अलिबाबाले सिंगल डेमा गर्यो ७४ अर्ब डलरको व्यापार

476
Shares

चिनियाँ ई–कमर्श कम्पनी कम्पनी अलिबाबाले सिंगल डेको अवसरमा हालसम्मकै सबैभन्दा बढी ७४ अर्ब डलर अर्थात ८८ खर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यो हालसम्मकै एकैदिन भएको सबैभन्दा ठूलो कारोबार हो । कम्पनीका अनुसार गत वर्षको सिंगल डेको तुलनामा २६ प्रतिशतले बढी व्यापार भएको हो ।

कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्र संकुचित भएको अवस्थामा पनि रेकर्ड ब्रेक व्यापार हुनुलाई सकारात्मक रुपमा हेरिएको छ । गत वर्षको डिसेम्बर महिनाबाट चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस यतिबेला विश्वभरी नै महामारीका रुपमा फैलिएको छ ।

तर चीनले भने कोरोना भाइरसको संक्रमण नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गरेको देखिएको छ । पछिल्लो समय अन्य देशहरुको अर्थतन्त्र खुम्चिएको अवस्थामा चीनको अर्थतन्त्रमा तुलनात्मक रुपमा सकारात्मक नै देखिएको छ ।

नोभेम्बर ११ तारिख चिनियाँहरुका लागि सपिङ होलिडे हो । जुन अलिबाबाले सिंगल मानिसहरुका लागि लक्षित गरी शुरु गरेको थियो । अलिबाबाले भ्यालेन्टिाइन डे जोडीहरुका लागि लक्षित भए पनि यो दिन जोडी नहुनेहरुका लागि लक्षित गरी शुरु गरेको थियो ।

पश्चिमा देशहरुमा हुने ब्ल्याक फ्राइडे र साइबर मन्डेभन्दा बढी सिंगल डेको दिन बढी व्यापार हुन थालेको छ ।

अलिबाबाले गत वर्षको तुलनामा पछिल्लो एक वर्षमा कम्पनीको व्यापार १७ गुणाले बढेको बताएको छ । चीनभन्दा बाहिरका देशमध्ये अलिबाबाले अमेरिकामा मात्रै ५ अर्ब डलरभन्दा बढीको व्यापार गरेको छ ।