माथिल्लो तामाकोशीः कात्तिकमा सकिन मुस्किल, लागत बढेर ७८ अर्ब पुग्यो



काठमाडौं । तोकिएको समयमा आयोजना पूरा हुन नसक्दा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत वर्षेनी बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा मात्रै सरकारले आयोजनाका लागि १२ अर्ब बराबरको दीर्घकालीन ऋण उपलब्ध गराएको थियो ।

नेपाल विद्युत् प्राधिकरणबाट उपलब्ध गराइएको उक्त दीर्घकालीन ऋण यसअघि प्रदान गरिए जस्तै ऋण हो । यस्तै, प्राधिकरणले सो आवमा मात्रै २ अर्ब बराबरको अल्पकालीन ऋण प्रदान गरेको छ । सो आवमा मात्रै आयोजनालाई १४ अर्ब बराबरको ऋण उपलब्ध भएको छ ।

यी सबै ऋण तथा आयोजना कहिले सकिने हो भन्ने अनिश्चितताका कारण लागत बढेर गत असार मसान्तसम्ममा ७८ अर्ब ४९ करोड २९ लाख ३५ हजार ४२३ रुपैयाँ बराबर पुगेको छ ।

आयोजनाको कूल सम्पत्ति भने पनि लागत भने हालसम्म एउटै भएकाले समय बढ्दै जाँदा लागत समेत बढेको देखिएको छ । कूल इक्विटीका रुपमा आयोजनाले २०७६ असार समान्तसम्म ६९ अर्ब ४६ करोड ६१ लाख ४५ हजार ७९४ बराबर रहेको देखाएको थियो ।

त्यस्तो कूल इक्विटी भने २०७७ असार मसान्तसम्म आइपुग्दा झण्डै ९ अर्ब रुपैयाँले बढेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना सम्पन्न नभएका कारण विद्युत् उत्पादन शुरु हुन सकेको छैन ।

विद्युत् उतपादन नै शुरु नभएपछि आयोजनाले आम्दानी समेत गर्न सक्ने अवस्था रहेको छैन ।

आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । सबैभन्दा जटिल मानिएको २ वटा ठाडो सुरुङमा पाइप जडानको काम सम्पन्न भएपनि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको झण्डै १०० मिटर बराबरको क्षेत्रमा ठूला आकारका पाइप जडान गर्नुपर्ने काम बाँकी रहेको छ । ती पाइप भारतको कलकात्तामा नै रहेको छ । ती पाइप नआइपुगेका कारण पनि आयोजनाको काममा पछिल्लो समयमा अवरोध पैदा भएको छ ।

विविध कारणले आयोजनाको लागत बढ्न जाँदा सम्पन्न गर्ने समय र लागत समेत बढ्न गएको छ । मुख्य गरी निर्माण अवधिको व्याज, नेपाली मुद्राको सटही दरको अवमूल्यनले गर्दा हुने थप व्ययभार र अन्य खर्च समेत बढेकाले सञ्चालन खर्च मात्रै बढ्ने देखिएको छ । तर, विद्युत् बिक्रीबाट हुने आम्दानीमा वृद्धि नहुने कारणले गर्दा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाह घट्न जाने अवस्था रहेको छ ।

पछिल्लो कार्यतालिका अनुसार २०७७ कात्तिकदेखि आयोजनाले विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । पहिलो चरणमा एउटा यूनिटबाट विद्युत् उत्पादन शुरु गर्ने र क्रमशः आगामी माघसम्म पूर्ण क्षमतामा नै विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

कोरोना भाइरसकका कारण आयोजनाको काम केही प्रभावित हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै बढेर गएको छ । महामारीका कारण परामर्शदाता नेपाल आउन सकेका छैनन् । यस्तै भारतीय कम्पनी टेलम्याकाले जिम्मा लिएको लट २ को ठेक्कासँग जोडिएको सामानको ढुवानीमा समेत जटिलता पैदा भएको छ ।

आयोजनाको प्रतिसेयर आम्दानी गत असार मसान्तमा मात्रै ०.६६ पैसा मात्रै रहेको छ । गत आवमा त्यस्तो आम्दानी ०.५० मात्रै रहेको थियो । प्रतिसेयर नेटवर्थ ९३.३२ रहेको छ । प्रतिसेयर सम्पत्तिको मूल्य भने ७४१.२० रहेको छ ।


क्लिकमान्डु