प्राधिकरणमा छैनन् कुलमान, यो तिहारमा बिजुली काटिएला कि नकाटिएला ?



काठमाडौं । ‘एक पटक मौका दिनुस्, काम गर्छु, संस्थालाई अझै बलियो र सबल बनाउँछु’ भन्ने आग्रह गर्दा गर्दै पनि सत्तारुढ दल नेकपाका केही नेताको कोपभाजनमा परेका नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ यतिखेर आफ्नै घरमा चुपचाप बसीरहेका छन् ।

काम नभएपछि परिवारलाई समय दिने र आफना अन्य निजी काम गर्नु उनको दैनिकी बनेको छ । सरकारले बिहीबार हितेन्त्रदेव शाक्यलाई प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

बिहिबारदेखि नै नेपालीको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । पछिल्ला ४ वर्षमा तिहार भनेपछि मानिसहरुले कुलमानलाई सम्झन्थे । अझै सम्झिरहेका छन् ।

देश लोडसेडिङले आक्रान्त थियो । कुन बेला बत्ति आउला भन्ने अवस्थामा नागरिकले कष्टकर दैनिकी बिताउन बाध्य थिए । मानिसहरुमा आशा भन्ने नै थिएन । अध्यारोले आशा होइन, निराशाको सञ्चार गर्छ ।

अध्यारोबाट मुक्ति दिने काममा सरकारको हात पक्कै थियो । तर, कुलमानले कार्यभार सम्हाल्नु भन्दा अघिल्ला कार्यकारी निर्देशक मुकेशराज काफ्लले ६ घण्टा लोडसेडिङ गर्नुपर्ने सार्वजनिक रुपमा नै बताएका थिए ।

२०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानले झण्डै एक महिनाको बीचमा आवश्यक तयारी गरेर २०७३ सालको तिहारमा काठमाडौंलाई लोडसेडिङमुक्त गराएका थिए ।

लक्षमीपूजाको त्यो दिन कुलमान आफै प्राधिकरणको केन्द्रीय भार प्रेषण केन्द्रमा बसेका थिए । काठमाडौं शहरमा उज्यालो बढ्दै जाँदा उनको अनुहारमा देखिएको ढुकढुकी सहजै अनुमान गर्न सकिन्थ्यो । उनलाई विश्वास थियो, इमान्दार प्रयत्न गर्दा सफल भइन्छ । सोही कारण उनी सफल भए ।

कोही कसैले पनि नचिनेका कुलमान रातारात नेपालीका लागि प्रिय नायक बन्न सफल भए । पुनः नियुक्ति हुनेमा उनको विश्वास थियो ।

तर सरकारलाई सहयोग नगरेको, सरकारले गरेको कामको जश आफूले लिएको जस्ता असाध्यै असामान्य तर्क गरेर सरकारले उनलाइर्ए पुनः नियुक्ति दिएन ।

घुम्दै फिर्दै फेरी पनि तिहार शुरु भएको छ । शुक्रबार काग तिहार हो । आम मानिसको मनमा प्रश्न छ, प्राधिकरणमा कुलमान छैनन्, तिहारमा बत्ती आउला त ?

मानिसहरुको यही जिज्ञासलाई समाधान गर्ने ध्येयका साथ हामीले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक (बुधबारदेखि कायममुकायमको समेत जिम्मेवारी पाएका ) हितेन्द्रदेव शाक्यले के कस्तो तयारी गरेका होलान् ? आम जिज्ञासा रहको छ । उनले मंगलबार आयोजना गरेको वितरण केन्द्र प्रमुखहरुसँगको छलफलमा भनेका छन् ‘तिहारमा खासै समस्या त आउँदैन होला, हामीले आवश्यक तयारी गरेका छौ ।’

के कस्ता तयारी ? उनले भनेका थिए ‘काठमाडौं उपत्यकाभित्रका सबै वितरण केन्द्र प्रमुखहरु आफैं इमान्दार भएर लाग्नुस् । बिजुली काटिन भएन । वितरण केन्द्र प्रमुखले आ आफ्नो क्षेत्रको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

गत वर्ष १०८९ मेगावाट माग, यस वर्ष कति ?

अघिल्लो तिहारमा प्राधिकरणको केन्द्रीय भार प्रेषण केन्द्रले १०८९ मेगावाट मात्रै कूल विद्युत् माग भएको जनाएको थियो । गत वर्षको तिहारमा सोचेभन्दा कम विद्युत खपत भएको थियो ।

अघिल्ला २ वर्षको तिहारको तुलनामा गत वर्ष खपत बढेर उच्च विन्दुमा पुग्ने अनुमान गरिएको भएता पनि कम विद्युत खपत भएको थियो ।

वर्षभर नै सबैभन्दा बढी विद्युत् खपत लक्ष्मीपूजाका दिन हुने गर्दछ । प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् माग उच्च हुने र १ हजार १ सय ९० मेगावाट विद्युत् खपत हुने अनुमान गत वर्ष गरेको थियो ।

तर वास्तविक खपत भने अघिल्लो वर्षको भन्दा पनि गत वर्ष कम देखिएको थियो अघिल्लो वर्ष लक्ष्मीपूजाका दिन साँझ अधिकतम १ हजार १ सय ५ मेगावाट पुगेको विद्युत् खपत गत वर्ष भने १ हजार ८९ मेगावाट मै खुम्चिएको थियो ।

२०७४ सालको तिहारमा देशभरको विद्युत माग १ हजार १ सय ७५ मेगावाटसम्म पुगेको थियो । तर २ वर्ष अवधिमा विद्युतमाग ८६ मेगावाटले घटेको प्राधिकरणको विवरणमा देखिन्छ ।

प्राधिकरणले विद्युत् माग व्यवस्थापनका लागि कुलेखानी जलाशययुक्त आयोजना पूर्ण क्षमतामा चलाउने र अपुग विद्युत भारतबाट आयात गरेको थियो ।

यस आधारमा यस वर्ष लक्षमीपूजाको दिनमा बढी भन्दा बढी विद्युत् माग भएको खण्डमा एक हजार २०० मेगावाट भन्दा माथि नहुने देखिएको छ । कोरोनाका कारण उद्योग प्रतिष्ठान पूर्ण क्षमतामा चलेका छैनन । सोही कारण प्राधिकरणको प्रणालीमा साँझको समयमा औसतमा १ हजार १०० मेगावाट भन्दा बढी विद्युत् माग नै हुन छाडेको छ ।

लकडाउन, निषेधाज्ञा तथा कोरोनाका कारण उद्योग प्रतिष्ठान, होटल व्यवसाय नचल्दा विद्युत् माग बढ्न नसक्दा रातको समयमा झण्डै २०० मेगावाट विद्युत् खेर फाल्नुपरेको अवस्था पनि छ ।

प्राधिकरणका अनुसार शरद ऋतुको समयमा हावापानी समेत सामान्य रहेको, नदीमा कञ्चन पानी बगीरहेको छ । तर निजी क्षेत्रका आयोजनालाई पूर्ण क्षमतामा चलाउन लगाएर प्राधिकरणले आफना प्लान्ट भने सामान्य रुपमा मात्रै चलाएको छ । विद्युत खरिद सम्झौता अनुसार निजी क्षेत्रका आयोजना चलाउनै पर्ने बाध्यतामा प्राधिकरण छ ।

गत वर्ष माग व्यवस्थापन गर्न प्राधिकरण मातहतका आयोजनाबाट ५४६ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ४३५ मेगावाट व्यवस्थापन गरिएको थियो भने भारतबाट १०७ मेगावाट आयात गरिएको थियो ।

हिउँदमा मात्रै चलाइने कुलेखानीका ३ वटा प्लान्ट पनि यस वर्ष तयारी हालतमा राखिएको छ । प्राधिकरणका अनुसार विद्युत् माग अनुसार नै ती आयोजना चल्नेछन् ।

गत वर्ष पनि ती आयोजनालाई तिहारमा चलाइएको थियो । कुलेखानीका ३ वटा प्लान्टबाट कूल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

२०७५ को तिहारमा भारतबाट ३३५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो । गत वर्ष भने १०७ मेगावाट मात्रै आयात गर्नुपरेको थियो । त्यो पनि प्रणालीमा समस्या नआओस भन्नका खातिर मात्रै ल्याइएको कुलमान घिसिङले जानकारी दिएका थिए ।

भारतबाट आयात गरिएको विद्युत नेपालको प्रणालीमा मिसाएर रक्सोल पवरानीपूर १३२ केभी प्रसारण लाइन मार्फत भारत नै पठाइएको थियो ।

यस्तो छ प्राधिकरणको तयारी

सामान्यतया, लक्ष्मीपूजाको दिनलाई आधार मानेर कूल विद्युत मागको तथ्यांक निकाल्ने गरिन्छ ।

कुलमानले प्राधिकरणबाट अवकाश पाउनु र प्रणालीमा पटक पटक समस्या आउँदा गत साउन, भदौ र असोजको पहिलो सातासम्म बाघ कराउनु र बाख्रा हराउनु जस्तै अवस्था थियो ।

अघोषित रुपमा विजुली काटिँदा नागरिक हैरान भएका थिए । आम मानिसले कुलमानको मिस गरिरहेका थिए । बिजुली भएर पनि नागरिकले हैरानी भोग्नु परेको थियो । प्राधिरकण नेतृत्वविहिन जस्तै थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले लेखाका जानकार लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी दिएपनि उनले प्रभावकारीरुपमा होल्ड गर्न सकेका थिएनन ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार तिहारमा कुनै पनि घरमा बत्ती ननिभोस भनेर द्रूत रेस्पोन्स टिम तयारी हालतमा राखिएको छ । विगतमा कुलमान आफै पनि खटथे र उक्त टोलीलाई पनि २४ सै घण्टा परिचालित गर्दथे ।

शाक्यले पनि शुक्रबारदेखि आफै खटिने जानकारी दिएका छन् । उनले, सबै वितरण केन्द्र प्रमुखलाई आ-आफनो क्षेत्रभित्र कुनै समस्या आए तत्काल समाधान गर्न निर्देशन दिइएको बताएका छन् ।

सरकारको निर्देशन अनुसार बिजुली पुगेका कुनै पनि घरमा बत्ती निभ्नु हुँदैन भन्ने तर्फ विशेष सावधानीका साथ प्रयास गरिएको छ ।

प्रणालीमा प्रर्याप्त मात्रामा विद्युत् उपलब्ध छ । कुलेखानी, मस्र्याङदी, मध्यमस्र्याङदी जस्ता आयोजना तम्तयारी हालतमा रहेका छन् । ती आयोजना अर्धजाशययुक्त प्रकृतिका आयोजना हुन् । यस्तै निजी क्षेत्रका आयोजनालाई पनि पूर्ण क्षमतामा चलाउन निर्देशन दिइएको प्राधिकरणको भनाइ छ ।

विजुली नभएर नभई प्रणालीमा समस्या आयो भने समस्या आउन सक्ने भएकाले विशेष सावधानीका साथत टोली परिचालन गरिएको प्राधिकरणको भनाइ छ ।

त्यसो त ऊर्जा मन्त्री वर्षमान पुनले पनि दशै अगाडि नै प्राधिकरणका तत्कालीन निमित्त कार्यकारी निर्देशकलगायत उच्चपदस्थ कर्मचारीलाई बोलाएर चाडबाडको समयमा बिजुली निभ्न नहुने भन्दै कडा निर्देशन दिएका थिए ।

सम्भवतः तिहारको तयारीका बारेमा समेत उनले बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा आवश्यक निर्देशन दिएका छन् । उनले कुनै पनि नागरिक अध्यारोमा बस्नु नपरोस् भनेर प्राधिकरणलाई निर्देशन दिएको एक सञ्चालक समिति सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार नागरिकलाई सहज रुपमा बिजुली बाल्न पाउने गरी व्यवस्थापन गर्न र कुनै पनि कमी कमजोरी आउन नदिन आवश्यक निर्देशक सञ्चालक समितिका अध्यक्ष एवम् सदस्यहरुले पनि दिएका छौ ।

कति उपलब्ध छ बिजुली ?

प्राधिकरणको केन्द्रीय भार प्रेषण केन्द्रका अनुसार प्रणालीमा प्राधिकरणको स्वामित्वमा रहेका आयोजनाबाट ८ हजार ८८४ मेगावाट घण्टा बिजुली उपलब्ध छ ।

यस्तै, निजी क्षेत्रका आयोजनाबाट १० हजार ९९६ मेगावाट घण्टा बिजुली प्रवाह भइरहेको छ । यस्तै, भारतबाट कूल २ हजार ४४० मेगावाट घण्टा बिजुली आयात हुँदा १४ मेगावाट घण्टा भने भारत निर्यात भइरहेको छ ।

यसैगरी कसले ५ मेगावाट घण्टा बिजुली भने समस्यमा रहेको छ । प्राधिकरणको प्रणालीमा कूल माग भने २२ हजार ३२५ मेगावाट घण्टा रहेको छ ।

लक्ष्मीपूजाको दिनलाई आधार मानेर सबै आयोजनालाई पूर्ण क्षमतामा चलाइने र आवश्यक परे, भारतबाट पनि बिजुली ल्याउने तयारी गरिएकाले कुनै समस्या नआउने प्राधिकरणको बुझाइ छ ।

तर राजधानी काठमाडौंका केही वितरण केन्द्रका प्रमुखहरुले भने विगतको जस्तो प्रभावकारी योजना नआएको र कार्यकारी निर्देशकले स्पष्ट निर्देशन समेत नदिएको बताएका छन् ।

काठमाडौंमा विशेषगरी कुलेश्वर, बालाजु, बानेश्वर, चपली, महारजागन्ज र रत्नपार्क वितरणकेन्द्रमा बढी समस्या रहेको छ । ती क्षेत्रमा माग बढी रहेको र प्रसारणलाइन तथा ट्रान्सफर्मरलगायतमा समस्या आउँदा ओभरलोड हुने गरेको छ ।

यस्तै, राजधानी बाहिर पनि प्राधिकरणको नेतृत्वले खासै ध्यान दिन नसकेको बताइन्छ । विगतमा कार्यकारी निर्देशक आफैले फोन गरेर तयारी र समस्या समाधानका लागि आवश्यक निर्देशन दिने गरिएको भएपनि यस पटक बिहिबारसम्म कुनै निर्देशन नआएको उनीहरुको भनाइ छ ।

विराटनगर, पोखरा, नेपालगन्ज, चितवन र हेटौडाका वितरण केन्द्रका कर्मचारीले कुनै निर्देशन नआएको बताएका छन् । तर, प्राधिकरणको ग्राहक सेवा निर्देशनालयले आवश्यक परिपत्र गरिसकिएको दावी गरेको छ ।

कोरोनाका कारण उद्योग, प्रतिष्ठान नचलेको तथा होटल समेत बन्द भएकाले तिहारमा कुनै पनि समस्या नआउने प्राधिकरणको बुझाइ छ ।

आम नागरिक भन्छन्– कुलमान हुँदा र नहुँदा कस्तो फरक पर्दो रहेछ, त्यो हेर्न भने तिहारसम्म नै पर्खनुपर्छ ।


पुष्प दुलाल