५ लाख मेट्रिकटन मल ल्याउन भगवान शिव र ब्रम्हाजी आए पनि सम्भव छैनः कृषिमन्त्री भुसाल



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि ५ लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार ४०औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने स्पष्ट पारेका हुन् ।

उनले तत्काल ५ लाख मेट्रिकटन मल ल्याउन भगवान शिव वा ब्रम्हा आएपनि नसक्ने टिप्पणी गरे । कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले तर्क गरे ।

‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रम्हाजी आए भनेपनि सक्दैनन् । कलकत्ताकै पोष्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिकटन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ । जो दिनदिनै आउनेछ,’ उनले भने ।

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए । अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनले बताए ।

कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको स्पष्ट पारे ।

कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारीत लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए । तर त्यसमा पनि धेरै काम गर्न नसकेको उनले स्वीकार गरे ।

किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक केही गर्न नसकेको उनको भनाइ छ । कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गरेका थिए ।


क्लिकमान्डु