३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुँदै   



कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम शुरु गरिएको छ ।

रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले राजधानीबाहिर यति ठूलो क्षमतामा पहिलो चिस्यान केन्द्र निर्माण गर्न लागेको कम्पनीका अध्यक्ष नेत्र थनेतले बताए ।

साइड अफिस, कम्पाउण्डवाल र पार्किङस्थल निर्माणको काम थालनी गरिएको अध्यक्ष थनेतले बताए । आउँदो पुस महिनाभित्र पहिलो चरणको काम सकिने र त्यसलगत्तै दोस्रो चरण (सिभिलको) काम थालनी गरिने उनले जानकारी दिए ।

जर्मन प्रविधिबाट निर्माण गरिने चिस्यान केन्द्र आधुनिक हुनेछ । केन्द्रमा आठवटा च्याम्बर रहनेछन्, जहाँ फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले चिस्यान केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भने भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने थनेतले जानकारी दिए ।

अध्यक्ष थनेतका अनुसार केन्द्र, प्रदेश र ‘रिटर्नी’ नेपालीहरुको लगानी गरी रु २० करोडको लागतमा नवलपुर चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो ।

‘प्रवासबाट आर्जित सीप,  ज्ञान र पूँजी स्वदेशका लागि’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीहरुको पहलमा उक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो ।

वैदेशिक रोजगारमा आर्जेको सीप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले रिटर्नीहरुको पहलमा चिस्यान केन्द्र निर्माण गर्न लागेको अध्यक्ष थनेतले बताए । यस चिस्यान केन्द्रमा देशभरका रिटर्नीहरुको सहभागिता रहेको छ ।

अठार कठ्ठा जग्गा लिजमा लिएर उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । नवलपुर कृषि उपजका हिसाबले समृद्ध रहेको र यहाँका किसानलाई थप प्रोत्साहित गर्न सकिएमा किसानदेखि उपभोक्तासम्मलाई लाभ दिन सकिने भएका कारण चिस्यान केन्द्र निर्माण गर्ने योजना बनाएर काम थालनी गरिएको थनेतले बताए ।

कृषि उपजको वृद्धिका लागि किसानलाई अत्यधुनिक तालिम र बिउबीजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने अध्यक्ष थनेतको भनाइ छ । यसले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्धि हुने उनले बताए ।

जिल्लामा नै चिस्यान केन्द्र निर्माण हुने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । कावासोती नगरपालिका–१४ अग्यौलीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको काम थालनी गरिएसँगै जिल्लाका किसानले उत्पादित कृषि उपजको भण्डारण गर्न अन्यत्र जान नपर्ने भएपछि खुशी छन् ।

चिस्यान केन्द्र स्थापनापछि उत्पादन गरेका भण्डारण गर्न मिल्ने कृषि उपजलाई आफ्नै ठाउँमा भण्डारण गरेर राख्न सहज हुने मध्यविन्दु नगरपालिकाका कृषक हरि ढकालले बताए ।

‘मैले कागतीखेती गर्दै आएको छु । लकडाउनका कारण कागती बिक्री नहुँदा कुहिएर गयो । चिस्यान केन्द्र भएको भए त भण्डारण गर्न सक्थेँ,’ ढकालले भनले, ‘जिल्लामै चिस्यान केन्द्र बन्ने भएपछि हामीजस्ता किसान धेरै खुशी छाैं, हाम्रो उत्पादन खेर जानबाट जोगिन्छ भन्ने लागेको छ ।’

जिल्लाको हुप्सेकोट गाउँपालिका पनि आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । यहाँको आलु छिमेकी जिल्लामा पनि निर्यात हुँदै आएको छ । कहिलेकाहीँ समयमा आलु बिक्री नहुँदा कुहिएर फाल्नु परेको सम्झँदै कृषक यमबहादुर माकिम भन्छन्छ, ‘जिल्लामा चिस्यान केन्द्र नहुँदा उत्पादन गरेको तरकारी भण्डारण गर्न पाएका छैनाैं । बाहिर जिल्लामा राख्दा लागत बढ्छ, आफ्नै जिल्लामा चिस्यान केन्द्र बनेपछि त भण्डारण गरी बेमौसममा पनि बिक्री गर्न पाएमा मूल्य राम्रो पाइन्छ ।’

जिल्लामा उत्पादन हुने आलु, सुन्तला, अमिलो, प्याजलगायतका कृषि उपज र हिमाली क्षेत्रको स्याउसमेतको यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजोन कार्यक्रमका वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताए ।


क्लिकमान्डु