बिटक्वाइनले दियो एक वर्षमा ३००% प्रतिफल, नेपालमा लगानी गर्न प्रतिबन्ध



नेपालमा भर्चुअल मुद्रा बिटक्वाइनमा लगानी गर्न प्रतिबन्ध छ । नेपाल राष्ट्र बैंकले बिटक्वाइनको कारोबार तथा खरिदबिक्रीमा प्रतिबन्ध लगाएको छ ।

नियामक निकाय राष्ट्र बैंकले प्रतिबन्ध लगाएपनि यसमा नेपालीहरुको आकर्षण भने कम छैन । विदेशमा रहेका र विदेशमा बस्ने नेपालीहरुसँगको सहकार्यबाट नेपालमा बस्ने नेपालीले पनि बिटक्वाइनमा लगानी गर्ने गरेका छन् ।

केन्द्रिय बैंकले निकाल्ने मुद्रालाई भर्चुअल तरिकाले चुनौती दिएको बिटक्वाइनले सन् २०२० मा रेकर्ड नै बनाएको छ ।

विश्वको सब भन्दा ठूलो क्रिप्टोकरेंसी बिटकाक्वाइनले सन् २०२० को अन्तिम दिन २९ हजार अमेरिकी डलरको रेकर्ड छोएको छ ।

सन् २०२० मा बिटक्वाइनका लगानीकर्तालाई ३०० प्रतिशत सम्मको प्रतिफल बिटक्वाइनले दिएको छ । पछिल्लो एक महिनामा नै ५० प्रतिशतले बिटक्वाइनको मूल्य बढेको छ ।

बिटक्वाइनको बजार पूजीकरण ५ खर्ब ४२ अर्ब अमेरिकी डलर पुगेको छ ।

गत शनिबार बिटक्वाइन २५ हजार अमेरिकी डलर पुगेको थियो । आइतबार २७ हजार अमेरिकी डलर मूल्य छोएको थियो ।

गतवर्ष ३१ डिसेम्बर २०१९ मा बिटक्वाइनको मूल्य ७ हजार २१२ अमेरिकी डलर रहेको थियो । एकवर्षको अवधीमा यसका मूल्य ४ गुणाले बढेको छ । एकवर्ष अगाडि १ बिटक्वाइन किन्नेले ३०० प्रतिशत प्रतिफल प्राप्त गरेको छ ।

पछिल्लो समय भारत सरकारले भने भर्चुअल मुद्राको कारोबार खुल्ला गर्ने नीति लिने बताएको छ ।

केही दिन अगाडिको सार्क गभर्नरहरुको भर्चुअल कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क देशमा भर्चुअल मुद्रा चलाउने विषय उठाएका थिए ।


क्लिकमान्डु