भदौ २३ गतेदेखि २५ गतेसम्म राजस्व संकलन गर्ने बैंकका सबै शाखा खोल्नैपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन हुने बैंक तथा शाखाहरु भदौ २३ गतेदेखि २५ गतेसम्म खोल्नैपर्ने निर्देशन दिएको छ ।

निषेधाज्ञाका कारण सीमित शाखामा मात्रै सञ्चालन गरेका बैंकहरुले अब राजस्व संकलन हुने सबै शाखा खोल्नु पर्ने भएको हो ।

सोमबार राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ, ‘नेपाल सरकारको राजस्व बुझ्ने प्रयोजनका लागि मिति २०७७ भदौ २३, २४ र २५ गते नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण राजस्व संकलन गर्ने शाखा÷काउन्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लि. खुला गर्ने व्यवस्था मिलाउनु हुन यो सूचना जारी गरिएको छ ।’

हाल निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंकिङ सेवा प्रवाह गर्नका लागि बैंकहरुले सीमित कर्मचारीबाट सीमित शाखा कार्यालय सीमित समयका लागि सञ्चालन गरिरहेका छन् ।

राष्ट्र बैंकको उक्त निर्देशनसँगै ३ दिन राजस्व संकलन हुने सबै शाखाहरु सञ्चालन गर्नुपर्ने भएको छ ।


क्लिकमान्डु