कसरी बन्ने सफल उद्यमी ? युवालाई उद्यमी बन्न अर्बपति विनोद चौधरीले दिए यस्तो टिप्स



नेपालका युवा कुनै पनि दृष्टिकोणबाट विश्वका कुनै पनि युवाभन्दा कम छैन् । सोचमा चिन्तनमा, एस्पिरेसनमा, शिक्षाको हकमा पनि कमी छैनन् ।

आज नेपालको युवाले विश्वलाई पनि सोही नजरले हेरिरहेको छ । आजका दिनमा उद्यमीहरु कुन ठाउँमा जन्मिएको छ भन्ने हिसाबले अर्थ राख्छ जस्तो लाग्दैन । उद्यमी बन्नका लागि भूगोलले अर्थ राख्दैन ।

आजका दिनमा २०/२५ वर्षअघि नामै नसुनेका उद्यमीहरु, त्यसमा पनि ३५ वर्षभन्दा कमी उद्यमीहरुले शुरु गरेका कम्पनीहरुले अर्थतन्त्र र जीवनशैलीमा आमूल परिवर्तन गरेका छन् । भोलि पनि त्यही हुनेवाला छ । हिँजोका दिनमा भौतिकरुपमा गर्ने काम डिजिटलबाट हुन थालेको छ ।

कोभिडकै दैरानमा जुम भन्ने कम्पनीले ३ बिलियनको टर्नओभरबाट १५० बिलियनको टर्नओभर पुर्याएको छ । अहिले ट्रान्सपोर्टेसनको साधनमा ड्रोनको प्रवेश भएको छ । जुन कुरियर कम्पनीको परम्परागत व्यवसायमा चुनौती बनेको छ । कोरानाकै कारण शिक्षामा पनि आमूल परिवर्तन भएको छ । अनलाइनबाट पढ्ने बानी विकास हुन थालेको छ ।

अहिलेको युवाले राजनीतिक परिवर्तन गर्नका लागि सडकमा उत्रिन सक्छन् । अब अर्थतन्त्रको आमूल परिवर्तनका लागि पनि युवा सक्रिय हुनुपर्छ । अब नयाँ अभियान, विशुद्धरुपमा अहिले भइरहेको ग्याप हटाउनका लागि काम गर्नुपर्छ ।

समस्या हामीमा कहाँ छ भने उद्यमीलाई मार्गनिर्देशन गर्ने सिस्टम छैन । सरकारको तर्फबाटै यस्तो व्यवस्था हुनुपर्ने हो ।

अहिले भर्खरै विश्व बैंकले १८० बिलियन डलरभन्दा बढी पनि सहयोग गरिरहेको छ । योभन्दा ठूलो सोच योजना आयोगसँग छ । बैंकहरुले पनि लगानी गरिरहेका छन् । केन्द्रीय बैंकले पनि उद्यमशिलताका लागि केही सोच बनाएको छ ।

अब यसका लागि प्रोजेक्टहरु बनाएर कसरी सफल बनाउने भन्ने सोच पनि सँगै आउनुपर्छ । विश्वभरी खरिदारहरु जन्मिएका छन्, लगानीकर्ता पनि छन् । तर बजारमा प्रडक्ट नै छैन । यहाँ अहिले स्रोत व्यवस्थापनको ठूलो खाडल छ ।

युवा उद्यमशिलताका लागि युवाहरुलाई आइडियालाई परिस्कृत गर्नका लागि पनि सहयोग चाहिन्छ । विभिन्न देशमा यसका लागि स्टार्टअप विकासका लागि विभिन्न प्रकारका तालिमदेखि लिएर व्यवसाय कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी दिइन्छ । भेञ्चर क्यापिललिस्टहरु हुन्छन् । जसले स्टार्टअपमा लगानी गर्छन् । यसप्रकारको वातावरण हुनुपर्छ ।

मैले मेरो ३ जना छोराहरुलाई १०औं वर्षसम्म मार्गनिर्देशन गरेको छु । एक साताको तालिमजस्ता प्रयासले हुँदैन । केही ‘गड गिफ्टेड’हरु मात्रै एकाध उद्यमी बनेर अगाडि आउने हो । यसमा पत्रकारहरुले पनि अनुसन्धान गर्ने हो । किन अरु देशमा भेञ्चर क्यापिटलिस्टहरु छन् ? किन अन्य देशहरुमा यस प्रकारको सुविधा छ र नेपालमा किन छैन भन्ने अनुसन्धान पनि हुनुपर्छ ।

अब २ वर्षपछि ६० लाखभन्दा बढी युवाहरु उद्यमशिलताको क्षेत्रमा प्रवेश गर्दैछन् । जसलाई आजका दिनमा भविष्यको स्पष्ट छैन । भर्खरै पढाइ सकेका युवाहरुमा भविष्य के हुने भन्ने स्पष्ट छैन । त्यो बाटो कसै न कसैले देखाउनु जरुरी छ । सरकारले पनि त्यही बीचको पुलको काम गर्ने हो । त्यसपछि एकजना उद्यमीले १० वटा उद्यमी जन्माउने हो । तर त्यसका लागि नीतिगत तहबाटै सरकारले अग्रसरता लिनुपर्छ ।

अहिले जति पनि सफल युवा उद्यमीहरु छन् । त्यसमा केहीको हकमा लिगेसीले पनि काम गरेको छ भने अर्को कुरा केहीले शिक्षामा पनि एक्सपोजर पाएका छन् । उनीहरुले शुरुमै त्यो प्रकारको एक्सपोजर पाएका छन् । तर नयाँ उद्यमीहरुले त्यो एक्सपोजर पाउन सकेका छैनन् ।

२०४६ सालको आन्दोलनपछि मुलुक नयाँ चरणमा प्रवेश गरेको थियो । संविधान लेख्ने समय पनि शुरु भएको थियो भने भारतसँगै सम्बन्ध पनि सुधार हुँदै थियो । त्यो समयमा निजी क्षेत्रको विषयवस्तुहरुलाई बाहिर कसरी ल्याउने भन्नेमा म सोचमग्न भए । होस्टेजका रुपमा रहेको निजी क्षेत्रका इस्युहरुलाई बाहिर ल्याउनुपर्ने थियो ।

कुनै समय जीडीपीमा १० प्रतिशतभन्दा बढी अंश बोकेको म्यानुफ्याक्चर क्षेत्रको हिस्सा हुन्थ्यो भने अहिले त्यो कम भएको छ । यो क्षेत्रमा पनि ठूलो सम्भावना छ । अहिलेको सकारात्मक ट्रेन्डको कुरा गर्दा पछिल्लो ४५/५० वर्षको जेनेरेसन र २५ वर्ष उमेर समूहका जेनेरेसनको कुरा गर्दा पछिल्लो पुस्ता निकै अगाडि छन् । उद्यमशिलतामा मात्रै होइन । नीतिगत तहमा पनि निकै अगाडि देखिएका छन् । उनीहरु बढी शिक्षित, बढी अनुसन्धानकर्ता, नीति बनाउने तहमै पनि निकै अगाडि छन् ।

अर्थतन्त्रलाई अगाडि बढाउनका लागि २०४२ सालको समयमा नेपाली कांग्रेसको सरकारले लिबराइजेसनका लागि अगाडि बढायो । जसमा जीडीपीमा योगदान गर्ने ७ वटा क्षेत्रलाई पिलरका रुपमा अगाडि ल्यायो । त्यसले गर्दा काम गर्नका लागि खुला वातावरण सिर्जना गर्यो । पर्यटन, एभिएसन, टेलिकम, कम्युनिकेशन, सफ्टवेयरलगायतका क्षेत्रमा काम गर्न सक्ने वातावरण बन्यो । रोजगारीको क्षेत्रमा म्यानुफ्याक्चरिङको विकल्प हुन सक्दैन । तर पछिल्लो समयमा म्यानुफ्याक्चरिङ क्षेत्र खुम्चिनु राम्रो कुरा होइन ।

पछिल्लो समयमा आउँदा निजी क्षेत्रको उपस्थित निकै ठूलो भएको छ । पहिले केही जिल्लाका क्षेत्रमा मात्रै सीमित भएको अवस्थामा अहिले देशका अधिकांश जिल्लामा अर्थतन्त्रको विकास हुँदै गयो र त्यसमा निजी क्षेत्रको बलियो उपस्थिती हुँदै गयो । र, त्यसैका कारणले आजको अर्थतन्त्र चलायमान भइरहेको छ । आर्थिक गतिविधि आजको दिनमा चल्नुमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ ।

साच्चिकै भन्दा दुर्भाग्यपूर्ण अवस्था के छ भने पावर ब्रोकरहरु, व्यवसायीका बीचमा पनि बीचका मानिसहरुको हालिमुहाली भएको अवस्था छ । हामीले पनि तिनीहरुलाई छुट्याउन चाहेनौं, सकेनौं । त्यो प्रकारको दबाब बनाउन चाहेनौं । त्यो प्रकारको मानसिकता जहाँ पनि छ । म आफैं पनि ल मेकर हुँ । त्यसकारणले पनि ऐन, नियम, कानून बनाउन शैलीमा थाहा छ । देखेको छु, बुझेको छु । त्यो बनाउने काममा पनि सकारात्मक प्रोसेसहरुलाई अगाडि बढाउने विषयमा सहज वातावरण बनाउनुको साटो छेक्नुपर्छ भन्ने मानसिकता हावी भयो ।

एकाध विषयवस्तुलाई अगाडि राखेर यिनीहरुले मिसयुज गर्छन् यिनीहरुले भ्रष्टाचार गर्छन् भन्ने मानसिकता कानून बनाउनेहरुमा हावी भयो । जहाँ ऐन, नियम कानून बनाउँदा नकारात्मक सोचका साथ अगाडि बढाउन खोजेको देखिन्छ । जसले सिस्टमलाई म्यानुप्लेट गर्न सक्छन् उनीहरु सिस्टममा हावी भए । यसका लागि म नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शमा कार्यकारी भूमिकामा रहँदा र त्यसपछिका दिनमा पनि यस्तो प्रवृति हटाउन सकेनौं । र, उनीहरु अन्ततः सिस्टममा बोझका रुपमा उभिन्छन् ।

पहिले हामीले सरकार स्थायी भएन भनेर भन्यौं । तर अहिले ३ वर्षदेखि दुई तिहाइ नजिक मत प्राप्त भएको सरकार हुँदा पनि त अपेक्षा अनुसारको काम भएन । अवस्था परिवर्तन भएन । जहाँसम्म म राजनीतिमा आएको विषय छ म कुनै राजनीतिक पार्टीको सदस्यता लिएको छैन । म के चाहन्छु भने आगामी ५ वर्षपछि सेजनको यस्तै कार्यक्रममा बसेर आगामी पिँढीले मैले आज भनिरहेको रोदनको कुरा गर्न नपरोस । जुन म ४० वर्षदेखि भनिरहेको छु । भोलिका दिनमा नेपालका खेत र बारीहरु बाँझो हुने र भारतबाट खाद्यान्न आयात हुने अवस्था नआओस् । आज सबैभन्दा बढी जनसंख्या आबद्ध भएको कृषि क्षेत्र प्रतिष्पर्धी हुन सकेको छैन । जमिनको क्षेत्र सानो हुँदै गएको अवस्था छ । त्यसका लागि राजनीतिक सोचमा आमूल परिवर्तन भएन भने मात्रै त्यो सम्भव छ ।

राजनीति गर्नेहरुलाई जसरी आन्दोलन गरेर परिवर्तन गर्न सम्भव छैन, त्यत्तिकै सजिलो व्यवसायीहरुलाई प्रडक्टिभ संसार बनाउन सजिलो छैन ।

राजनीतिज्ञहरुले जबसम्म यस्ता मानिसहरुले सही स्थान दिँदैनन् तबसम्म यो सम्भव छैन । त्यसैले म जहाँ पनि भन्छु, राम्रो व्यक्ति राजनीतिमा आउनैपर्छ । लिविङ रुपमा बसेर राजनीतिक गफ दिने तर हातेमालो गर्नका लागि सडकमा ओलर्न डराउने हो भने त्यो सम्भव छैन । र, कुनै न कुनै दिन राजनीतिक पार्टीहरु त्यो ठाउँमा आइपुग्छन् भन्ने मलाई विश्वास छ ।

राजनीतिक पार्टीले कर्पोरेट क्षेत्रलाई चन्दा दाताका रुपमा मात्रै बुझ्नु हुँदैन । चन्दा अमेरिकामा पनि दिन्छन्, भारतमा पनि दिन्छन् । तर जबसम्म सरकारी स्तरमै परिवर्तन हुँदैन नीतिगत रुपमा परिवर्तन हुँदै त्यो सम्भव हुँदैन । (नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चौधरीले व्यक्त गरेको विचार)


पुष्प दुलाल