स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्



काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोसँगै स्मार्टफोनप्रतिको क्रेज झन् झन् बढ्दै गएको छ । कतिपयका लागि स्माटफोर्न अत्यावश्यक छ भने कतिपयले फेसबुक, टिकट, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्चाल प्रयोग गर्नकै लागि भए पनि स्मार्ट फोन किन्ने गरेका छन् ।

बजारमा सस्तादेखि महंगासम्मका स्मार्टफोनहरु पाइन्छन् । तपाईंले आफ्नो आर्थिक हैसियत अनुसार किन्न सक्नुहुन्छ । त्यसैले स्मार्टफोन किन्नु भनेको पनि चानचुन कुरा भने होइन। आफ्नो कमाइको राम्रो हिस्सा सकिन्छ नै ।

त्यसैले स्मार्टफोन किन्दा निकै बिचार पुर्यउनुपर्ने हुन्छ । आफूलाई कस्तो वा के कस्ता फिचर्सहरु भएको स्मार्टफोन चाहिएको हो भनेर राम्रोसँग अध्ययन गरेर मात्रै किन्नुपर्छ ।

बजारमा अनेकौं ब्रान्डका स्मार्टफोन उपलब्ध भएकाले कुन राम्रो वा नराम्रो भनेर छनोट गर्न कठिन पर्छ। त्यसैले हामीमध्ये धेरैले आफ्ना साथीभाईलाई सोधेर पनि स्मार्टफोन छनौट गर्ने गरेका छौं ।

तपाईंले यी विधि अबलम्बन गरेर स्मार्टफोन किन्नुभयो भने उत्तम हुन्छ ।

सबैभन्दा पहिला तपाईंलाई कस्तो प्रकारको स्मार्टफोन चाहिएको हो त्यो छुट्याउनुहोस् । आफ्नो आवश्यकता र बजेटबीच तालमेल मिलाउनुहोस् । र, अनलाइनतिर आफ्नो सपनाको स्मार्टफोन खोज्न थाल्नुहोस् । विश्वसनीय सञ्चारमाध्यम वा व्यक्तिले गरेका स्मार्टफोन सम्बन्धी समीक्षाहरु पढ्नुहोस् । तपाईं अंग्रेजी भाषामा दक्ष हुनुहुन्छ भने त त्यस्ता धेरै केन्टेन्टहरु इन्टरनेटमा पाइन्छन् । गुगलमै खोजेर पनि बुझ्न सक्नुहुनेछ ।

यति गरिसकेपछि तपाईंले पक्कै पनि २÷४ वटा स्मार्टफोनको छनौट गर्नुहेनेछ । त्यसपछि नजिकैको मोबाइल पसलमा गएर पनि त्यसबारे थप बुझ्न सक्नुहुनेछ । गुगलमा हेरेर तपाईंलाई कन्फिडेन्स बढ्यो भने विभिन्न अनलाइन प्लेटफर्ममा गएर पनि अर्डर दिनसक्नुहुनेछ । अनलाइनमा अर्डर गर्नुभयो भने तपाईंको घरमै स्मार्टफोन आइपुग्छ ।

ब्रान्डहरुले बजारमा आफ्नो उपस्थिति बलियो बनाउन प्रमोसनमा मोटो धनराशी खर्च गरेका हुन्छन् । प्रमोसन हेरेर त्यसकैपछि दौडिनु भयो भने तपाईंले गुणस्तरीय सामन नपाउन सक्नुहुन्छ । त्यसैले आफूले किन्न चाहेको स्मार्टफोनको विषेशताका बारेमा जतिसक्दो खोजेर अनुसन्धान गर्नुहोस् । सम्झिनुहोस् त किनेको २/४ महिनामै बिग्रियो भने तपाईंको कति समयको कमाइ स्वाहा हुन्छ ?

मोबाइल किन्दा कहिल्यै हतार गर्नु हुँदैन। फिचरहरुबारे पर्याप्त अध्ययन गर्नुपर्छ । कसैलाई गीत र भिडियो राख्न धेरै स्टोरेज भएको मोबाइल चाहिन्छ, कसैलाई लामो समयसम्म टिक्ने ब्याट्री भएको मोबाइल, त कसैलाई राम्रो क्यामेरा प्रोसेसर भएको स्मार्टफोन चाहिएको हुनसक्छ ।

स्मार्टफोन किन्दा स्क्रिनको ब्राइटनेस र कलरको क्वालिटीबारे बुझ्नुपर्ने हुन्छ। घाममा मोबाइल चलाउँदा आफ्नो आँखाले स्क्रिन देख्नसक्ने चम्किलो ब्राइटनेस हुनुपर्छ। मोबाइलमा ब्राइटनेस थोरै भएमा स्क्रिन धमिलो देखिएर तपाईंलाई फोन चलाउन धेरै अफ्ठ्यारो हुन्छ ।

यदि मोबाइल लामो समयसम्म चलाउनु पर्ने छ भने डिस्प्ले आकारमा पनि ध्यान दिनुपर्छ। यसका लागि करिब ५.८ देखि ६.४ इन्च सम्मको मोबाइल प्रयोग गर्दा उपयुक्त हुन्छ।

आफूलाई बोक्न र प्रयोग गर्न सहज हुने खालको स्मार्टफोन छान्नुहोस् ।

स्मार्टफोन सधैँ ३२ जिबी वा सम्भव भए ६४ जिबी आन्तरिक स्टोरेज भएको खरिद गर्नुपर्छ। मोबाइलको स्टोरेज प्रयोगकर्ता अनुसार पनि निर्भर गर्छ । यदि धेरै फोटो, भिडियो, गीत, गेम र अन्य एप राख्नु परेमा धेरै स्टोरेज भएको मोबाइलमा ध्यान दिनु पर्छ।

तपाईंलाई आफ्नो मोबाइलको ब्याट्री दिनभर टिकोस् भन्ने चाहना हुन्छ । तर यो सम्भव हुँदैन। खासगरी, युटुबमा धेरैबेर चलाउँदा र खराब नेटवर्कले ब्याट्री चाडैँ बिग्रिन्छ। त्यसैले बढी पावरको ब्याट्री भएको र चाँडै चार्ज हुने मोबाइल किन्नुहोस् ।

स्मार्टफोन किन्दा सबैभन्दा बढी ध्यान दिनुपर्ने त क्यामेराको गुणस्तरमा हो । ताकी तपाईले खिचेको फोटो उच्च गुणस्तरको आओस् । र, टिकटक बनाउँदा होस् वा फेसबुक, ट्वीटर, इन्सटाग्राम लगायतका सामाजिक सञ्जालमा पोस्ट गरेर अरुलाई आपूप्रति बढीभन्दा बढी आकर्षित गर्न सकियोस् ।

त्यसका लागि क्यामेराको मेगापिक्सेल, एपर्चर, डुअल लेन्सजस्ता फिचरमा विशेष ध्यान दिनुपर्छ । (एजेन्सीहरुको सहयोगमा)


पुष्प दुलाल