सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई डेढ लाख सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बाल विकास समाजलाई १ लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकद्वारा उक्त संस्थालाई एक लाख ५० हजारको चेक हस्तान्तरण गरिएको छ । उक्त रकमबाट १५ जना गरिब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने संस्थाले जनाएको छ ।
बिगत ९ वर्षदेखि बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुरुप सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बाल विकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
आगामी दिनहरुमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जानकारी गराएको छ ।
कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख तथा विभिन्न संघ संस्थालाई ६ लाख गरी हालसम्म ६१ लाख रुपैयाँको सहयोग गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।