वैदेशिक रोजगारीमा गएका नेपालीले ५ लाखसम्म लगानी गर्न पाउने, रेमिट हाइड्रोको काम शुरु



काठमाडौं । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ ? विदेशमा बसेर तपाईले दुःख गरेर कमाएको पैसा बुढेसकालमा पनि आर्थिक उपार्जन हुने काममा खर्च गर्ने सोच राख्नुभएको छ ? यदि छ भने तपाईका लागि लगानीको अवसर छ ।

विदेशमा बसेर कमाएको पैसा अनावश्यक रुपमा खर्च भइरहेको र उपभोग्य वस्तुको खरिदमा मात्रै खर्च भइरहेको छ भने त्यसलाई रोक्नका लागि पनि केही न केही आर्थिक उपार्जन हुने काममा लगानी गर्नै पर्छ भन्ने लाग्छ भने सरकारले अवसर दिने भएको छ ।

सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई २ महत्वपूर्ण जलविद्युत् आयोजनामा कम्तीमा ५ लाख रुपैयाँसम्म लगानी गर्ने वातावरण तयार पारेको छ ।

‘विदेशको कमाई स्वदेशमा लगानी गरौँ र आयोजनाबाट आउने प्रतिफल पेन्सनका रुपमा उपभोग गरौँ’ भन्ने ध्येयका साथ सरकारले ‘रेमिट हाइड्रो’को अवधारणा अगाडि बढाएको हो ।

ताप्लेजुङमा निर्माण हुने धुन्साखोला र सिम्बुवा खोला जलविद्युत् आयोजनामा रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको सेयर प्रतिशत यसअघि प्रस्ताव गरिएभन्दा थप बढाउने तयारीसमेत गरिएको छ ।

सरकारको तयारी अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको बढीभन्दा बढी लगानी रहने गरी लगानी ढाँचा तय गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ती दुवै आयोजनाको निर्माण र सञ्चालनको जिम्मेवारी जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) लाई दिएको छ । सो कम्पनीले सहायक कम्पनी रेमिट हाइड्रो स्थापना गरी काम अगाडि बढाएको छ ।

विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषणको लगानी गर्ने गरी ७७.५ मेगावाटको धुन्सा र ७०.३ क्षमता सिम्बुआ जलविद्युत् आयोजना निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो ।

ती आयोजनालाई ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रममा समावेश गरिएको छ ।

ती दुवै आयोजनाका लागि यसअघि ३० प्रतिशत लगानी विप्रेषण र बाँकी ७० प्रतिशत बैंक तथा वित्तीय संस्था, विकास साझेदार, स्थानीय बासिन्दा र सर्वसाधारण लगायतबाट जुटाउने गरी लगानी अवधारणा तयार पारिएको थियो ।

विदेशमा बस्ने प्रत्येक नेपालीले ५ लाख रुपैयाँ लगानी गर्ने गरी मोडालिटी तयार पारिने भएको छ ।

‘विदेशमा बस्ने नेपालीका लागि अहिले प्रस्तावित शेयर कम भएको महसुस भएको छ, यसलाई बढाएर कम्तीमा इच्छुकले प्रतिव्यक्ति ५ लाख लगानी गर्न सक्ने व्यवस्था मिलाइयो भने त्यसैबाट आउने मासिक आम्दानीले उसको घर चल्छ र फेरि विदेश जानुपर्ने बाध्यता हट्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको भनाइ छ ।

धुन्सा र सिम्बुवा खोला आयोजना निर्माणको लगानी ढाँचा नै विप्रेषण भएकाले बढीभन्दा बढी विदेशमा रहेका नेपालीलाई त्यसमा समेटिने र उनीहरु स्वदेश फर्केपछि पेन्सनकै रुपमा नियमित आम्दानीको स्रोतसमेत हुने गरी लगानी गर्न दिने तयारी गरिएको मन्त्री पुनको भनाइ छ ।

ती दुवै आयोजनाको विस्तृत इन्जिनीयरिङ अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम हाल अन्तिम चरणमा छ । आयोजनाको लगानी स्वीकृतिका लागि लगानी बोर्डमा पठाइएकोे छ । दुवै आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गर्न भने बाँकी छ । दुवै आयोजना निर्माणका लागि कूल २१ अर्ब रुपैयाँ लगानी हुने अध्ययनले देखाएको छ ।


क्लिकमान्डु