नेपाल उद्योग वाणिज्य महासंघ ५४ साधारणसभा आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आजदेखि सुरु हुने भएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था महासंघको ५४ औं साधारणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने छन् ।

गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा कोभिड १९ को संक्रमणको कारण मंसिरमा हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट महासंघको साधारणसभा उद्घाटन गर्ने छन् ।

महासंघको साधारणसभामा शनिबार निर्वाचन हुने कार्यतालिका छ । महासंघको बरिष्ठ उपाध्यक्षका लागि अहिलेका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र अहिलेका एशोसियट उपाध्यक्ष चन्द्र ढकालले उम्मेद्वारी दिएका छन् ।

प्रधान र ढकालले प्यानलनै बनाएर उम्मेद्वारी दिएका छन् । प्रधानको प्यानलबाट जिल्ला नगरमा उपाध्यक्षमा दिनेश श्रेष्ठ,एशोसियटमा सौरभ ज्योति तथा वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ रहेका छन् ।

ढकालको प्यानलमा जिल्ला नगरमा गुणनिधि तिवारी,एशोसियटमा रामचन्द्र संघाई र वस्तुगतमा उमेशलाल श्रेष्ठ रहेका छन् । कोभिडको कारण साधारणसभा भर्चुअल माध्यमबाट हुने छ भने निर्वाचन ३ स्थानमा हुने छ ।


क्लिकमान्डु