कस्तो छ एप्पलको नयाँ आइप्याड ?



एप्पल कम्पनीले मंगलबार राति नयाँ आइप्याड सार्वजनिक गरेको छ । कम्पनीले आइफोन १२ सार्वजनिक हुने अपेक्षा गरिए पनि मंगलबार एप्पल वाच र आइप्याड मात्रै सार्वजनिक गरेको हो ।

एप्पलको नयाँ आइप्याड एयर यो कम्पनीको पहिलो यस्तो प्रडक्ट हो जसमा पहिलो पटक चिफ म्यानुफ्याक्चिरिङ प्रोसेसरको प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले प्रोसेसिङको पावर बढाउने छ ।

कम्पनीका अनुसार यसमा ए१४ प्रोसेसरबाट ४के भिडियो पनि आरामसँग एडिट गर्न सकिन्छ । सबैभन्दा आकर्षित विशेषता यसको टच आइडि पिंगरप्रिन्ट सेन्सर हो । यसमा युएसबी–सी पोर्ट छ । यो १०.९ इञ्चको डिस्प्ले स्क्रिनमा उपलब्ध हुनेछ ।

यसको शुरुवाती मूल्य ८७ हजार रुपैयाँ तोकिएको छ । तर नेपालमा आइपुग्दा भने यसको मूल्य अझ बढ्न सक्छ ।

यसका साथै कम्पनीले कम मूल्यको बेसिक आइप्याड पनि सार्वजनिक गरेको छ । जसमा पुरानो ए१२ चिपको प्रयोग गरिएको छ । जुन ४८ हजार रुपैयाँको शुरुवाती मूल्यमा उपलब्ध हुनेछ ।

कोरोना महामारीको शुरुवातसँगै बजारमा ट्याब्लेटको माग तीव्रगतिमा बढेको अनुसन्धानमा पाइएको थियो । मानिसहरु मनोरञ्जन, अनलाइन क्लास र रिमोर्ट वर्किङका लागि बढी प्रयोग गरिरहेको अनुसन्धामा पाइएको थियो ।

अनुसन्धानमा अप्रिलदेखि जुलाइ महिनासम्मको आँकडा हेर्दा ट्याब्लेटको माग १९ प्रतिशतले बढेको थियो । यसको फाइदा सामसुङ, अमेजन तथा हुवावे जस्ता कम्पनीलाई पनि भएको छ । तर बजारमा सबैभन्दा बढी बिक्री एप्पलको आइप्याडको छ । तर वार्षिक रुपमा हेर्दा एप्पलको आइप्याड बिक्री जम्मा २ प्रतिशतले मात्रै बढेको छ ।

एप्पल कम्पनीस्ले बुधबार मोबाइल अपरेटिङ सिस्टम आइओएस १४ सार्वजनिक गर्ने घोषणा गरिसकेको छ ।


क्लिकमान्डु