सानो लगानीमा शुरु गर्नुहोस् यी १९ व्यवसाय, आम्दानी मनग्गे



काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण यतिबेला विश्व आक्रान्त छ । नेपाल पनि यसबाट अछुतो छैन । महामारीका कारण विश्वका करोडौं मानिसको स्वास्थ्य महामारीका कारण जति जोखिममा परेको छ त्यत्ति नै जोखिम आर्थिक क्षेत्रमा पनि परेको छ ।

सरकारले चैत महिनादेखि साउनसम्म गरेको लकडाउका कारण नेपालमा धेरैले रोजगारी गुमाए, कतिले सीमित तलबमा मात्रै काम गर्न बाध्य भए । वैदेखिक रोजगारीमा गएकाहरु पनि बेरोजगार भइ स्वदेश फर्कनु पर्ने अवस्था आएको छ ।

कोरोना भाइरसकको महामारीले झण्डै ७ महिना आक्रान्त बनाइसकेको छ भने अझै लामो समयसम्म यसको असर पर्ने देखिन्छ । त्यसैले यस्तो अवस्थामा रोजगारीको सम्भावना पनि कम हुन जान्छ । तर महामारीकै बीच पनि आर्थिक गतिविधि तंग्रिन थालेको छ । होटल रेष्टुराँ, उद्योगहरु खुल्न थालेका छन् । जोखिमबीच पनि मानिसहरु आर्थिक गतिविधिलाई विस्तारै बढाउँदै लगेको छ ।

यस्तोमा तपाई पनि उद्यमी बन्न सक्नुहुन्छ । तपाईले घरमा नै बसीबसी थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सक्नुहुन्छ । केहीले यही बन्दाबन्दीबीच इकमर्स जस्ता नयाँ व्यवासयमा शुरु गरेका छन् ।

लकडाउनको समयलाई सदुपयोग गरेर तपाईले आफ्नै घरमा मेसिन ल्याएर व्यवसाय गर्न सकिन्छ । अहिले निकै चलनचल्तिमा रहेको जस्तै, मःम, पानीपुरी, रोटी, आलु चिप्स बनाउने मेसिन घरमा नै ल्याएर व्यवसाय शुरु गर्न सक्नुहुन्छ । यसका लागि तपाईले धेरै लगानी पनि गर्नु पर्दैन ।

‘परिवर्तनको शुरुवात आफैबाट, चेन्जिङ नेपाल उद्यमीदेखि उद्योगसम्म’ नाराका साथ स्थापित भएको चेन्जिङ नेपाल नामक संस्थाले उद्यम गर्न चाहने व्यक्तिहरूको लागि घरमा नै बसिबसि उद्यम गर्न सक्ने व्यवस्था मिलाएको छ ।

आफू पनि गरौं र अरूलाई पनि सिकाऔं भन्ने उद्देश्यका साथ चेन्जिङ नेपालले महिला र युवा वर्गलक्षित नयाँ सोचका साथ बजारको आवश्यकता अनुसार विभिन्न ठाउँमा सेवा दिइरहेको छ ।

चेन्जिङ नेपालका कार्यकारी अधिकृत विकास निरौलाका अनुसार उद्यम गर्न चाहने व्यक्तिले घरमा नै उद्यम शुरु गरी राम्रो आम्दानी गर्न सक्छन् ।

‘मानिसको व्यस्तताका कारण अहिले जे पनि सजिलो, छिटो र छरितो हुने भएकाले हामीले आफ्नै घरमा विभिन्न प्रकारका सामान उत्पादन गरी बजारमा ल्याउन सक्छौं,’ उनले भने ।

त्यस्तै, लामो समयदेखि बजार बुझ्नुभएको छ भे व्यवसाय गर्न झनै सहज हुने उनी बताउँछन् । यदि तपाईले बजारमा कुनै व्यापार व्यावसाय गर्नुभएको छैन् भने पनि बजार बुझेर उद्यम गर्न सकिन्छ । त्यसैगरी, थोरै लगानीबाट व्यवसाय शुरु गर्ने सोचमा हुनुहुन्छ भने ४० हजारदेखि माथिको लगानीमा उद्यम गर्न सक्नेछन् ।

चाउमिन बनाउने मेसिन
नेपालमा सबैभन्दा बढी खाजाको रुपमा खाना रुचाउने खाजा हो चाउमिन । सबै मानिसको रुचिमा पर्ने चाउमिनको बजारको माग बढ्दो छ । यदि तपाई चाउमिनको उद्यम गर्न चाहनुहुन्छ भने थोरै लगानीमा उत्पादन गर्न सक्नुहुन्छ ।

थोरै लगानी गरेर उद्यम गर्न चाहेमा एक लाखदेखि ३ लाखसम्मको मेसिन किनेर घरमा नै बसिबसि चाउमिन उत्पादन गर्न सकिन्छ । तपाईंले १ लाख ५० हजारको मेसिन किनेर कच्चा पदार्थका लागि धेरै खर्च नगरी आफ्नो नाफा राखेर सस्तो मूल्यमा चाउमिन बेच्न सक्नुहुन्छ । यसमा म्युनुअल रोलर, सेमि अटो र फूल अटो गरी तीन थरिका मेसिन बजारमा पाउनेछन् । यसमा यदी फूल अटो मेसिन लिनुभयो भने प्रति घण्टा ३ सयदेखि ५ सय केजीसम्म चाउमिन बनाउन सक्नुहुन्छ ।

पास्ता मेकिङ मेसिन
नेपालमा अधिकांश पास्ता भारतबाट आयात हुने गर्दछ । यदि तपाई नेपालमा नै उत्पादन गरेर उद्यम गर्न सकिन्छ । यसका लागि लगानी पनि थोरै लाग्नेछ । पास्ता मेकिङ मेसिन एक लाख ३० हजार लगानी गरेमा मेसिन ल्याउन सकिन्छ । त्यस्तै पास्ता बनाउनका लागि नेपाली बजारमा नै कच्चा पदार्थमा नेपालमा नैै पाउने भएकाले सहज हुनेछ । यस मेसिनले प्रति घण्टा २५ देखि सय केजीसम्म पास्ता बनाउन सक्छ ।

केराको चिप्स बनाउने मेसिन
सामान्यतया केरा हामी पाकेको मात्रै फलफुलको रुपमा खाने गर्छाैं । तर, पछिल्लो समय केराको पनि विभिन्न परिकारको खानेकुरा बनाउन थालेका छन् । यस्तै, आलुको चिप्स युवाहरू माझ निकै लोकप्रिय छ । त्यसैगरी, हामीले केराको चिप्स बनाएर बजारमा बेच्न सकिन्छ । केराको चिप्स बनाउनका लागि २ लाखदेखि २ लाख ५० हजारसम्ममा मेसिन किन्न सकिन्छ ।

यसको चारवटा सेट हुन्छ । जसमा स्लाइसर, फ्राएर, मिक्चर र प्याकिङ हुन्छ । यी चारवटा नै सेट गरी ३÷४ लाखमा व्यवसाय शुरु गर्न सकिन्छ । यसको कच्चा पदार्थका लागि धेरै लगानी गर्नु आवश्यक छैन् । मेसिन सहायताले दुई जना व्यक्ति भयो भने दिनमा ४ सय देखि ५ सय केजी उत्पादन गर्न सकिन्छ । कच्चा पदार्थका लागि कालीमाटीमा गएर नपाकेको केरा ल्याएर घरमा नै चिप्स बनाउन सकिन्छ । बजारमा चिप्सको माग बढ्दो भएकाले यसबाट उद्यम गरेर निकै लाभ लिन सकिन्छ ।

मःम बनाउने मेसिन
नेपालीले निकै स्वादिष्ट र मीठो मानेर खाने खाजा हो मःम । पछिल्लो समय ठूला–ठूला होटल तथा रेष्टुराँमा धेरैजसो फ्रोजन मःमको प्रयोग हुने थालेको छ । आधुनिक मेसिनको आविष्कारसँगै बजारमा मःम बनाउने अटोमेटिक मेसिन पाउन थालेको छ । यदि तपाई मःम बनाएर बजारमा आफ्नो व्यापार गर्न चाहनुहुन्छ भने तपाईले थोरै लगानीबाट शुरू गर्न सक्नुहुन्छ । मःमको बजारमा निकै माग भएका कारण पनि यसले राम्रो बजार लिन सक्छ । एउटै मेसिनबाट फ्रोजन र सामान्य मःम दुबै बनाउन सक्छौं ।

फ्रोजन मःम बनाएर उद्यम गर्ने व्यक्तिले पहिले ४ लाख १० हजारभन्न्दा माथिको मुल्यमा मेसिन किन्न सकिन्छ । यसमा एउटा मेसिनले मात्रै मःम बनाउन झन्झट हुन्छ । मःम तयार हुन चार वटा मेसिनको आवश्यक पर्दछ । किमा, बन्दा प्याज काट्ने, पिठो मुस्ने र मःम बनाउने छुट्टाछुट्टै मेसिन पाइन्छ । यी सबै मेसिनको ६ लाख २५ हजारमा मेसिन किन्न सकिन्छ । त्यस्तै उद्यम गर्नेको लागि कच्चा पदार्थसहित ७ लाखसम्ममा मःम उत्पादन गरेर बजारमा आपूर्ति गर्न सकिन्छ । यो मेसिनको प्रयोगबाट प्रतिघण्टामा ८ सयदेखि १२ सय पिससम्म मःम बनाउन सकिन्छ ।

ससेज बनाउने मेसिन
त्यस्तै मासु परिकारबाट बन्ने अर्को खानेकुरा हो ससेज । ससेज बनाउँदा अधिकांश मासुको मात्र प्रयोग हुने गर्दछ । यस व्यवसायको लागि उद्यम गर्न चाहने व्यक्तिले २ लाखदेखि ३ लाखसम्म लगानी गरेर उद्यम गर्न सकिन्छ । ससेजका लागि पनि किमा बनाउने, मिक्चर, ससेज स्टफर, काट्ने र प्याकिङ गरी चार मेसिनको आवश्यक पर्दछ । यी मेसिनको प्रयोगबाट तपाई प्रतिघण्टामा १ सयदेखि २ सय केजीसम्मकमे ससेज बनाउन सक्नुहुन्छ ।

आलु चिप्स मेसिन
बालकदेखि युवा वर्ग सबैले खाना रुचाउँने खानेकुरा हो आलु चिप्स । बजारमा नेपाली बजारमा नै बनेको लोकल आलु चिप्स पाइन्छ । यसको बढ्दो माग भएकाले घरमा नै बसेर उद्यम गरी आलु चिप्स बनाउन सकिन्छ । सामूहिकरुपमा घरमा नै ठूलो व्यावसाय गर्न चाहनेका लागि ७ वटा मेसिनको आवश्यक पर्दछ । जसमा आलु तास्ने, पिस बनाउने, सुकाउने, फ्राइ गर्ने, डि–ओइलर, मिक्सचर र प्याकेजिङ मेसिन आवश्यक पर्दछ ।

तर, तपाईंसँग थोरै लगानी गर्ने पैसा छ भने ३ लाखबाट पनि उद्यम गर्न सक्नुहुन्छ । लगानी कम गर्नलाई चलाउनका लागि इलेक्ट्रिकको ठाउँमा एलपीजी प्रयोग गर्न सक्छौं । हात प्रयोग हुने ठाउँमा हात प्रयोग गरेमा सबै मेसिन ल्याउन आवश्यक पर्दैन । यसरी कम खर्चमा तपाईले व्यवसाय गर्न सकिन्छ । तर, अनिवार्य चाहिने मेसिन जस्तै, आलु तास्ने, आलु छिल्नेजस्तामा कामको लागि मेसिनका आवश्यक पर्दछ । यदी तपार्इंले सबै मेसिन ल्याएर उद्यम शुरु गर्नुभयो भने प्रतिघण्टा १ सयदेखि २ सयको केजीको हाराहारीको आलुको चिप्स बनाउन सफल हुनेछ ।

भुजिया बनाउने मेसिन
बजारमा विभिन्न कम्पनीका थरिथरिका मेसिन पाउन सकिन्छ । यस्तै, तपाईलाई पनि भुजियाको उद्यम गर्न मन लागेमा थोरै लगानीमा शुरु गर्न सकिन्छ । भुजियाको उद्यम गर्न चाहनेले ३ देखि ४ लाखसम्मको लगानीमा भुजिया उत्पादन गर्न सकिन्छ । भुजिया बनाउनका लागि भुजिया मेसिन, फ्रायर, मिक्स्चर, प्याकिङको आवश्यक पर्दछ । यस मेसिनले प्रतिघण्टा १ सयदेखि २ सय केजीसम्म उत्पादन गर्न सकिन्छ । बजारमा यसको माग पनि बढ्दो भएका कारण राम्रोसँग व्यावसाय गर्न सकिन्छ ।

लिक्विड फिलिङ तथा प्याकेजिङ
धेरैलाई लिक्विड फिलिङ तथा प्याकेजिङ भन्ने थाहा नहोला । यो मेसिन विभिन्न केमिकलका सामानहरू उत्पादन गर्ने मेसिन हो । यस मेसिनबाट तपाईले चाहे अनुसारको केमिकल प्रयोग गरेर विभिन्न लिक्विड बनाउन सक्नुहुन्छ । यो मेसिनको प्रयोगबाट हार्पिक, ह्यान्डवास, फिनेल, कोलिन, डेट्टोल, स्यानिटाइजर बनाउन सकिन्छ । यदि तपाईले लामो समयसम्म लिक्विडमा काम गर्नु भएको छ भने यस मेसिनको प्रयोगबाट आफैले विभिन्न प्रकारको उपयोगी लिक्विड बनाएर उद्यम गर्न सक्नुहुन्छ ।

यो मेसिनको मूल्य पनि सस्तो रहेको छ । उद्यम गर्न चाहनेलाई एक लाखदेखि एक लाख ३० हजारसम्ममा यो मेसिन पाइन्छ ।

साबुन बनाउने मेसिन
बजारमा धेरै खालको साबुन पाउन सकिन्छ र साबुन कम्पनीको आ–आफ्नै प्रतिस्पर्धा रहेको छ । यदि तपाई पनि बजारमा आफै उत्पादन गर्न चाहनुहुन्छ भने थोरै लगानीमा घरमा नै साबुन बनाउन सकिन्छ । तर, साबुन पनि ठाउँअनुसार फरक पाइन्छ । जस्तै ठूला–ठूला शहरहरूमा उच्च गुणस्तरको साबुन उत्पादन गर्नुपर्छ । त्यस्तै, अलि दुर्गम ठाउँमा माध्यम खालको साबुनले बजार लिन सक्छ ।

उच्च गुणस्तरको साबुन उत्पादन गर्ने हो भने पहिलो लगानी १३ लाख रहेको छ । तर, ताप्लेजुङ, रुकुम तथा अन्य ठाउँमा हो भने माध्यम खालको साबुनले उत्पादन गर्न शुरुमा ७ लाख लगानी लाग्छ । यसको लागि लगभग ३ जना कामदारको आवश्यक हुन्छ । साबुन बनाउन ५ वटा सेटको आवश्यक पर्दछ । जसमा मिक्सचर, मिलर, प्लोडर, प्रिन्टिङ र कट्टर रहेको छ । यस मेसिनले प्रतिघण्टा एक सयदेखि ३ सय केजीसम्म साबुन उत्पादन गर्न सकिन्छ ।

पेपर कप मेसिन
अहिले बजारमा चिया खाएपछि धुनै नपर्ने सिधै फल्न मिल्ने कप हो पेपर कप । ठूला–ठूला सेमिनार, भोजलगायत होटल, रेष्टुरेराँमा धेरै प्रयोग हुने पेपर कपको बजारमा माग बढ्दो छ । यदि तपाई पनि अलि धेरै लगानी गरेर उद्यमी गर्न चाहनुहुन्छ भने मेसिन ल्याएर एकजनाले नै काम गर्न सकिन्छ ।

यस मेसिनका लागि धेरै लगानी गर्नुपर्ने हुन्छ । पेपर कप मेसिनको मात्रै १० लाख रहेको छ भने कच्चा पदार्थ सहित यसको पहिलो लगानी १५, १६ लाख लाग्नेछ । मेसिनले सम्पूर्ण काम अटोमेटिक भएकाले एकजना मात्र भएपनि पुग्नेछ । यस मेसिनले प्रतिमिनेट ५० देखि ७५ पिस बनाउन सकिन्छ । जसमा ३० देखि ३ सय ५० मिलिलिटरको कप बनाउन सकिन्छ ।

तर, पेपर प्लेट बनाउने मेसिन भने थोरै लगानीमा नै उत्पादन गर्न सकिन्छ । पेपर प्लेट बनाउने मेसिनको मूल्य ८० हजारदेखि ३ लाख ५० हजारसम्म रहेको छ । त्यस्तै अल इन वान भन्ने मेसिनकोे ४ लाख ५० हजार पर्दछ ।

टिस्यु पेपर मेसिन
सामान्यतया शौचालय, हात पुस्ने तथा विभिन्न होटल, रेष्टुराँमा प्रयोग हुने सामग्री हो टिस्यु पेपर । नेपालको विभिन्न ठूला–ठूला सहरमा यसको प्रयोग बढी हुने गर्दछ । यसको बजारमा माग बढ्दो छ । यसमा सामूहिक लगानी गरी उत्पादन गर्न चाहने व्यक्तिहरूले व्यावसाय सञ्चालन गर्न सकिन्छ । बजारमा विभिन्न खालको पेपर पाउँछौं । जस्तै, न्याप्किन, टिस्यू पेपर र शौचालयमा प्रयोग हुने पेपर रहेको छ । बजारमा न्याप्किन पेपर व्यावसाय गर्न चाहनेले ७ लाखमा मेसिन किन्न सकिन्छ । तर, शौचालयमा प्रयोग हुने पेपरको लागि भने १५ लाख पर्दछ ।

पेपरमा लगानी गर्न सकेमा लगभग १५ प्रतिशत नाफा कमाउन सकिने कार्यकारी निर्देशक निरौला बताउँछन् । यस मेसिनले लगभग १ देखि २ टनसम्म प्रतिदिन उत्पादन गर्न सकिन्छ ।

पेपर ब्याग मेसिन
बजारमा पेपर ब्यागको माग पनि धेरै रहेकाले पेपरको ब्यागको उद्यम गर्न सकिन्छ । पेपर ब्याग सानो पसलदेखि हस्पिटल, सानो पसलहरू, सपिङ मल लगायतका ठाउँमा प्रयोग हुन्छ । प्लाष्टिकको प्रयोगमा बन्देज लगाएसँगै पेपर ब्यागको माग निकै बढ्दो छ । पेपर ब्याग हेर्दा आकर्षक पनि देखिन्छ । बजारमा यसको विभिन्न साइजको मेसिन पाइन्छ । तर, पेपर ब्याग सबै आकार बनाउने मेसिनको पहिलो लगानी १० लाख रहेको छ । यस मेसिनबाट ६० देखि एक सय २० पिसप्रति मिनेटमा जुनसुकै साइजको पनि बनाउन सकिन्छ । यस पेपर ब्याग बनाउनेबाट प्रति केजी १० देखि २० रुपैयाँ नाफा निकाल्न सकिन्छ ।

नन-ओभन फ्याब्रिक ब्याग मेसिन
नन–ओभन फ्याब्रिक ब्याग मेसिन भनेको प्लाष्टिकको सट्टा आएको ब्यागहरू हो । यसलाई नेपली बजारमा कटन ब्याग पनि भन्ने गरिन्छ । अहिले अधिकांश लुगा पसल, किराना पसल लगायत अन्य विभिन्न पसलमा प्रयोग हुने भएकाले बजारमा यसको माग बढ्दो छ । यसको पनि विभिन्न साइजको हुन्छ ।

ब्याग बनाउने सेमिअटोमेटिक मेसिनलाई ३ लाख ६० हजारभन्दा बढी पर्दछ । यस मेसिनले दिनमा ४० देखि ४५ केजी बनाउन सकिन्छ । यस्तै, यस मेसिनले प्रतिमिनेट २५ देखि २५ वटा ब्याग बनाउन सकिन्छ । त्यसैगरी, अटोमेटिक अर्को २३ लाख पर्ने मेसिनले दिनमा ५ देखि ६ सय केजीसम्म बनाउन सकिन्छ । यसले प्रति मिनेट ६० देखि १ सय २० पिस बनाउन सकिन्छ ।

एग ट्रे मेसिन
एग ट्रे भन्ने वित्तिकै तपाईलाई नौलो लाग्न सक्छ । एग ट्रे मेसिन भन्नाले बजारमा अण्डा राख्नको लागि प्रयोग हुने पेपरको ट्रे भन्ने बुझिन्छ । यदि तपाई सामूहिकरुपमा ठूलो उद्यम गर्न चाहानुहुन्छ भने एग ट्रे बनाउने पनि एउटा विकल्प हुन सक्छ । यसमा पहिलो लगानी अर्थात मेसिन किन्नको लागि मात्रै २० लाख पर्ने गर्दछ । तर, यसको सबै सेटअप गर्नका लागि लगभग ३५ लाखको लगानी गर्नुपर्दछ ।

स्यानिट्यारी प्याड बनाउने मेसिन
महिलाहरूका लागि अति आवश्यक स्यानिटरी प्याड बनाउन सामूहिक उद्यम गर्ने व्यक्तिको लागि ३ लाख ५० हजारसम्म किन्न सकिन्छ । तर, लकडाउनका कारण यसको मूल्य बढेको पाइन्छ । स्यानिटरी प्याड र मास्क बनाउने मेसिन एउटै भएकाले यसको मूल्य अहिले ६ लाख ५० हजार पुगेको छ । अधिकांश स्यानिटरी प्याड बाहिरी देशबाट आयात गर्ने गर्दछ । तर, अहिले नेपालमा पनि विभिन्न संघसंस्थाले स्यानिटरी प्याड बनाउन शुरु गरेको छ । यदि तपाई पनि उद्यम गर्न चाहानुहुन्छ भने मेसिन किनेर घरमा नै बनाउन सक्नुहुन्छ ।

टुथपिक बनाउने मेसिन
गाउँघरभन्दा शहरहरूको रेष्टुराँ, होटलमा प्रयोग हुने वस्तु हो टुथपिक । टुथपिकले विभिन्न फ्राइ भएका परिकार खानेबेला चम्चाको साट्टो यसको प्रयोग हुन थालेको छ । जसले गर्दा बजारमा बढ्दो माग छ । टुथपिक बाँसबाट वा अन्यबाट काठको प्रयोगबाट पनि बनाउन सकिन्छ । यदि घरमा नै उद्यम गर्ने हो भने टुथपिकका लागि ९ वटा मेसिनको आवश्यक पर्दछ । यसको सबै मेसिन सेटअप गर्नको लागि १३ लाख पर्दछ ।

दुना टपरी बनाउने मेसिन
नेपाली बजारमा सालको दुना, टपरीको व्यापार पनि राम्रो छ । तपाई दुना टपरी बनाउन चाहनुहुन्छ भने घरमा नै थोरै लगानीमा उत्पादन गर्न सकिन्छ । साथै, लगानीबाट राम्रो आर्थिक आम्दानी गर्न सकिन्छ । दुना, टपरी बनाउनको लागि पहिलो आवश्यकता हो मेसिन । मेसिनमा पनि तपाईले धेरै लगानी गर्नुपर्ने छैन् । यसको लागि सामान्यतया एक लाखभन्दा कम लगानीमा मेसिन किनेर बनाउन सकिन्छ । विशेषगरी यी सामग्री बनाउने मेसिनको मूल्य ४० हजारभन्दा माथि रहेको छ । सालको पातको टपरी बनाउनको नजिकको वन कार्यालयसँग स्म्झौता गरी टपारीको लागि सामान जुटाउन सकिन्छ ।

साथै, कागजको बनाउन चाहने मानिसको लागि काठमाडौंमा कच्चा पदार्थको उद्योग रहेका छन् । त्यसबाट कच्चापदार्थ ल्याएर आफै दुना टपरी बनाउन सकिन्छ ।

अगरबत्ति बनाउने मेसिन
यदी तपाई घरमा नै बसेर अगरबत्ति बनाएर बजारमा आपूर्ति गर्न चाहनुहन्छ भने मेसिन ल्याउर घरमा नै बनाउन सक्नुहुन्छ । यस्तै, अगर बत्ति बनाउने मेसिनको मूल्य एक लाख ६५ हजारभन्दा माथिमा किन्न सकिन्छ ।

चप्पल बनाउने मेसिन
सामान्यतया अधिकांश चप्पलहरु बाहिरबाट आयात गर्ने गर्दछ । तर, नेपालमा केही मात्रामा मात्रै चप्पल उत्पादन हुन्छ । नेपालमा हात्ती छाप चप्पल उत्पादन हुन्छ । यदि तपाई पनि नेपाली बजारमा नेपाली चप्पल उत्पादन गरेर उद्यम गर्नसक्नुहुन्छ । चप्पल उत्पादनको लागि थोरै लगानीमा पनि उत्पादन गरेर बजारमा आपूर्ति गर्न सकिन्छ । चप्पल बनाउने मेसिनमा ८० हजार लगानी गरी आफ्नै घरमा चप्पल बनाउन सक्नुहुन्छ ।


क्लिकमान्डु