बीमाबाट प्राप्त रकमबाट पर्यटनमन्त्री भट्टराईले गरे ३ सयजनाको कोरोना बीमा



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना बीमाबाट प्राप्त रकम ३ सय जना व्यक्तिहरुको कोरोना बीमा गरेका छन् ।

मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाइका अनुसार भट्टराईले आफूले कोरोना बीमामार्फत् प्राप्त गरेको १ लाख रुपैयाँबाट ताप्लेजुङ जिल्लाका ३०० जना न्यून आय भएका विपन्न, विद्यार्थी, असाहय तथा मजदुरहरुको कोरोना बीमामा खर्च गरेको जानकारी दिए ।

उनका अनुसार यसअघि पनि मन्त्री भट्टराईले आफ्नो तलब भत्तावापत प्राप्त रकमबाट स्थायी ठेगाना भएका ताप्लेजुङका १ हजार २७६ जनाको कोरोना बीमा गरेका थिए । यसरी हालसम्म मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्रका १ हजार ५७६ जनाको कोरोना बीमा गरिसकेको गुरागाइले जानकारी दिए ।

उनका अनुसार सबै ३ सय जनाको प्रतिव्यक्ति १ लाख रुपैयाँ बराबरको बीमा गरिएको हो । यदि उनीहरुमध्ये कोही संक्रमित भए र अस्पताल भर्ना भएको अवस्थामा ७५ हजार रुपैयाँसम्म अस्पतालको खर्च बेहोर्ने र होम आइसोलेसनमा बसेको अवस्थामा २५ हजार रुपैयाँसम्म बीमावापत रकम प्राप्त गर्नेछन् ।

भट्टराई केही समयअघि कोरोना संक्रमित भइ हाल संक्रमणमुक्त भइसकेका छन् ।


क्लिकमान्डु