सुनको भाउ लगातार ओरालो लाग्दै, बुधबार १ हजारले घट्यो



काठमाडौं । कोरोना भाइरस विरुद्धको भ्याक्सिले सफलता पाउँदै गरेका समाचार प्रकाशित भएसँगै विश्वबजारमा सुनको भाउ ओरालो लाग्दै गएको छ ।

कारोना महामारीको समयमा नेपाली बजारमा प्रतितोला १ लाख २ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य पछिल्लो समयमा भने घट्न थालेको छ ।

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ हजार रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेको थियो । तिहारपछि खुलेको बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम अझै रोकिएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि मंगलबारको तुलनामा प्रतितोल १ हजार रुपैयाँले घटेर ९१ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मूल्य प्रतितोला ११७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु