औद्योगिक प्रयोजनका लागि व्यवसायीले खानयोग्य सुन ल्याउन पाउने



काठमाडौं । उद्योगी व्यवसायीले औद्योगिक प्रयोजनका लागि खानयोग्य सुन आयात गर्न पाउने भएका छन् । उद्योग विभागको सिफारिसमा व्यवसायीले १५ सय ग्रामसम्म खानयोग्य सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

औषधि तथा अन्य प्रकारका खाद्यपदार्थ उत्पादनका लागि आवश्यक पर्ने खाने सुन हालसम्म उद्योगीले वाणिज्य बैंकहरुमार्फत् आयात गर्दै आएका थिए । जसमा अब राष्ट्र बैंकले सहजिकरण गरिदिएको हो ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र– २०७६ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै सो प्रवाधान गरेको छ ।

नेपाल बैंकर्स संघको सिफारिसमा ‘क’ वर्गका बैंकहरूले मात्र सुनको आयात गर्न राष्ट्र बैंकले अनुमति दिएको छ । तर संशोधित निर्देशिकाअनुसार उद्योग विभागको स्वीकृत स्किमभित्र परेका कुनै पनि उद्योगले औद्योगिक प्रयोजनका लागि खानयोग्य सुन आयात गर्न स्वीकृतिमा आयात गर्न सक्नेछन् ।

जसकालागि खानयोग्य सुन मिश्रण गरी तयार गरिने उत्पादनमा सम्बन्धित अन्तःशुल्क कार्यालयको प्रत्यक्ष अनुगमन रहने सर्तमा परीक्षणको गरिएको हुनुपर्नेछ ।

त्यस्ता उद्योगलाई वार्षिक अधिकतम १५ सय ग्रामसम्म खानयोग्य सुन आवश्यक कागजात पेश गरी सम्बन्धित व्यवसायीले सोझै बैंकमार्फत् आयात गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार खानयोग्य सुन आयात गर्ने उद्योग स्वीकृत स्किमभित्र परेको ब्यहोरा खुलेको कागजात हुनुपर्नेछ । साथै, सम्बन्धित अन्तःशुल्क कार्यालयले उत्पादनमा खानयोग्य सुन मिश्रण कार्यमा प्रत्यक्ष अनुगमन हुने सुनिश्चितता गरेको पत्र पेस गर्नु पर्नेछ ।


क्लिकमान्डु