देशमा नयाँ तानाशाह आउन थालेपछि प्रतिनिधिसभा बिघटनः शिक्षामन्त्री श्रेष्ठ
ललितपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले देशमा नयाँ तानाशाह आउन थालेछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको तर्क गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने र प्रधानन्यायाधीश चेलेन्द्र शमशेरलाई महाअभियोग लगाउने तयारी भएको थाहा पाएपछि अन्तिम अवस्थामा बाध्य भएर प्रतिनिधिसभा बिघटन गर्नुपरेको स्पष्ट पारेका छन् ।
नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको निर्वाचनमा नेकपाले पुनः बहुमत ल्याउने ठोकुवा समेत गरे ।
‘देशलाई ठूलो संकटबाट जोगाउन बाध्य भएर प्रतिनिधिसभा बिघटन गर्नुपरेको हो, अबको निर्वाचनमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन,’ उनले भने ।
‘यदी नमिलेको खण्डमा फुटेर गएका प्रचण्ड–माधव नेपाल गुटको नामोनिसाना रहन्न । पार्टी फुटाएको हल्ला गर्नेहरुले अवसर नपाएर बाटोमा कुर्लिदै हिँड्न थालेका छन्, घर मुलीलाई हटाएर बाटोमा हामी यहाँ छौं भन्नु हास्यास्पद हो,’ उनले भने ।
उनले आन्दोलनको कुनै औचित्य नभएको बताए ।
‘हामीले पार्टी अध्यक्ष प्रचण्डलाई हटाएका छैनौं, नेता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेका छैनौं, श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारबाट मात्रै हटाएको हो,’ उनले भने ।
उनले आफूहरुलाई पेरिसडाँडा नचाहने र धुम्बाराही र बल्खु पार्टी कार्यालय नछाड्ने समेत स्पष्ट पारे । उनले ती पार्टी कार्यालयमा प्रवेश गर्न समेत नदिने बताए ।
‘म यो भन्न चाहन्छु कि आफ्नो सम्पत्तिमा कसैले हस्तक्षेप गर्दैन ललितपुर पार्टी कार्यालय तपाईंहरुको हो, कसैले कब्जा गर्न खोज्यो कि त्यसलाई रोक्नुपर्छ’ उनले भने ।