायतमा अत्यधिक मूल्यवृद्धि भएको तर सरकारले सवारी कर बीमा लगायतमा कुनै राहत छुट सुविधा समेत उपलब्ध नगराएको,’ प्रेश विज्ञप्तिमा उल्लेख छ ।

साथै, २०६९ सालदेखि हालसम्म पेट्रोलियम पदार्थमा पटक–पटक मूल्य वृद्धि गर्दै आएको छ । तर, २०६५ फागुन २० गतेदेखि लागू हुने गरी प्रत्येक आर्थिक वर्षमा भाडा अनिवार्यरुपमा स्वतः यातायात व्यवस्था विभागवाट समायोजन गर्नुपर्ने व्यवस्था भए पनि हालसम्म भाडा समायोजन नगरिएको महासंघको गुनासो छ ।

त्यसैगरी, सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने व्यवसायीहरुलाई पटक–पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि र कोरोना कहरको चपेटमा परेका कारण ठूलो आर्थिक व्ययभार पर्न गएको जनाएको छ ।


क्लिकमान्डु