दशैंलाई लक्षित गरी बैंकले ल्याए अफर, कुन बैंकका कस्ता ?



काठमाडौं । दशैैं, तिहार, छठलगायतका पर्व नजिकिएसँगै बैंकहरुले धमाधम अफर ल्याइरहेका छन् । बैंकहरुले ल्याएका योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने खालका छन भने केही बैंंकले सामान खरिद गर्दा विभिन्न अफर ल्याएका छन् ।

बैंक अफ काठमाण्डूले बिओके स्मार्ट डिजिटल दक्षिणा योजना ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन दिनका लागि डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको हो ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको दशैंमा व्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध गर्दै रुपैयाँ नगद उपहारको योजना ल्याएको हो ।

बैंकका ग्राहकले तीन पटक भिन्नभिन्न व्यक्तिलाई मोबाइल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार वा सोभन्दा बढी भएमा १ सय नगद उपहार पाउने छन् । यसका लागि मोबाइल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्ने छ ।

रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ती फरक–फरक हुनुपर्नेछ । उक्त दक्षिणा प्रदान गर्दा ग्राहकले ३ कारोबार गर्दा १ हजारभन्दा बढी हुनुपर्छ ।

ग्राहक महानुभावहरुले दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोनपेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ । ग्राहकले कारोबारको विवरणमा दक्षिणा राख्नुपर्छ ।

यस्तै मेगा बैंकले पनि चाडपर्व लक्षित योजना ल्याएको छ । बैंकले दशैंमा दक्षिणा दिन ‘तीनमा तीन सय’ नामक अफर ल्याएको छ ।

कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ‘डिजिटल दक्षिणा’ योजना ल्याएको हो । यसमा अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउनेछन् ।

त्यसका लागि बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ ।

दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ ‘क्यासब्याक’को व्यवस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ ।

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैयाँ दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।

यता सनराइज बैंकले पनि चाडबाडका लागि भन्दै योजना ल्याएको छ । बैंकले हवाई टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।

बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजको टिकट खरिद गर्दा पहिलो दुईपटकको कारोबारमा प्रति बस टिकट २ सय र हवाई टिकटमा प्रति टिकट ३ सयका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

यो योजना असोज २५ देखि शुरु भइसकेको छ । कात्तिक ११ गतेसम्म कायम रहने छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैकले दशैं तिहारलगायत पर्वलाई मध्यनजर गर्दै कात्तिक १ देखि सबै शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाएको छ ।

बैंककै प्वाइन्ट अफ सेल (पीओएस) को माध्यमबाट भुक्तानी सेवा शुरु गरेको छ । देशभर रहेको विभिन्न व्यवसायहरुमा बैंकको कार्डबाट पीओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ जुन कम हुन्छ सो रकम क्यासब्याक हुने छ ।

कोरोनो माहामारीबाट टाढा रहन विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने बैंकले जनाएको छ । यो प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बताइएको छ ।

यस्तै एनएमबि बैंक र आईएमएसबीच एनएमबि बैंकका ग्राहकहरुले सामसुङ ब्राण्डको मोबाइल खरिद गर्दा एनएमबि बैंकको कार्ड प्रयोग गरेमा मेगाडिल अन्तर्गत विशेष छुट र दशैंमा नगद फिर्ता पाउने योजना ल्याएका छन् ।

बैंकको भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले सामसुङ मोबाइलको खरिदमा १० प्रतिशत छुट वा १ हजार रुपैयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

यता एनआईसी एसिया बैंकले ‘डिजिटल दक्षिणा योजना’ ल्याएको छ । यो योजना अन्तर्गत विजया दशमीदेखि पूर्णिमासम्म एनआईसी एशिया बैंकबाट एनआईसी एशियाकै खातामा रकम पठाउँदा रकम प्राप्त गर्नेले १० प्रतिशतसम्म रकम फिर्ता प्राप्त गर्न सक्ने छन् । यो डिजिटल दक्षिणा सुविधा ग्राहकले खातामा रकम पठाउँदा मात्रै उपलब्ध हुनेछ ।

यस्तै माछापुच्छ्रे बैंकले विजया दशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई आकर्षक क्यासव्याक प्रदान गर्ने अफर ल्याएकाे छ ।

कोरोनाको जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।

विजया दशमीको दिनदेखि पूूर्णिमासम्म बैंकको मोबाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोवाइल मनि (एम थ्री) मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।

क्यासव्याक प्राप्त गर्न ग्रांहक महानुुभावहरुले पैसा ट्रान्सफर गर्दा प्रोमो कोड मा दक्षिणा लेख्नुुपर्नेछ । उक्त क्यासव्याक पूूर्णिमापछि ग्राहकमहको खातामा सिधै जम्मा हुुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २०० वा सो भन्दा बढिको दक्षिणा कारोबार गर्नुुपर्नेछ ।


क्लिकमान्डु