रानी भन्सारको पुगेन लक्ष्य, ५७ प्रतिशतमात्रै राजस्व संकलन



काठमाडौं । एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा २१ अर्ब २८ करोड २६ लाख १७ हजार रुपैयाँ कम अर्थात ५७.१३ प्रतिशत मात्र हो ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७४÷७५ मा ३२ अर्ब ८१ करोड ३० लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने सो अवधिमा ३१ अर्ब २४ कारेड ४८ लाख ८१ हजार रुपैयाँ बराबरको लक्ष्यमा १ अर्ब ५६ करोड ८२ लाख दुई हजार रुपैयाँ बढी अर्थात १०५ प्रतिशत प्रगति गरेको थियो ।

यस्तै, आव २०७५/७६ मा कूल ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो ।

आव २०७४/७५ मा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल सो कार्यालयले आव २०७५/७६ मा पनि राजस्व लक्ष्य भन्दा कम उठ्नुको कारण सो वर्ष फागुन महिनादेखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनु मुख्य कारण थियो ।

गत अर्थिक वर्षमा कोभिड-१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापरिक कारोवार ठप्प हुनु आयात एवं निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए ।

उनले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजस्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको बताए । संकलित राजस्व आव २०७५/७५ कोभन्दा ४ अर्ब ४४ करोड ९६ लाख ५४ हजार रुपैयाँले कम हो भने आव २०७५/७६ को तुलनामा ९ अर्ब ९२ करोड ६० लाख ५९ हजार रुपैयाँले कम हो ।

विगत ३ वर्षको भन्सारको राजश्वलाई नियाल्दा ा विभागले लक्ष्य बढाउने र कार्यालयले लक्ष्यअनुसार प्रगति गर्न नसक्दा कर्मचारीमा निराशा मात्र होइन, काम गर्ने जागर पनि घट्ने भएको यसतर्फ विभागको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ ।

गएको आवमा संकलित राजस्वमा भन्सार महसुल १२ अर्ब ४ करोड २९ लाख १५ हजार, मूल्यअभिवृद्धि कर १४ अर्ब ७६ करोड ७४ लाख ४७ हजार रुपैयाँ र अन्तःशुल्क १ अर्ब ५५ करोड ३० लाख ६७ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु