२ जना भारतीय नागरिकको सगरमाथा आरोहणको प्रमाणपत्र रद्द, सहयोगी संस्था र व्यक्तिलाई कारबाही



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई जना भारतीय नागरिकलाई प्रदान गरेको सगरमाथा आरोहरणको प्रमाणपत्र रद्द गरेको छ ।

भारतीय नागरिकहरु नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहरण गरेको भनी झुठा विवरण पेश गरेको प्रमाणित भएपछि उनीहरुलाई प्रदान गरिएको प्रमाणपत्र रद्द गरिएको हो ।

उनीहरुले सन् २०१६ को वसन्त ऋतुमा सगरमाथाको सफल आरोहरण गरेको भनी प्रमाणपत्र लिएका थिए । उनीहरुलाई सन् २०१६ दमे २० तारिखदेखि ६ वर्षसम्म पर्वतारोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

त्यसैगरी आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई पर्यटन ऐन, २०३५ को दफा ३८ बमोजिम सगरमाथा हिमाल आरोहण गरिएको भनेको सन् २०१६ मे २० तारिखका दिनदेखि ६ वर्षसम्म पर्वतारोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

पर्वतारोहण सम्बन्धि प्रबन्ध मिलाउने संस्था सेभेर समिट ट्रेक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने, सम्पर्क अधिकृत पवन कुमार घिमिरेको हकमा कर्तव्य पूरा नगरेको एवम निजामति सेवा ऐन अनुसार चेतावनी दिने समेत मन्त्रालयले निर्णय गरेको छ ।

साथै सगरमाथा आरोहण नगरेका नरेन्द्र सिंहलाई सगरमाथा आरोहण गरेका हुन भनि २०७७ पुस ९ गते झुठा कागज गरिदिने क्लाइमिङ सहयोगी शेर्पा डा दावा शेर्पालाई १० हजार रुपैयाँ जरिवाना गर्ने मन्त्रालयले निर्णय गरेको छ ।


क्लिकमान्डु