एलजीले ल्यायो एयर प्यूरिफायर भएको विद्युतीय मास्क, मोबाइल एपबाट चलाउन मिल्ने



काठमाडौं । कोरोनाले संसारभर नै समस्या मात्रै खडा गरेको छैन । नयाँ नयाँ अवसर समेत पैदा गरिदिएको छ । नयाँ खालका खोज समेत यही बीचमा भएका छन् ।

भनिन्छ, आवश्यकताले नयाँ खोज जन्माइदिन्छ, सोच्ने तरिकामा बदलाव आउँछ । मानिसहरु केही न केही नयाँ गरौ र सोचौ भन्ने तर्फ लाग्छन् ।

त्यसैकारण भनिएको हो, विपदले आपत मात्रै होइन राहत पनि ल्याउँछ । मानिसले बाँच्नका लागि पनि नयाँ नयाँ खोेज गरिरहेकै हुन्छन् । यो सामाजिक नियम नै हो ।

सन् २०१९ को डिसेम्बरमा चीनको उहानमा कोरोना देखा परेपछिको हालसम्म संसारभर नै नयाँ नयाँ खालका खोज तथा अनुसन्धान भइसकेको छ ।

मानिसहरुले कोरोनाको नाममा राम्रै व्यापार व्यवसाय पनि गरेका छन् । उनीहरुले खोप समेत तयार पारिरहेका छन् । चीन, अमेरिका, बेलायत, रसिया जस्ता देशहरु कोरोनाको खोप पत्ता लगाउन र त्यसको व्यवसायिक उत्पादन शुरु गर्न लागिपरेका छन् ।

यसै क्रममा एक विद्युतीय सामान उत्पादक कम्पनीले मास्क उत्पादनमा नयाँ प्रयोग गरेको छ ।

कोरोनाबाट जोगिने विभिन्न उपायमध्ये मास्क पनि एक हो । छिमेकी भारतमा त एकजनाले सुनकै मास्क समेत बनाएको समाचार यसअघि नै सार्वजनिक भएको थियो । जापानमा विद्युतीय मास्क बनाएको जानकारी पनि आएको थियो ।

सोही क्रममा विद्युतीय सामान निर्माता कम्पनी एलजीले विद्युतीय मास्क बनाएको छ ।

उसले आफ्नो विद्युतीय मास्क समेत सार्वजनिक गरेको छ । सो मास्कमा एयर प्यूरिफायर रहेको छ । त्यसमा एउटा सानो आकारको पंखा समेत रहेको हुन्छ । त्यसले किटाणु मार्नका लागि मद्दत गर्नेछ । यस्तै यूभि एलइडी समेत रहेको छ ।

घरमा रहेको एयर प्यूरिफायरको जस्तै सानो आकारमा प्यूरिफायर जडान गरिएको छ ।

सो पंखाले श्वासप्रश्वासमा सहयोग गर्नेछ । मोबाइल एपमार्फत् उक्त मास्कको केही फिचर्स नियन्त्रण गर्न सकिने समाचार विवरणहरुमा जनाइएको छ ।

कोरोना महामारीको खता टरेको छैन, बरु बढिरहेको छ । दैनिक जसो नै कोरोनाका नयाँ नयाँ बिरामी देखा परिरहेका छन् ।

मृत्युदर पनि उत्तिकै मात्रामा बढीरहेको छ । संक्रमितको संख्या बढिरहेका बेला निको हुनेको संख्यामा पनि उस्तै वृद्धि भइरहेको छ ।

यी सबै विषयलाई ध्यानमा राखेर दक्षिण कोरियाको विद्युतीय सामान निर्माता कम्पनी एलजीले पोर्टेबल एयर प्यूरिफायर फेस मास्क सार्वजनिक गरेको हो ।

सो मास्कको खास विशेषता भनेकै के हो भने त्यसमा त्यस्तो फिल्टर राखिएको छ, जसमा घरमा जडान भएको एयर प्यूरिफायरको जस्तै प्रणाली हुन्छ । जबकी त्यसको आकार भने असाध्यै सानो र पालतो रहेको छ ।

मास्कमा राखिएको ब्याट्रीको सहयोगले पंखा चल्ने गर्दछ । त्यसमा श्वास लिनका लागि सहयोग मिल्नेछ । मास्कमा राखिएको ब्याट्रीले पंखा चलाउने र हावालाई स्वस्थ बनाएर श्वास लिन सहयोग गर्नेछ ।

फेस मास्कलाई यसरी डिजाइन गरिएको छ कि त्यसले पूरै अनुहार नै छोप्न सक्छ । राम्ररी नै अनुहारमा फिट हुने भएपनि श्वासप्रश्वासमा भने कुनै समस्या हुने छैन ।

एलजी एयर प्यूरिफायर मास्कको खास स्वरुप भने हालसम्म सार्वजनिक भएका मास्कको तुलनामा फरक रहेको छ ।

कम्पनीका अनुसार सो पोर्टेबल मास्कमा रहेको एयर प्यूरिफायरमा सेन्सर समेत जडान गरिएको छ । ऊक्त सेन्सरले शस प्रश्वास कसरी भइरहेको छ भनेर नै पंखाको गति समेत तल माथि गरिदिन्छ ।

सो मास्कमा रहेको प्यूरिफायरमा एच १३ एचइपिए फिल्टर्स तथा दुई वटा पंखा जडान गरिएको छ ।

कम्पनीले मानिसको अनुहारको सुक्ष्म अनुसन्धानपछि उक्त मास्कको डिजाइन गरेको हो । कम्पनीले मास्क यसरी डिजाइन गरेको छ कि नाक तथा चिउडोबाट कुनै पनि प्रकारको संक्रमण हुन नपाओस् ।

कम्पनीका अनुसार प्रयोगकर्ताको अनुहारमा लगाएपछि उक्त मास्कमा रहेको विद्युतीय उपकरणले संक्रमण हुने तथा बाहिरी तथा भित्री हावा समेत अनावश्यक रुपमा बाहिरने वा भित्रने सम्भावनालाई कम गरिदिन्छ । सो मास्क लगाएपछि कुनै पनि प्रकारको थकान तथा आलस्यपनालाई समेत कम गरिदिन्छ ।

सो मास्क मोबाइल एपलेले नै नियन्त्रण र सञ्चालन गर्न सकिन्छ । एपमा आवश्यमा परेको बेलामा फेसबुक तथा अन्य सामाजिक सञ्जालमा आउने जस्तै नोटिफिकेशन समेत उपलब्ध हुन सक्छ ।

मास्कमा ८२० एमएएच व्याट्री समेत जडान गरिएको छ । कम्पनीको दावी अनुसार मास्कमा जडान भएको व्याट्री लो मोडमा ८ घण्टासम्म र हाइ मोडमा २ घण्टासम्म चल्छ ।

मास्कमा रहेको यूभि एलइडी समेत रहेको छ । त्यसले खतरनाक किटाणु मार्न कामयावी हुनेछ । कम्पनीले उक्त विद्युतीय प्यूरिफायर चार्ज गर्ने उपकरण समेत दिनेछ ।

त्यसमा राखेर चार्ज समेत गर्न मिल्छ । तर हालसम्म उक्त मास्कको मूल्य के कति रहेको भन्ने बारेमा जानकारी दिइएको छैन ।

एकाध दिन भित्रै मास्कको मूल्य सहित सार्वजनिक रुपमा बिक्री वितरणमा ल्याउने तयारी गरिएको निर्माता कम्पनीले जनाएको छ ।


क्लिकमान्डु