उद्योग व्यवसाय पुरानै अवस्थामा फर्कन ९ महिना लाग्ने



काठमाडौं । कोरोना महामारीका कारण ठप्प जस्तै भएका उद्योग व्यवसायले पुरानै लयमा फर्कन अझै ९ महिना लाग्ने उद्योगीहरुले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले गरेका सर्वेक्षणमा उद्योगी व्यवसायीले सामान्य अवस्थामा फर्कनका लागि अझै ९ महिना लाग्ने बताएका हुन् ।

चार महिना लामो लकडाउनका कारण शुन्यको अवस्थामा झरेको उद्योगले गती लिनका लागि लामो समय पर्खनुपर्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा सर्वेक्षण गरेको थियो । जसमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीहरु सहभागी भएका थिए । सहभागी उद्योगी व्यवसायीले पहिलेकै अवस्थामा ल्याउन ९ महिनासम्म लाग्ने बताएका थिए ।

सामान्य अवस्थामा फर्कन सबैभन्दा बढी अवधि रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप क्षेत्र १३.८ महिना र होटल तथा रेष्टुरेन्ट क्षेत्र १३.२ महिना र सबैभन्दा कम अवधि ५.१ महिना सञ्चार क्षेत्रमा लाग्ने उक्त क्षेत्रका उद्योग÷व्यवसायहरुले बताएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, सामान्य अवस्थामा फर्कन साना उद्योग÷व्यवसायहरुलाई सबैभन्दा धेरै (९.५ महिना) र मझौला उद्योग/व्यवसायहरुलाई सबैभन्दा कम (८ महिना) लाग्ने पाइएको छ । सामान्य अवस्थामा फर्कन घरेलु उद्योग र मझौला उद्योग÷व्यवसायहरुले राष्ट्रिय औसतभन्दा कम अवधि लाग्ने बताएका छन् ।

यस्तै, सर्वेक्षणमा सहभागी ८२.३ प्रतिशत उद्योग÷व्यवसायहरुले बन्दाबन्दीपश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने बताएका छन् । कारोबार घटाएर अहिलेकै व्यवसायलाई निरन्तरता दिने योजना रहेका उद्योग÷व्यवसायहरुको संख्या ४.५ प्रतिशत रहेको छ । भने नयाँ व्यवसाय शुरु गर्न चाहने ५ प्रतिशत रहेका छन् । त्यसैगरी, ५.४ प्रतिशतले व्यवसाय बिक्री गर्न र २.८ प्रतिशतले बन्द गर्न चाहेको बताएका छन् ।


क्लिकमान्डु