नेपालमा पाइने सबैभन्दा महंगो रक्सी, कतिपर्छ मूल्य ?



काठमाडौं । नेपालमा मनाइने चाडपर्वमा सबैभन्दा धेरै खपत हुने वस्तुमध्ये रक्सी पनि एक हो । विशेष गरी दशैं र तिहार जस्ता चाडपर्वमा रक्सीको खपत बढी हुन्छ ।

रक्सी स्वास्थ्यका लागि फाइदाजनक नभए पनि खपत भने यस्ता चाडपर्वमा सामान्य अवस्थामा भन्दा बढी हुँदै आएको छ । जसमा स्वदेशी र विदेशी दुबै खालको रक्सीको खपत उत्तिकै हुँदै आएको छ ।

नेपालमा महंगा रक्सीको कुरा गर्दा स्वदेशीको तुलनामा विदेशी रक्सीको मूल्य नै बढी हुन्छ । रक्सी पारखीहरुका लागि विभिन्न ब्राण्ड र विभिन्न स्वादमा उपलब्ध रक्सी पिउन मन पराउँछन् ।

दशैंको अवसर पारेर बजारमा आएको रक्सी ‘यार्चागुम्बा’ स्वदेशी उत्पादनका हिसाबले सबैभन्दा महंगो रक्सी हो । तर महंगा रक्सीमा विदेशी रक्सी पर्छन् ।

यार्चागुम्बा रक्सीको मूल्य ११ हजार रुपैयाँ पर्छ । हाल स्वदेशसँगै विदेशमा पनि यो रक्सी निर्यात हुन शुरु गरिसकेको छ । बजारमा आएको छोटो समयमै १० हजारभन्दा बढी बोतल यार्चागुम्बा बिक्री भइसकेको कम्पनीले जानकारी दिएको छ ।

काठमाडौंको दरबारमार्गस्थित ग्रिनलाइन सेन्टरमा विदेशी मदिरा मात्रै उपलब्ध छन् । जहाँ हरेक प्रकारका वाइन, स्याम्पेन, ह्विस्की, ब्राण्डीहरु उपलब्ध छन् ।

यो पसलमा सबैभन्दा महंगो रक्सी ‘क्यामुअस कोन्याक ५.१५०’ छ । यो रक्सीको मूल्य ६ लाख ७ हजार २०५ रुपैयाँ तोकिएको छ । यसको बोतल हातबाट बनाइएको हो । यो ब्राण्डी अंगुरको बोक्रालाई ४० वर्षसम्म लगाएर बनाइएको हो ।

त्यसबाहेक नेपालमा उपलब्ध अर्को महंगो रक्सी हो ‘रोयल सल्युट ६२ गन सल्युट’ । यो रक्सीको मूल्य एक लिटरको बोतलका लागि ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ ।

अर्को महंगो रक्सी ‘लुई १३औं कोन्याक’ हो । यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ पर्छ । यसको बोतलमा सुनले लेपन गरिएको छ । साथै महंगो सिंगल मार्टको मूल्य २ लाख ३८ हजार रुपैयाँसम्म पर्छ ।


क्लिकमान्डु