भ्याट बुझाउने समय जेठ २५ सम्म थपिने, अन्य प्याकेज बजेटमा



काठमाडौं । अर्थमन्त्रालयले मूल्य अभिबृद्धि कर(भ्याट) बुझाउने समयलाई एक महिना थप गर्ने भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन जारी रहने हुँदा फागुन र चैत महिनाको बुझाउनुपर्ने भ्याटलाई जेठ २५ सम्म बुझाउदा हुने व्यवस्था गर्न लागेको हो ।

मन्त्रीपरिषद्को बैठकले लकडाउन बढाएपछि भ्याट बुझाउने समयलाई एक महिना थप गर्ने तयारी भएको अर्थमन्त्रालयले जनाएको छ ।
नियम अनुसार महिना समाप्त भएको २५ दिनभित्र भ्याट बुझाउनुपर्छ । सरकारले यसअघि नै चैतमा २५ गते बुझाउने भ्याटको सिमालाई बैशाख २५ सम्म सारेको थियो । यो अवधीमा पनि लकडाउन नखुलेको हुँदा भ्याट बुझाउने समयलाई एक महिना पछाडि सार्ने भएको हो ।
यस बाहेक सरकारलाई बुझाउनुपर्ने करहरुपनि जेठ महिनामा बुझाउदा हुने व्यवस्था अर्थमन्त्रालयले गर्ने छ ।

अर्थमन्त्रालयले सरकारले ल्याउने आर्थिक प्याकेजको घोषणा भने बजेट मार्फत गर्ने तयारी गरेको छ । अबको एक महिनामा बजेट आउने भएको हुँदा अर्थतन्त्रमा कोरोनाले पारेको असरलाई न्यूनिकरण गर्नको लागि राहतको प्याकेज सहितको बजेट तयारी अर्थमन्त्रालयले गरेको हो । जसमा कुन व्यवसायलाई कस्तो खाले छुट र सुविधा दिने लगायतका कुरा समेटिने छन् ।

संविधान अनुसार जेठ १५ मा बजेट ल्याउनुपर्छ । अर्थमन्त्रालय अहिले बजेट निर्माणको तयारीमा रहेको छ ।


क्लिकमान्डु