घरमै यसरी बनाउनुहोस् खसीको सेकुवा



काठमाडौं । मासु पारखीहरु मासुलाई विभिन्न तरिकाले बनाएर खान रुचाउँछन । सधै एकै प्रकारको मासु खादाँ मासु त्यति स्वादिलो लाग्दैन ।

दिनदिनै मासु खाँदा दिक्क लाग्ने समेत हुन्छ तर त्यहि मासुलाई विभिन्न तरिकाले तयार गरेर खाने हो भने मासु जति खाएपनि अझै खाउँखाउँ लाग्छ ।

हिन्दु्हरुको महान चाड बडादशै शुरु भएको छ । हिन्दुहरुले दशैं मनाउने क्रममा बलि चढाउने गर्छन । दशैका बेला सबैका घरघरमा धेरै मासु खाने चलन छ ।

धेरैजसोले घरघरमा खसिबोका काटेर दशै मनाउँछन । एक घर एक खसिबोका काटदा निश्चय पनि मासु धेरै हुन्छ । मासु खादाँखादाँ मानिसलाई मासुले दिक्क बनाउछ ।

तर त्यहि मासुलाई केही विधि अपनाउने हो भने धेरै समय राख्न सक्नुका साथै विभिन्न परिकार बनाएर खान सकिन्छ । यसरी बनाउन सकिने विभिन्न प्रकारमध्येको एक हो सेकुवा ।

सेकुवा भन्ने वित्तिकै मासु खानेहरुको मुखमा सरसरी पानी आउँछ । सेकुवा बनाउँदाको बास्नाले नै मानिसको मनमा सेकुवाप्रतिको मोह जागृत गरिदिन्छ । तर सेकुवा बनाउका लागि मासु पोलेर मात्र हुदैन । स्वादिष्ट सेकुवा बनाउनका लागि मासुमा विभिन्न मरमसला मिसाएर तयार गनुपर्छ ।

कसरी तयार गर्ने त सेकुवा बनाउने मासु ?
सबैभन्दा पहिला सेकुवा खाने मानिसको संख्या अनुसार बोनलेस मासु तयार गर्नुहोस । यसरी मासु तयार गर्दा ठिक्क ठिक्कका र सकेसम्म समान आकारका टुक्रा बनाउनुहोस । समान आकारमा मासु तयार गर्दा पकाउन सजिलो हुन्छ र एकनासले मासु पाक्छ ।

अब उक्त तयार पारिएको मासुमा विभिन्न मरमसला राख्नुपर्ने हुन्छ । त्यसका लागि तोरिको तेल, अदुवा लसुन, रेड चिल्ली पाउडर, ब्ल्याक पेपरको धुलो, जिरा धनियाँको धुलो, मिट मसला, सोया सस र नुन चाहिन्छ । मासुको परिमाण अनुसार र आफूलाई चाहिने स्वाद अनुसार यी मरमसलालाई मासुमा मिलाउनुहोस ।

मासुलाई मरमसलासँग मिलाएपछि अब केही मात्रा कागतिकोे रस राख्नुहोस । जसले मासुलाई टाइट राख्न र स्वादिलो बनाउन सहयोग गर्दछ ।

अब उक्त मासुलाई मजाले मिक्स गर्नुहोस । मास्ु मजाले मिक्स गर्दा मासुको सबै भागमा सबै मरमसला पुगोस ।

यसरी मासु र मरमसला मिक्स गरिसकेपछि त्यसलाई फ्रिज भए फ्रिजमा र फ्रिज नभए हल्का चिसो ठाउँमा २/३ घण्टा राख्नुहोस् । यसरी मासु राख्दा मासुको भित्रि भागसम्म मसलाहरुको तत्व भित्रभित्रसम्म पुग्छ र मासु स्वादिलो हुन्छ ।

अब मेरिनेट गरेको उक्त मासुलाई झिरमा उन्नुहोस । झिरमा मासु उन्दा धेरै टाइट हुनेगरी नउन्नुहोस किनकि धेरै टाइट हुँदा सबै ठाउँमा समान तरिकाले नपाक्न सक्छ ।

अब उक्त झिरमा उनेको मासुलाई इलेक्ट्रिक ग्रिल वा कोइलाको आगो, वा आगोमा मजाले पोल्नुहोस ।

मासु पोल्ने क्रममा यताउता फर्काउनुहोस र बेला बेलामा तेल छर्किनुहोस । यसरी बीचबीचमा तेल राख्दा मासु सुख्खा हुँदैन र राम्रोसँग पाक्छ । मासुलाई मजाले रातो होउन्जेल पाक्न दिनुहोस् ।

यसरी तपाईंको सेकुवा अब खान तयार भयो ।


क्लिकमान्डु