कर्मचारीका बुबा आमामा कोरोना संक्रमण देखिएपछि सनराइज बैंकमा सिल
सप्तरी । सनराइज बैंकमा कार्यरत कर्मचारीका बुबा-आमामा कोरोना देखिएपछि राजविराज शाखा सिल गरिएको छ ।
कोरोनाका कारण राजविराज नगरपालिका-६ का ७३ वर्षीय व्यापारीको निधन समेत भएको थियो । बैंकका ति कर्मचारीका बुबा आमा निधन भएका व्यापारीको घर नजिकै बसोबास गरिरहेका छन् ।
भारतबाट उपचार गराएर घर फर्किएका मृतक परिवारलाई केही दिन खाना खुवाउने क्रममा ती कर्मचारीको परिवारलाई कोरोनाको संक्रमणको आशंका गरिएको छ ।
भारतको दिल्लीबाट दरभंगा हुँदै घर आएका ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको १३ दिनपछि गत बिहीबार राति मृत्यु भएको थियो ।
मृतकको परिवारका सदस्यहरु, मृतकको पसलका कामदार र सम्पर्कमा आएका नातेदार र छिमेकीहरुको पिसिआर परीक्षण भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कर्मचारीको परिवारमा नै कोरोना देखिएपछि सनराइज बैंकका कर्मचारी समेत १०० जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।