चालु आवलाई विद्युत् खपत वृद्धि मनाउने कुलमानको घोषणा (पूर्णपाठसहित)



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु वर्षलाई विद्युत खपत वृद्धिको वर्षका रुपमा मनाउने घोषणा गरेका छन् ।

सोमबार प्राधिकरणको ३५औं वार्षिकोत्सवको अवसरमा आयोजित भचुर्अल कार्यक्रममा चालु वर्षमा ‘विद्युत खपत बढाऔं, इन्धनको परनिर्भरता घटाऔं’ भन्ने नाराका साथ प्रचारप्रसार गरिने बताए ।

कार्यक्रममा घिसिङले ४ वर्षे कार्यकालमा गरेका प्रगति विवरण समेत प्रस्तुत गरेका थिए ।

कुलमान घिसिङले राखेको मन्तव्यको पूर्णपाठ 
विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने उद्देश्यले २०४२ सालमा स्थापित नेपाल विद्युत प्राधिकरणले ३६औं वर्षमा प्रवेश गरेको छ । विगत ३५ वर्षमा बिभिन्न आरोह अबरोह पार गर्दै प्राधिकरण आजको अवस्थासम्म आइपुगेको छ । बर्षौंसम्म आफ्ना ग्राहकहरुलाई लोडसेडिङ गरी विद्युत आपूर्ति गर्नुपरेको तीतो अनुभब हामीले बिर्सन सकेका छैनौं । यद्यपी पछिल्लो ४ वर्षमा विद्युतको नियमित आपूर्ति गर्न र प्राधिकरणको आर्थिक अवस्थामा उल्लेख्य सुधार गर्न हामी सफल भएका छौं ।

मुलुकको सबैभन्दा ठूलो सार्वजनिक संस्थानको रुपमा रहेको नेपाल विद्युत प्राधिकरणको नेतृत्व गर्दै यस ३५औं वार्षिकोत्सवको अवसरमा संस्थाले गत वर्षभरीमा सम्पादन गरेका गतिविधिहरुबाट प्राप्त उपलब्धि र भावी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन यहाँहरुसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ । गत वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु अगाडि विगत चार वर्षमा हासिल गरेका मुख्य मुख्य उपलव्धिहरुलाई संक्षिप्तरुपमा प्रस्तुत गर्दछु ।

मुलुकले लामो समयदेखि बिगतमा व्यहोरेको दैनिक १४ घण्टासम्मको लोडसेडिङ अन्त्य भै अब अध्यारोतर्फ नफर्किने गरी उज्यालो युगमा प्रवेश गरेका छौं । यो हाम्रो सवैभन्दा महत्वपूर्ण उपलव्धि हो ।

चार वर्ष अगाडिसम्म संचित घाटा रु. ३४ अर्ब ६१ करोड र वार्षिक घाटा रु. ८ अर्ब ८९ करोड व्यहोरेको प्राधिकरणले त्यसयता निरन्तर नाफा गर्दै हाल रु. ४ अर्ब ८७ करोड सञ्चित नाफा र गत वर्ष मात्र रु. ११ अर्ब ५ करोड खुद नाफा कमाउन सफल भएको छ । कुनै वेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु पर्ने अवस्थामा पुगेको प्राधिकरण अहिले संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउदै आफै पनि पूर्वाधारमा लगानी गर्न सक्ने संस्थाको रुपमा स्थापित भएको छ ।

चार वर्ष अगाडि प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर गत वर्षसम्ममा १५.२७ प्रतिशतमा सीमित गर्र्न सफल भएको छ । यसबाट प्राधिकरणको वित्तिय अवस्थामा सुधार गर्न ठुलो सहयोग पुगेको छ ।

सरकारको हरेक घर परिवारमा विद्युतको पहुँच पुर्याउने लक्ष्य पूरा गर्न प्राधिकरण निरन्तर खटिरहेको छ । ग्रामीण विद्युतीकरण गर्ने कार्यलाई व्यापकरुपमा अगाडि वढाई ग्रीड प्रणालीको विद्युत्मा पहु“च पुगेको जनताको संख्या चार वर्षअघि करिब ६३ प्रतिशत रहेकोमा हाल करिब ८६ प्रतिशत पुर्याउन प्राधिकरण सफल भएकोछ ।

चार वर्ष अगाडि प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १३१ युनिट रहेकोमा त्यसयता विद्युत् खपत निरन्तर बढेर हाल प्रतिव्यक्ति विद्युत खपत २६० युनिट पुगेको छ ।

प्राधिकरणले ईतिहासमा पहिलोपटक आफ्नो मुनाफालाई कायम राख्दै उपभोक्ताको महशुल घटाउन सफल भएको छ । १० युनिटसम्म खपत गर्ने ग्राहस्थ उपभोक्तालाई ईनर्जी शुल्क निशुल्क गरेको र न्युनतम शुल्क रु. ३० मात्र तिर्नु पर्ने व्यवस्था गरेकोछ । समग्रमा ग्राहस्थ उपभोक्ताको महशुल करिव ८—९ प्रतिशतले घटेको छ । औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताहरुलाई लगाउंदै आएकोे डेडिकेटेड र ट्रंक लाईनको महंगो महशुल समेत हटाएको छ भने सामुदायिक खानेपानी, सिंचाई तथा विद्युतीय सवारी चार्जिङ स्टेसनको महशुल घटाएको छ । यसबाट विद्युत माग बढ्ने अपेक्षा गरिएको छ ।

देश जति वेला १४ घण्टासम्म लोडसेडिङमा थियो, मुलुकभित्रको कुल विद्युत् खपतको करिब ३५ प्रतिशत विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्थामा थियो । तर, विगत चार वर्षमा विद्युतको खपत करिब ७५ प्रतिशतले बढेको अवस्थामा पनि गत वर्ष आयातको प्रतिशत करिव २२ प्रतिशतमा मात्र सीमित राख्न सफल भएको छ । प्राधिकरणले विद्युत आयात गर्ने मात्र हैन निर्यात पनि शुरु गरेको छ । गत वर्ष १० करोड ७० लाख युनिट विद्युत् निर्यात गरेको छ । यसले देश विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको संकेत गर्दछ ।

देशभित्र ८०१ मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु संचालनमा रहेकोमा चार वर्षमा करिव ५७ प्रतिशतले बृद्धि भै १,२५७ मेगावाट पुगेको छ । करिव ६ हजार मेगावाटको विद्युत खरिद संझौता भएका नीजि कम्पनीहरु तथा प्राधिकरणका सहायक कम्पनीहरुबाट प्रवद्र्धित जलविद्युत आयोजनाहरु मध्ये करिव ३ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु निर्माणधीन रहेका छन् । जसमध्ये चालु आर्थिक वर्षमा करिव १,३०० मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु सम्पन्न हुने अपेक्षा गरिएको छ ।

चार वर्ष अगाडि २ हजार ९ सय ११ सर्किट किलोमिटर रहेको प्रसारण लाईन करिव ४७ प्रतिशतले वृद्धि भै हाल ४ हजार २ सय ७५ सर्किट किलोमिटर पुगेको छ । साथै ग्रीड सबस्टेसनहरूको क्षमता करिब २ हजार २ सय २३ एमभिए बाट करिव ८७ प्रतिशतले बृद्धि भै ४ हजार १ सय ६१ एमभिए पुगेको छ ।

नेपाल–भारतबीच करिब ३५० मेगावाट विद्युत् प्रवाह हुन सक्ने अन्तरदेशीय प्रसारण संरचना रहेकोमा अहिले प्रसारण क्षमता वृद्धि भई करिव १५०० मेगावाट पुगेको छ । न्यु बुटवल–गोरखपुर मैनहिया–सम्पत्तिया, इनरुवा–पूर्णिया, लम्की–बरेली, कोहलपुर–नानपारा जस्ता नेपाल भारत वीचको अन्तरदेशीय प्रसारण लाईनहरु अध्ययन एवं कार्यन्ययनको विभिन्न चरणमा रहेका छन् । नेपाल र चीनबीच रातोमाटे– रसुवागडी–केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि प्राधिकरण र स्टेट ग्रीड चाईनाबीच समझदारी पत्रमा हस्ताक्षर भई नेपालतिरको लाइनको सम्भाव्यता अध्ययन पूरा भएको छ ।

वितरण सवस्टेशनहरुको निर्माण तथा क्षमता अभिबृद्धि गरी करिव ४०१ एम.भि.ए. थप भै कुल क्षमता करिव १,७०१ एम.भि.ए. पुगेको छ । वितरण ट्रान्स्फर्मरको क्षमता करिव ३५ प्रतिशतले बृद्धि भै करिव ३,५०० एमभिए पुगेको छ । यसले गर्दा वितरण प्रणालीमा हुने ओभरलोड र कम भोल्टेजको समस्यामा कमी आएको छ । बढ्दो विद्युत् माग व्यवस्थापन, आपूर्तिमा विश्वसनीयता तथा गुणस्तर कायम गर्न काठमाडौं उपत्यकामा वितरण प्रणालीलाई भूमिगत गर्ने काम सुरु गरिएको छ । औद्योगिक तथा व्यापारिक ग्राहकका लागि स्मार्ट थ्री फेज मिटर जडान भइरहेको छ भने घरायसी ग्राहकका लागि स्मार्ट सिंगल फेज मिटर जडान कार्य शुरु गरिएको छ ।

सूचना प्रविधि मार्गचित्रलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याई ‘डिजिटल एनइए’ अवधारणाअनुरूप प्राधिकरणका हरेक क्रियाकलापलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कामको शुरुवात भएको छ । साथै संस्थागत सुशासन र आर्थिक अनुशासनलाई कडाईका साथ लागु गरिएको छ ।

हाम्रा निरन्तर ईमान्दार प्रयासहरुका वावजुद विविध कारणहरुले गर्दा केही निर्माणाधीन आयोजनाहरु समयमा सम्पन्न हुन सकेको छैन । यसले गर्दा संस्थाले गरेका कैयौ राम्रा कामहरु ओझेलमा पर्ने सम्भावना पनि बढेको छ । यसैले आगामी दिन हाम्रो लागि अझ चुनौतिपुर्ण रहेको छ ।

देशले निकट भविष्यमै आर्थिक उन्नति हासिल गर्ने दिशामा राज्यका समग्र काम कार्बाहीहरु योजनाबद्धरुपमा अघि बढिरहेको अवस्थामा कोभिड–१९ को संक्रमणको कारण हामी सबै प्रभाबित हुन पुगेका छौं । यस बिषम परिस्थिति र नेपाल सरकारले जारी गरेको बन्दाबन्दीमा समेत ग्राहकहरुलाई नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । यस प्रतिकुल अवस्थामा पनि प्रभावकारी भूमिका निर्बाह गर्ने सम्पूर्ण कर्मचारीहरुको उच्च मूल्यांकन र प्रशंसा गर्दै आगामी दिनमा समेत हाम्रा सामु देखिएको चुनौतिलाई चिर्दै सामुहिक एकता र उच्च मनोबलका साथ आफ्नो भूमिका निर्बाह गर्न आब्हान गर्दछु ।

पर्याप्त सुरक्षा अपनाउँदा अपनाउँदै पनि गत वर्ष कर्तव्य निर्वाहको क्रममा प्राधिकरणका केहि कर्मचारीहरु घाईते, अङ्गभङ्ग हुनुका साथै केहिको दुखःद् निधनसमेत भएको छ । आफ्नो कर्तब्य पालना गरिरहदा कोभिड–१९ संक्रमणकै कारणले प्राधिकरणले आफ्नो परिवारको एक सदस्य गुमाउनु परेकोमा हामीलाई थप मर्माहत बनाएको छ । दिवंगत कर्मचारीहरुप्रति म व्यक्तिगत र संस्थाको तर्फबाट चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा भाबपूर्ण समबेदना ब्यक्त गर्दछु । आगामी दिनमा यस किसिमका घटनाहरु हुन नदिन पर्याप्त सुरक्षाका उपायहरु अवलम्वन गरी उच्च सर्तकताका साथ कार्यक्षेत्रमा खटिने ब्यवस्था मिलाइने प्रतिबद्घता व्यक्त गर्दछु ।

नेपाल विद्युत प्राधिकरणले आ.ब. २०७६।७७ मा गरेका कार्यहरुको समीक्षा एवं भाबी कार्यदिशा समेतका बिस्तृत बिबरणहरु प्राधिकरणकै मुखपत्रहरु र राष्ट्रिय दैनिकहरु तथा भरखरै प्रसारित बृत्तचित्रमा समेत प्रकाशित भइसकेको हुंदा अब म यहांहरुसमक्ष त्यसका केही मुख्य अंशहरुलाई संक्षेपमा प्रस्तुत गर्न गइरहेको छु ।

संचालन उपलब्धि
नेपाल विद्युत प्राधिकरणको उपभोक्ता संख्यामा बर्षेनी क्रमिकरुपले बृद्घि हुँदै गइरहेको छ । अघिल्लो आ.व. सम्मको ग्राहक संख्या ३९ लाख १० हजारमा ७.८८ प्रतिशतले बृद्घि भई गत आ.व. ०७६।७७ सम्ममा ४२ लाख १८ हजार पुगेको छ । सामुदायीक ग्रामीण विद्युतीकरणबाट विद्युत सेवा उपयोग गरिरहेका ग्रामिण भेगका करिव ५ लाख ७० हजार ग्राहक समावेस गर्दा यो सँख्या झण्डै ४८ लाख पुगेको छ ।

प्रणालीमा उपलब्ध विद्युतको परिमाण आ.व.०७५।७६ को ७ अर्व ५५ करोड १० लाख युनिट भन्दा २.५१ प्रतिशतले बढी अर्थात ७ अर्व ७४ करोड १० लाख युनिट पुगेको छ । प्रणालीमा उपलब्ध विद्युतमा प्राधिकरणको उत्पादन केन्द्रबाट उत्पादित, भारतबाट आयातित र निजी क्षेत्रका प्रबद्र्घकबाट उत्पादित विद्युतको हिस्सा क्रमशः ३९.०२ प्रतिशत, २२.३४ प्रतिशत र ३८.६४ प्रतिशत रहेको छ ।

वित्तीय उपलब्धि
आ.व.०७६/७७ मा प्राधिकरणको खुद मुनाफा रु.११ अर्ब ५ करोड ९कर अघि० रहेको छ । जुन अघिल्लो आ.व. ०७५।७६ को रु.९ अर्व ८१ करोडको तुलनामा १२.६४ प्रतिशतले बढी छ । प्राधिकरणको आ.व.०७५।७६ सम्मको संचित नोक्सानी रु.१२ अर्व २३ करोड रहेकोमा आ.व.०७६/७७ मा संचित मुनाफा रु.४ अर्व ८६ करोड आर्जन गर्न सफल भएको छ ।

आ.व. ०७६/७७ मा अन्य आय बाहेकको प्राधिकरणको आम्दानी रु.७३ अर्व ७६ करोडमा संचालन खर्च रु.५८ अर्व ६ करोड कट्टा गर्दा संचालन मुनाफा रु.१५ अर्व ६९ करोड हुन आएकोे छ । जुन आ.व. ०७५/७६ को संचालन मुनाफा रु.१२ अर्व ५ करोडको तुलनामा ३०.२१५ ले बढी हो ।

प्रशासनिक गतिविधि
कर्मचारीको बृत्ति बिकास र सेवा सुविधालाई ध्यानमा राखी नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ मा संशोधन गरिएको छ । प्राधिकरणको साङ्गठनिक तथा दरवन्दी सँरचनामा समयानुकुल सुधार गर्न गठित उपसमितिले अध्ययन सम्पन्न गरी प्रतिवेदन पेश गरिसकेको छ ।

आ.व.०७६/७७ मा विभिन्न तहमा ११४ जना नयाँ कर्मचारी नियुक्त भएका छन् भने ४७० जना कर्मचारीहरु विभिन्न तहमा बढुवा भएका छन् । बिभिन्न तहमा रिक्त १०९३ पद संख्या लोक सेवा आयोगको पदपूर्तिको प्रक्रियामा रहेका छन् । आ.व.०७६/७७ मा कुल ४६५ जना कर्मचारीले अवकाश प्राप्त गरेका छन् ।

कर्मचारीका सेवा सुविधा
प्राधिकरणको वार्षिक खुद मुनाफा एवम् कार्यसम्पादन मूल्यांकनका आधारमा कर्मचारीहरुको सेवा सुविधामा समय सापेक्ष पुनरावलोकन गर्दै जाने नीति लिइएको छ । तर कोभिड १९ संक्रमणको जोखिम, यसले आगामी दिनमा पार्न सक्ने प्रभाब, स्वास्थ्य सामग्रीहरुको नियमित खरिद, संक्रमितको परीक्षण, उपचार, सरकारी नीति आदिका कारण यस वर्ष कर्मचारीको सेवा सुबिधामा उल्लेख्यरुपमा पुनरावलोकन हाल गर्न नसकिए तापनि समय र परिस्थिति अनुकुल भएपछि कर्मचारीका बिभिन्न सेवा सुविधाहरु आवश्यकतानुसार बृद्धि गर्दै लगिनेछ ।

यद्यपि उपलब्ध जनशक्तिलाई उत्प्रेरित गराई गुणस्तरीय नतिजा निकाल्न हामीले कार्य प्रकृति र कार्यसम्पादनमा आधारित भई कर्मचारीलाई प्रोत्साहन भत्ता एवं सुविधा दिने व्यवस्था गरेका छौं ।

सबै ब्यवसाय तथा प्रधान कार्यालयमा समेत कार्य प्रकृति एवं कार्यप्रगति र कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता लागू गरिएको छ ।

कोभिड १९ को जोखिमपूर्ण अवस्थालाई मध्यनजर गरी कर्मचारीले आलोपालो गरी काम गर्ने, कर्मचारीले आफ्नै निबास वा पायक पर्ने कार्यालयमा बसी कार्य गर्ने सुविधा दिइएको छ ।

कोभिड १९ को जोखिमपूर्ण अवस्थामा कार्य क्षेत्रमा खटिने बिभिन्न कार्यालय तथा आयोजनामा खटिने कर्मचारीहरुलाई २० देखि ५० प्रतिशतसम्म थप भत्ता दिने निर्णय भएको छ । त्यस्तो भत्ता कार्यक्षेत्रमा खटिने प्राधिकरणका स्थायी कर्मचारीका अतिरिक्त अस्थायी, म्यादी, ज्यालादारी र सेवा करारका जनशक्तिलेसमेत प्राप्त गर्नेछन् ।

प्राधिकरणका स्थायी, म्यादी र ज्यालादारीलगायत सम्पूर्ण कर्मचारीहरुको रु.१ लाखसम्मको कोबिड बीमा गरिएको छ ।

कुनै कर्मचारीलाई कोभिड १९ को संक्रमण भएमा प्राधिकरणको खर्चमा निशुल्क स्वास्थ्य परीक्षणका साथै हस्पिटलमा वेड उपलव्ध नभएमा छुट्टै आइसोलेसन र क्वारेन्टिनमा राख्ने प्रबन्ध मिलाउने निर्णय सञ्चालक समितिबाट भै सकेको छ । कोभिड १९ को कारणले मृत्यु हुने कर्मचारीलाई छुट्टै आर्थिक सहयोग गर्ने सम्वन्धमा संचालक समितिमा छलफल भैरहेकोले यथाशिघ्र आवश्यक निर्णय गरिने छ ।

प्राधिकरणबाट संचालित आयोजनाहरु
वि.सं.२०७२ को बिनाशकारी भूकम्प र लगत्तैको तराई बन्दको कारण प्रभाबित ६० मेगावाटको त्रिशुली ३ए जलविद्युत आयोजना सम्पन्न भई सम्माननिय प्रधानमन्त्रीज्यूबाट १८ नोभेम्बर २०१९ मा समुदघाटन् भयो । यस्तै १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट ११ अक्टोबर २०१९ देखि पूर्णक्षमतामा विद्युत उत्पादन भई रहेको छ ।

कोशी, सोलु, मस्र्याङ्दी, चिलिमे, कालिगण्डकी, तामाकोशी सुनकोशी आदि नदी करिडोरहरुमा निर्माणाधीन प्रसारण लाईनहरु चालु आ.व.भित्र सम्पन्न हुने गरी कार्य भइरहेका छन् ।

प्राधिकरणका सहायक कम्पनीबाट सञ्चालित आयोजनाहरु
प्राधिकरणले प्रथम पटक सहायक कम्पनी स्थापना गरी सोमार्फत चिलिमे जलविद्युत आयोजनाको निर्माण र कार्यान्वयन गर्दा प्राप्त गरेको सफलताबाट उत्साहित हुँदै प्रभाबकारीरुपमा जनसहभागिता अभिवृद्धि गर्न र स्वदेशी पूँजी परिचालन गर्ने उद्देश्यले प्राधिकरणले बिभिन्न सहायक कम्पनीहरुमार्फत बिभिन्न आयोजनाहरुको बिकास निर्माण गरेको छ ।

माथिल्लो तामाकोशीको काम अन्तिम चरणमा पुगेको छ । मंसिरभित्रै पहिलो युनिट संचालनमा ल्याउने गरी कार्य भैरहेको छ । यो बीचमा रसुवागडी १११ मेगावाट, मध्यभोटेकोशी १०२ मेगावाट र सान्जेन ६० मेगावाटका जलविद्युत आयोजनाहरु चालु आर्थिक वर्षको अन्त्यसम्ममा संचालनमा ल्याउने गरी काम भैरहेको छ । राहुघाट जलविद्युत आयोजना ४० मेगावाट, तनहुँ जलाशययुक्त जलविद्युत आयोजना १४० मेगावाट, अप्पर त्रिशुली ३ बी जलविद्युत आयोजना ३७ मेगावाटको निर्माण चालु रहेको छ ।

त्यस्तै तामोकोशी ५ (९९ मेगावाट) र दुधकोशी जलाशययुक्त आयोजना (६३५ मेगावाट) को विस्तृत डिजाईन सम्पन्न गरी वित्तिय व्यवस्थापन सम्पन्न गर्ने चरणमा रहेको छ । माथिल्लो अरुण (१०६० मेगावाट) को सम्भाव्यता अध्ययन पुरा हुने चरणमा रहेको छ । मोदी (६० मेगावाट) र चैनपुर सेती जलविद्युत आयोजना (२१० मेगावाट) को विस्तृत संभाव्यता अध्ययन सम्पन्न भैसकेको छ । उत्तरगंगा जलाशययुक्त आयोजनाको विस्तृत डिजाईन कार्यको लागि परामर्शदाता छनौट कार्य भैरहेको छ ।

परामर्श सेवा प्रदान गर्ने उद्देश्यले स्थापित चिलिमे इन्जिनियरिङ्ग एण्ड सर्भिसेज कम्पनी र एनईए इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले बिभिन्न आयोजनाहरुको सम्भाव्यता, बिस्तृत अध्ययन तथा आयोजना सुपरिवेक्षण गर्ने कार्य प्रभावकारी रुपमा गरिरहेका छन् ।

अन्तर्देशीय विद्युत व्यापार
अन्तरदेशीय विद्युत व्यापारको लागि महत्वपूर्ण मानिएको ढल्केवर सवस्टेशनमा ४००÷२०० के.भी., ३१५ एम.भी.ए क्षमताको ३ थान ट्रान्सफर्मर जडान गर्ने कार्य अगष्ट २०२० मा सम्पन्न हुँदैछ । विशेष सुरक्षा प्रणाली तथा सूचना प्रणाली जडान गरी नेपालको राष्ट्रिय प्रसारण ग्रिड र भारतको प्रसारण ग्रिड सिङ्क्रोनाइजेशन गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।

अत्पकालिन, मध्यकालिन र दिर्घकालिन विद्युत व्यापार लगायत डे अडेड मार्केट र टर्म अहेड मार्केटमा सहभागी हुने र अन्य सबै किसिमको अन्तर्देशिय विद्युत व्यापार गर्न नेपाल सरकारबाट प्राधिकरणलाई पूर्व स्वीकृति प्राप्त भएको छ । अब भारत सरकारको सहमति पश्चात प्राधिकरणले नेपालमा उपभोग हुन नसक्ने अतिरिक्त ऊर्जा सम्वन्धित पक्षसँग समन्वय गरी विद्युत भारतीय वजारमा विक्री गर्न सक्नेछ । सो व्यवस्थाले नेपाल र भारत बीचको अन्तर्देशिय विद्युत व्यापारमा नयाँ युगको शुरुवात भएको र यसबाट दुबै देशले मौजुदा प्रसारण क्षमताको उपभोग, प्रविधि हस्तान्तरण, प्रणाली सन्तुलन लयायतका विविध विषयमा प्रचुर फाईदा लिन सक्ने अवस्था सिर्जना भएको छ ।

भावी कार्यदिशाः
विद्युत् उत्पादन तथा आपुर्तिमा नेपाल आत्मनिर्भर बन्ने दीर्घकालीन लक्ष्य प्राप्त गर्ने दिशातर्फ नेपाल अगाडि बढेको अवस्थाले हामीलाई हौसला प्राप्त भएको छ ।

कोभिड–१९ माहामारीको कारण संस्थाको नियमति काम कारवाही तथा आयोजनाको निर्माण कार्यहरु प्रभावित हुँदा आगामी दिनमा केही चुनौतीहरु देखिएका छन् ।

नेपाल विद्युत प्राधिकरणको पुर्नसंरचनाको प्रारम्भिक ढाँचासहित प्राधिकरणको संस्थागत विकास योजना, २०७६ प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत भैसकेकोले सोहीबमोजिम प्राधिकरणका समग्र कामकारबाहीहरु एकीकृत र व्यवस्थितरुपमा सञ्चालन गरिने छ ।

कर्मचारी लगायत सम्वन्धित पक्षसँगको सहकार्य र सहमतिमा सबैले अपनत्व लिने गरी एवम् कर्मचारीहरुको सेवाको सुरक्षा र सुविधाको सुनिश्चित गरी प्राधिकरणको संस्थागत पुर्नसंरचना गरिने छ । प्राधिकरणका समग्र काम कारबाहीहरु स्वचालित र डिजिटल बनाइने छ ।

प्राधिकरणका परम्परागत कार्यपद्धतिलाई विस्थापित गरी समग्र काम कार्बाहीहरु स्वचालित र डिजिटलाइजेसन गरिनेछ ।

करिव १,३०० मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु आव २०७७/७८ मा निर्माण सम्पन्न भई सञ्चालनमा आउने हुँदा प्राधिकरणको आर्थिक अबस्थालाई प्रतिकुल प्रभाव पर्न नदिन उत्पादित विद्युत स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत अन्तर्देशीय बजारमा बिक्रि गर्न बजारको अध्ययन, बिस्तार र पूर्वाधार निर्माण गरिने छ ।

स्वदेशमा विद्युतको खपत बृद्धि गर्न सवारी साधन चार्जिङ्ग स्टेशनहरुको निर्माण गरी विद्युतीय सवारी साधनको प्रबद्र्घन गर्ने, लिफ्ट इरिगेशनलाई बढावा दिने र खाना पकाउने ग्यासलाई वद्युतीय चुलोले प्रतिस्थापन गर्ने जस्ता कार्यक्रम अगाडि बढाई यस वर्षलाई विद्युत खपत वृद्धिको वर्षको रुपमा घोषणा गरी विविध कार्यक्रमहरु सञ्चालन गरिने छ । यसका लागि ‘विद्युत खपत बढाऔं, इन्धनको परनिर्भरता घटाऔं’ भन्ने सन्देश सहित प्रचार प्रसार गरिने छ ।

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट जारी श्वेतपत्र, २०७५ मा ऊर्जा क्षेत्रको आगामी दशकको मार्ग चित्र स्पष्ट कोरिएकोले यसलाई मुल दस्तावेज मानीे ऊर्जा विकासका लागि प्राधिकरणले भावी क्रियाकलापहरु अगाडि बढाउने छ ।

प्राधिकरणले आगामी वर्षहरुमा पनि खर्च कटौती गर्ने, आम्दानी बढाउने, चुहावट घटाउने, खपत बढाउने, उत्पादन बढाउने, महशुल घटाउने, आयात घटाउने र निर्यात बढाउने कार्य प्रभावकारीरुपले सम्पादन गर्नेछ ।

संस्थाभित्रको आर्थिक पारदर्शीता, जवाफदेहिता र सुशासनलाई कठोरताका साथ लागू गरिने छ । नियमित, भरपर्दो, गुणस्तरिय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन अहोरात्र खट्ने प्रतिबद्धतासहित नेपाल विद्युत प्राधिकरण उज्यालो नेपालको सम्वाहकको रुपमा निरन्तर खटिरहने छ । हाम्रो हरेक प्रयास अझ राम्रो र सक्षम नेपाल विद्युत प्राधिकरणको निर्माणमा केन्द्रीत हुनेछ ।

आभार
नेपाल विद्युत प्राधिकरणलाई राष्ट्र निर्माणको आधार एवम् जनताको भरोसाको केन्द्रबिन्दुको रुपमा स्थापित गर्न हरबखत मार्गनिर्देश प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

नेपाल विद्युत प्राधिकरणलाई हरदम सही दिशानिर्देश गरी सफल संस्थाको रुपमा विकास गर्न बहुआयामिक, गतिशिल एवम् सक्रिय नेतृत्व प्रदान गर्नुहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् प्राधिकरण संचालक समितिका अध्यक्ष माननीय श्री वर्षमान पुन ‘अनन्त’ ज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

प्राधिकरणलाई निरन्तर मार्गनिर्देश गरी तोकिएका लक्ष्यहरु प्राप्त गर्न सहयोग गर्नु हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री दिनेशकुमार घिमिरेज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

संस्थाको कार्यकुशलता र प्रभावकारीता अभिवृद्धि गरी समयसापेक्ष नीतिगत निर्णय गर्न र प्रभावकारीरुपमा सेवा सञ्चालन गर्नसमेत अमूल्य सहयोग र सुझावका साथै महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्राधिकरण सञ्चालक समितिका सदस्यज्यूहरुप्रति आभार व्यक्त गर्दछु ।

ऊर्जा क्षेत्रको विकासका लागि संरक्षकत्व प्रदान गर्दै निरन्तररुपमा आवश्यक सहयोग र समन्वय प्रदान गर्ने नेपाल सरकार, प्रदेश सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयहरु राष्ट्रिय योजना आयोग एवम् सम्बद्ध सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

हाम्रा नियमित काम कारबाहीहरुलाई अनुगमन, पुनरावलोकन र समर्थन गरी सहयोग गर्नुहुने संसदीय समितिहरु, संबैधानिक निकायहरु र विद्युत नियमन आयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

प्राधिकरणको क्षमता अभिवृद्धि र संस्थाबाट सञ्चालित विकास निर्माणमा निरन्तर सहयोग पुर्याउनु हुने सबै अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई धन्यवाद दिन चाहन्छु ।

प्राधिकरणका विभिन्न काम कारबाहीहरुमा संलग्न भई सहयोग गर्नुहुने महालेखा परीक्षक, स्थानीय तह, सार्वजनिक निकायहरु, बैंक तथा वित्तीय संस्था, प्रवद्र्घक, परामर्शदाता, निर्माण व्यावसायी तथा आपूर्तिकर्ता समेतलाई धन्यवाद दिन चाहन्छु ।

प्राधिकरणका नियमित काम कारबाहीहरुको यथार्थ सूचना संप्रेषण गरी सहयोग पु¥याउनु हुने सञ्चार गृह तथा पत्रकार मित्रहरुमा विशेष धन्यवाद दिन चाहन्छु ।

कोभिड–१९ संक्रमणको जोखिमलगायत जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक प्राधिकरणका हरेक कार्यहरुमा एकताबद्ध भई संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि समर्पित सम्पूर्ण कर्मचारीहरु एवम् आधिकारिक तथा क्रियाशिल ट्रेड युनियनहरुलाई धन्यवाद दिन चाहन्छु ।

कठिन परिस्थितीमासमेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तररुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आम जनता, उपभोक्ता एवम् विभिन्न व्यावसायिक संस्थाहरुप्रति विशेष आभार प्रकट गर्दै आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भब प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्दछु ।

अन्त्यमा, नेपाल विद्युत प्राधिकरणको कार्यसम्पादन र उपलब्धिमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नुहुने सबैप्रति पुनः एकपटक हार्दिक आभार व्यक्त गर्दै सबैको निरन्तर सहयोग र समर्थनबाट प्राधिकरणले उज्यालो नेपालको संवाहकको रुपमा नेपालको उर्जा बिकासका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नमा उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास ब्यक्त गर्दछु ।

धन्यवाद !


क्लिकमान्डु