जलविद्युत्, वित्तीय क्षेत्रमा लगानी गर्न आईएफसीको चासो



काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष अल्फान्सो गार्सिया मोराले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् ।

मोराले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनर्संरचना, वित्तीय क्षमताको अभिवृद्धि,जलविद्युत् क्षेत्रमा लगानी, स्वदेशी मुद्रामा बण्ड जारी गर्नेलगायतका विषयमा चासो देखाएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको संयुक्त वार्षिक भर्चुअल बैठकमा आईएफसीले यस्तो चासो देखाएका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी अक्टोबर १२ देखि १८ सम्म आयोजित वार्षिक बैठकमा सहभागिता जनाएका हुन् ।

बैठकमा गभर्नर अधिकारीले अक्टोबर १३ मा आईएमएफका डेपुटी म्यानेजिङ डिरेक्टर थाव चाङसँग कोरोनाको कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका विषयमा छलफल गरेका छन् ।

कोषले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानको विषयमा पनि छलफल भएको छ ।

यता राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा.गुणाकर भट्टले द्विपक्षीय हित प्रवद्र्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरूमा कोभिड-१९ का कारण नेपालको वित्तीय क्षेत्रमा परेका असर र त्यसको न्यूनीकरणका निम्ति लिइएका नीतिगत व्यवस्थाका विषयमा छलफल भएको छ ।


क्लिकमान्डु