किन ढिला हुन्छ वर्ल्डलिंकको इन्टरनेट ? यस्तो छ कारण



काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले स्थापनाको २५ वर्ष पुगेको अवसरमा मंगलबार भर्चुअल कार्यक्रम गर्यो । कार्यक्रमको शुरुवातमा वर्ल्डलिंकका तर्फबाट वर्ल्डलिंकले यहाँसम्म आइपुग्दा गरेका संघर्ष प्रगतिका कथा सुनाइयो ।

वर्ल्डलिंकसँग जोडिएका विभिन्न व्यक्तित्वहरुले वर्ल्डलिंकको प्रसंशामा कैयन शब्दहरु पनि खर्चिए ।

दिउँसो साढे २ बजेदेखि शुरु भएको कार्यक्रममा करिब डेढ घण्टापछि पत्रकारहरुलाई प्रश्न सोध्न दिइयो । धेरैको प्रश्न थियो । किन इन्टरनेट स्लो हुन्छ ? किन पैसा तिरेर भने जतिको स्पिड आउँदैन ।

उत्तर दिन आए, कम्पनीका प्रबन्ध निर्देशक दिलिप अग्रवाल ।

उनले सबैभन्दा शुरुमा बचाउको भाषा प्रयोग गरे ।

भने, ‘नेपालमा इन्टरनेट प्रदायक सेवामध्ये सबैभन्दा धेरै वर्ल्डलिंककै प्रयोगकर्ता छन् । करिब ४ लाखभन्दा बढी प्रयोगकर्ता वर्ल्डलिंकका छन् भने दोस्रो ठूलो संस्थाका प्रयोगकर्ता डेढ लाखको हाराहारीमा छन्, यस्तो अवस्थामा प्रतिशतका हिसाबले उजुरी आउँदा पनि संख्या वर्ल्डलिंककै बढी हुन्छ ।’

उनले त्यति मात्रै भनेनन्, नेपालीहरुले सस्तो मूल्यमा इन्टरनेट पाएको र त्यत्तिनै पैसामा उच्चस्तरको सेवा खोजेको समेत बताए ।

‘नेपाली प्रयोगकर्ताहरुले अन्य देशको तुलनामा सस्तोमा इन्टरनेट प्रयोग गर्न पाइरहेका छन्, यस्तो अवस्थामा मूल्य अनुसारको इन्टरनेट दिएकै छौं’ उनले भने ।

उनका अनुसार ३० एमबीपीएसको इन्टरनेट प्रयोग गर्नका लागि विदेशबाट ल्याएर सेवा दिँदा प्रतिएमबीपीएस ५ डलर खर्चनु पर्छ । यस्तो अवस्थामा नेपालीले मासिक ३० एमबीपीएस इन्टरनेट प्रयोग गर्दा १५० डलर तिर्न सक्ने अवस्था छैन । कम्पनीले पनि धेरै पैसा लिन पाउँदैन ।’

त्यसैले मूल्य अनुसारको सेवा वर्ल्डलिंकले उपलब्ध गराएको उनले दाबी समेत गरे । साथै पछिल्लो समय कोभिडका कारण इन्टरनेटको प्रयोग बढेको भन्दै अहिले ४० देखि ५० प्रतिशत ब्यान्डविथ बढेको समेत जानकारी दिइयो । यस्तो अवस्थामा इन्टरनेट स्लो भएको हुन सक्ने उनले बताए ।

यत्तिकैमा पत्रकारका तर्फबाट अर्को प्रश्न तेर्सियो, सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली खाने पनि वर्ल्डलिंक नै छ । किन सेवा चुस्त बनाउन नसकेको हो ?

अग्रवालले यसको उत्तर दिँदै भने, हाम्रा धेरै ग्राहक छन् । ग्राहक धेरै भएपछि सामान्य गुनासाहरु आउनु स्वभाविक नै हो । तर समग्रमा भन्दा पनि व्यक्तिगत रुपमा केही प्रयोगकर्ताले स्लो इन्टरनेटको समस्या भोग्नु परेको हुन सक्छ । यसमा परिवारमा धेरै प्रयोगकर्ता हुँदा, राउटरबाट टाढा हुँदा यस्तो समस्या आउन सक्छ । साथै कहिले काँही कम्पनीको समस्या पनि हुन सक्छ । तर उक्त समस्या स्थायी भएको र लामो समयसम्म नभएको समेत दाबी गरे ।

सामाजिक सञ्जालमा आएका गालीका शब्दहरु सुन्ने हो भने कामै गर्न नसकिने भन्दै आफूले त्यसमा त्यत्ति ध्यान नदिएको समेत बताए ।

‘सामाजिक सञ्जालमा आएका गाली सुन्ने हो भने त काम नै छाडौं जस्तो हुन्छ तर त्यस्तो पनि होइन । हामी गुणस्तरीय सेवा दिनका लागि प्रतिबद्ध छौं, एकाध समस्या आएमा समाधानका लागि पनि प्रयासरत छँदैछौं,’ उनले भने ।


क्लिकमान्डु