कोभिड प्रभावित ऋणीले पाउने भए थप २० प्रतिशत सहुतियत कर्जा



काठमाडौं । कोरोना प्रभावित क्षेत्र ऋणीले थप २० प्रतिशत ऋण पाउने भएका छन् । कोभिड–१९ बाट अतिप्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न सहजीकरण गर्ने नेपाल राष्ट्र बैंकले यस्तो सहुलियतको व्यवस्था गरेको हो ।

सोमबार राष्ट्र बैंकले एकीकृत निर्देशिका-२०७६ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै चैत मसान्तसम्म कायम चालु पुँजीको आधारमा आवश्यकताअनुसार बढीमा २० प्रतिशत थप कर्जा १ वर्षको लागि दिन सकिने सुविधा दिएको छ ।

यस्तो थप कर्जा प्रदान गर्दा डेविट इक्विटी रेसियो र एकल ग्राहक कर्जा सीमा कायम गर्न २०७८ असार मसान्तसम्म अनिवार्य नहुने व्यवस्था छ । यस्तो थप कर्जा उत्पादनलाई निरन्तरता दिने, कच्चा पदार्थ खरिद गर्ने, कर्मचारी र कामदारको पारिश्रमिक भुक्तानी गर्ने जस्ता कार्यका लागि मात्र प्रवाह गर्न सकिने व्यवस्था निर्देशनमा गरिएको छ ।

साथै, यस्तो कर्जाबाट बैंक तथा वित्तीय संस्थाले वक्यौता साँवा तथा ब्याज असूल गर्न नपाउने छन् भने अन्य प्रयोजनका लागि कर्जा प्रयोग गर्न पाउने छैनन् ।

यसैगरी, २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिट लगायतका अल्पकालीन प्रकृतिका चालुपूँजी कर्जाहरुलाई ऋणीको वित्तीय अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी समय गर्न सकिने भएको छ ।

विद्युत् आयोजना निर्माण गरी निर्यात थाल्ने अवस्थामा पुगेका आयोजनामा प्रवाहित कर्जालाई निर्यात शुरु गरेको ५ वर्षसम्म र जलाशययुक्त जलविद्युत आयोजनामा प्रवाहित कर्जालाई कर्जा अवधिभर आधारदरमा १ प्रतिशत विन्दुसम्म मात्र थप गरी कर्जा प्रदान गर्नु पर्नेछ ।


क्लिकमान्डु