लकडाउनमा ६१% उद्योग पूर्णरुपमा बन्द, औसत ७३.८% ले उत्पादन र कारोबार घट्यो



काठमाडौं । लकडाउनको अवधिमा ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेको पाइएको छ । अधिकांश उद्योग व्यवसायहरु पूर्णरुपमा बन्द रहँदा अर्थतन्त्रमा गहिरो असर पारेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा सर्वेक्षण गरेको थियो । जसमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरु सहभागी भएका थिए ।

सहभागी उद्योगी व्यवसायीमध्ये ४ प्रतिशत उद्योग व्यवसाय पूर्णरुपमा र ३५ प्रतिशत उद्योग÷व्यवसाय आंशिकरुपमा सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउनको ४ महिनामा सबैभन्दा धेरै शिक्षा, होटल तथा रेष्टुर, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सो प्रतिवेदनअनुसार लकडाउनको अवधिमा अवधिमा ठूला र मझौैला उद्योग÷व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग÷व्यवसायहरु बढी प्रभावित भएको समेत देखिएको छ ।

लकडाउन अवधिमा सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन÷कारोबार घटेको जनाएका छन् ।

सो अवधिमा ८३.९ प्रतिशत उद्योग÷व्यवसायहरुको औसत बिजुली खपत घट्नुले समेत सो तथ्यलाई थप पुष्टि गरेको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणमा सहभागी अधिकांश केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेको समेत देखिएको छ । बन्द गर्न चाहनेमा केही घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग/व्यवसायहरु रहेका छन् ।


क्लिकमान्डु