पूर्वसचिव मदन अर्यालको स्मृतिमा छात्रवृत्ति कोष



काठमाडौं । पूर्वसचिव स्व. मदनप्रसाद अर्यालको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।

अर्यालको स्मृतिमा संखुवासभाको खाँदवारीस्थित बरुण बहुमुखी क्याम्पसमा कोष स्थापना गरिएको हो । अर्याल उक्त क्याम्पसका संस्थापक अध्यक्ष हुन् ।

छात्रवृत्ति कार्यक्रम शैक्षिक शत्र २०७७/७८ देखि लागू हुने जनाइएको छ । स्व. अर्यालले राजपरिषद स्थायी समिति र रक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए । अर्यालका छोराहरू दिनेश अर्याल र प्रवेश अर्यालको उपस्थितिमा आइतबार छात्रवृत्तिको घोषणा गरिएको हो ।

अर्यालको स्मृतिमा स्थापित छात्रवृत्ति क्याम्पस व्यवस्थापन समितिको सिफारिस वमोजिम प्रत्येक वर्ष क्याम्पस स्थापना दिवसका दिन प्रदान गरिने उल्लेख छ । कक्षा ११ का जेहेनदार र न्युन आय भएका संखुवासभा जिल्लावासी परिवारका मेधावी एक छात्र तथा एक छात्रालाई प्रतिमहिना जनही तीन हजार रुपैयाँका दरले एकमुष्ट छात्रवृत्ति प्रदान गरिने उल्लेख छ ।

उक्त छात्रवृत्तिको सुनिश्चित भविष्य तथा निरन्तरताका लागि परिवारले नै एक स्थायी कोष स्थापना गर्ने स्व. अर्यालका सुपत्र प्रवेश अर्यालले जानकारी दिए ।

स्व. अर्याल संखुवासभामा प्रमुख जिल्ला अधिकारीसमेत भएका थिए । कुशल प्रशासकका रुपमा उनलाई जिल्लावासीले स्मरण र आदर गर्ने गरेका कारण उनको सम्झनामा छात्रवृत्ति कोष स्थापना गरिएको उनका छोरा अर्यालले बताए ।

छात्रवृत्ति कोष स्थापनासम्बन्धी कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सदस्यसहित शिक्षक एवं स्थानीय समाजसेवीहरू उपस्थित थिए ।


क्लिकमान्डु