ग्लोवल आइएमई बैंकमा किन टिक्दैनन् सीइओ, १४ वर्षमा ६ सीइओ, को कति टिके ?



कठमाडौं । ०७६ असार २० गते ग्लोवल आइएमई र जनता बैंक मर्जरमा जाने निर्णय गरे । राष्ट्र बैंकको बिग मर्जरको नीतिलाई पहिलो पटक कार्यान्वयन गर्ने बैंक बन्यो ग्लोवल आइएमई ।

दुई बैंकबीच भएको सहमतिअनुसार बैंकको बहुमत संचालक समिति ग्लोवल आइएमई बैंकबाट हुने र जनता बैंकका सीइओ पर्शुराम कुँवर क्षेत्री सीइओ बन्ने सहमति भयो ।

०७६ मंसिर २० देखि ग्लोबल र जनता बैंकले एकीकृत कारोबार शुरु गरे ।

मर्जरपछि चुक्ता पुँजीका हिसाबले सबैभन्दा ठूलो र अन्य विभिन्न सूचकहरुमा पनि नम्बर वान बन्यो ग्लोवल आइएमई बैंक । र, देशकै सबैभन्दा ठूलो बैंकको सीइओ बन्ने सौभाग्यशाली मौका पाए पर्शुराम कुँवर क्षेत्रीले ।

ठूलो बैंकलाई ‘हाइप्रोफाइल’ सीइओ चाहिएको थियो । भेट्रान र पाको बैंकर मानिने क्षेत्री जस्तो बैंकर पाउनु ग्लोवल आइएमई बैंकका लागि पनि सुखद पक्ष थियो ।

तर जब ग्लोवल  र जनता बैंक मर्ज भइ ग्लोवल आइएमई बैंकका नाममा एकीकृत कारोबर भयो । र, पर्शुरामले सीइओको जिम्मेवारी सम्हाले । तब वित्तीय बजारमा एउटा चर्चा चल्यो- ‘ग्लोवल आइएमईको सीइओका रुपमा पर्शुराम एकवर्ष पनि टिक्न सक्दैनन् ।’

ग्लोवलमा अब आउने सीइओले पूरा कार्यकाल काम गरुन् । किनभने पहिलो कुरा उच्च व्यवस्थापनमा भएको अस्थिरताले बजारलाई राम्रो सन्देश दिँदैन ।

बजारले यस्तो अनुमान गर्नुका पछि एउटै कारण थियो- ग्लोवल आइएमई बैंकसँग १ जना सीइओले मात्रै कार्यकाल पूरा गरेको इतिहास थियो ।

नभन्दै ग्लोवल आइएमई बैंकमा निरन्तरताको क्रमभंगता भएन । र, वित्तीय बजारमा चलेको त्यो चर्चा आज सत्य सावित भएको छ । ७ महिना नबित्दै क्षेत्रीले पदबाट राजीनामा दिए । उनले एक महिनाअघि दिएको राजीनामा बैंकको सञ्चालक समितिले बिहीबार (आज) स्वीकृत गरेको छ ।

क्षेत्रीले आफ्नो स्वास्थ्यको कारण डटेर काम गर्न सक्ने अवस्था नआएपछि राजीनामा दिएको जानकारी दिएका छन् ।

ग्लोवल र जनता मर्जपछि बैंकका मूख्य आर्थिक सूचक

१४ वर्षमा ६ सीइओ, को कति टिके ?

बैंकले अहिलेसम्म ६ प्रमुख कार्यकारी अधिकृत बनायो । सीइओ ६ जना भएपनि व्यक्ति भने ५ जनामात्रै हुन् । अनिल ज्ञवालीले बैंकमा २ पटक सीइओ भए । तर, कार्यकाल भने पूरा गरेनन् ।

बैंक स्थापनाकालमा सुमन न्यौपाने सीइओ थिए । ४ वर्षे कार्यकालका लागि नियुक्ति भएका न्यौपाने २ वर्षमै राजीनामा दिएर हिँडे ।

त्यसपछि सीइओ बनेर आए अनिल ज्ञवाली । ज्ञवाली पनि २ वर्ष ४ महिनामै राजीनामा दिएर बाहिरिए ।

ज्ञवाली बाहिरिएपछि बैंकले रत्नराज बज्राचार्यलाई सीइओ बनायो । बज्राचार्य मात्रै यस्ता व्यक्ति हुन् जो ग्लोवलमा पूरा कार्यकाल सीइओ भएर बिताए । तर त्यो अवधिमा उनले सञ्चालक समिति समक्ष ४/५ पटक राजीनामा बुझाएका थिए ।

बज्राचार्यले ४ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि फेरि अनिल ज्ञवाली ग्लोवलको सीइओ बनेर आए । दोस्रो पटक पनि ज्ञवाली पूरा कार्यकाल टिक्न सकेनन् । २ वर्ष नपुग्दै राजीनामा दिएर हिँडे ।

राज्यको नीतिलाई सहयोग गर्दा नम्बर १ बन्यो ग्लोबल आइएमई बैंक, अब रणनीति बदल्छौं: अध्यक्ष ढकाल

त्यसपछि जनक शर्मा पौड्याल सीइओ बने । डेपुटी सीइओ हुँदा अध्यक्ष चन्द्र ढकालसँगै अत्यन्तै निकट रहेका जनक शर्मा पौड्यालले पक्कै पनि कार्यकाल पूरा गर्छन् भन्ने आँकलन गरिएको थियो । तर पौड्याल त झन् १४ महिनामै राजीनामा दिएर बाहिरिए ।

१४ वर्षअघि स्थापना भएको बैंकमा ६ सीइओ नियुक्ति भए । ६ सीइओलाई कार्यकाल पूरा गर्न २४ वर्ष लाग्छ । तर, ग्लोवलले १४ वर्षमै ६ सीइओ फेर्यो । औषतमा एकजना सीइओले ग्लोवलमा २ वर्ष ३ महिना मात्र बिताए ।

प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षका लागि हुने गर्छ । लगातार २ कार्यकालसम्म सीइओ नियुक्त गर्न पाउने व्यवस्था छ । जसकारण प्रायः धेरै बैंकमा एकै व्यक्ति ८ वर्षसम्म सीइओ भएर काम गरेका दृष्टान्तहरु छन् ।

ग्लोबल आइएमई बैंक अब टेक्नोलोजी बैंकिङमा आक्रमक हुने, यस्तो छ सीइओ कुँवरको रणनीति

तर ग्लोवलमा किन छिटो छिटो सीइओहरु परिवर्तन भइरहन्छन् ? छाडेर जाने सीइओहरु भन्छन्- ‘सञ्चालक समिति अलि बढी हस्तक्षेप गर्न खोज्छ । जुन कुरा प्रोफेसनल सीइओलाई पाच्य हुँदैन ।’

स्थापनाकालदेखि नै बैंकको अध्यक्षमा उदयमान व्यवसायी चन्द्र ढकाल छन् ।

नेपालका बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी संस्थालाई मर्जर गरेर बनेको संस्था ग्लोवल आइएमई बैंक हो । यो बैंकमा दुईवटा वाणिज्य बैंकसहित दर्जनबढी विकास बैंक र फाइनान्स कम्पनी मर्ज भएका छन् ।

चुक्ता पूँजीको आधारमा ग्लोवल आइएमई सबैभन्दा ठूलो बैंक हो । बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड छ । बैंकमा २१ लाखभन्दा बढी ग्राहक र ३१ सय कर्मचारी छन् । बैंकका करिब ३ सय शाखा कार्यालय छन् ।

ग्लोवलमा अब आउने सीइओले पूरा कार्यकाल काम गरुन् । किनभने पहिलो कुरा उच्च व्यवस्थापनमा भएको अस्थिरताले बजारलाई राम्रो सन्देश दिँदैन ।

दोस्रो कुरा, व्यवस्थापन अस्थिर भएको संस्था बाहिर देख्दा ठूलो र बलियो देखिए पनि भित्रभित्रै कमजोर भएको पनि हुनसक्छ ।

यस विषयमा सञ्चालक समिति र आम लगानीकर्ताले समयमै ध्यान दिन जरुरी छ ।


पुष्प दुलाल