२०७७ सालमा सेयर किनबेच केका आधारमा र कसरी गर्ने ? नीरव पुडासैनीले दिए १० टिप्स



वैश्विक अर्थतन्त्रमा कोरोना नामक दैत्यले आक्रान्त पारिरहेको परिपेक्षमा नेपालको एकमात्र पुँजी बजार त्यसको साक्षी हुन तयार रहनु पर्छ । तथापि यो कोरोना नामक दैत्य एउटा झणभंगुर तन्तु मात्र‌ साबित होस् भन्ने कामना हामी सबैले गरिरहेका छौं । नयाँ वर्ष २०७७ को पूर्वसन्ध्या र पहिलो दिनमै आर्थिक हिसाबले गतिहिन हुन पुगेको छ ।

वैश्विक अर्थतन्त्रमा पर्ने प्रभावहरुका बाछिटा प्रत्यक्ष हाम्रो वैदेशिक रोजगारीबाट भित्रने रेमिट्यान्समा पर्ने पक्का छ । अप्रत्यक्षरुपमा यस्ता प्रभावसँगै हाम्रो आफ्नो रोजगारीको संख्यामा पनि उल्लेखनीय गिरावट आउने अनुमान लगानउन सकिन्छ । तसर्थ अर्थतन्त्रलाई गतिलो टेवा दिन रोजगारीको नयाँ आधारहरुको सिर्जना गर्न सरकारले आजबाट र्नै नीति तथा योजनाको तयारी गर्नुपर्छ ।

रोजगारी सिर्जना गर्न जुनसुकै क्षेत्रबाट बैदेशिक मुद्रा भित्र्याउन पहल गर्नुपर्छ । रोजगारी सिर्जना गर्ने क्षेत्रहरुमा छुटको व्यवस्था गरेर त्यस्ता उद्योगीहरुलाई प्रोत्साहन गरिनुपर्छ । तरलता व्यवस्थापनमा सरकारले विशेष कदम चाल्नु अपरिहार्य हुन्छ । २०७७ सालमा नेपालको पुाजी बजारमा लगानीकर्ताहरुले थप धैर्य र परिपक्क हुन अरुबेला भन्दा धेरै आवश्यक छ ।

सेयर बजारको कारोबार खोल्ने निश्चितता नभएता पनि यस वर्षको पहिलो कारोबारको शुरुवातसँगै लगानीकर्ताहरुको लागि केही बुँदागत सुझाबहरु तल उल्लेख गरेको छु । यहाँहरुलाई यी सबै सुझाबहरु सामान्य लाग्न सक्छन् तर यही सामान्य सुझाबहरुले आफ्नो कारोबारलाई केही हदसम्म सुरक्षित बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

नयाँ वर्ष २०७७ ले विश्वमा छाएको सन्त्रास तथा भयको बादललाई चिरोस् भन्ने सुभेक्षा व्यक्त गर्दै यहाँहरु सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै केही सुझाबहरु दिन चाहन्छु ।

१, कारोबार गर्दा लगानीकर्ताले कुनै पनि सेयरमा पुर्वाग्रह राख्नु हुँदैन । आमलगानीकर्ता घट्दो क्रमको सेयर वा आफुले केही समय पहिला ब्रिक्री गरेको सेयरलाई कमजोर प्रमाणित गर्न सँधै लागिपरेका हुन्छन् । बढ्दो मूल्यको सेयर भने किन्नलाई लालायित हुने आममनोविज्ञान हुन्छ । लगानीकर्ताले कुनै निश्चित सेयरसँग पुर्वाग्रह राख्न छाडे पुँजी बजारको भविस्य त उज्वल हुन्छ नै लगानीकर्ताले पनि निरास हुनु पर्ने दिन आउँदैन ।

२, लगानीकर्ताले आफ्नो कारोबार सँधै योजनावद्ध रुपमा गर्ने वानिबसाल्नु पर्छ । आमकारोवारीहरु यति र उति फाइदा वा नोक्शान भयो भनेर हिसाब राख्छन् । लगानीकर्ताले पहिले नाफा र घाटाको हिसावभन्दा आफूले गरेको लगानी योजनाबद्ध छ छैन भनेर हिसाव राख्दा २०७७ साल अझ बढी फलिफाप हुन्छ ।

३, आफ्नो जोखिम वहन क्षमता अनुरुपको कारोबार गर्नु उत्तम हुन्छ । बजार यति बढ्छ र उति बढ्छ भन्ने कुरा गौण हुन् । आफू बजारबाट हुनसक्ने नोक्शान कतिसम्म वहन गर्न सक्छु वा कतिसम्म नाफा खाने भनेर क्षमता अनुसार कारोबार गर्ने बानी बसल्दा निरास हुनु पर्ने दिन आउँदैन ।

४, सेयर खरिद गर्नुभन्दा पहिले जोखिम तथा फाइदाको प्रतिशत हेरेर मात्र लगानी गर्ने बानी बसाल्नु पर्छ । किन्नुभन्दा पहिले कम्पनीका बारेमा अधिकतम विश्लेषण गर्नु पर्छ । आमलगानीकर्ताहरु सेयर किनेपछि त्यसको नालिबेली केलाउन थाल्छन्, जुन अत्यन्त गलत हो ।

५, समय गयो किन्न पाइन भनेर नपछुताउनुहोस् । सेयर किन्ने बेला फेरि पनि आउँछ, जसरी बेच्ने बेला आउँछ ।

६, सेयर बजारमा चक्र अनि बजार प्रवृतिको धेरै ठूलो हात हुन्छ । बजारको प्रवृति अनुरुप खरिद ब्रिकि गर्नु पर्छ । बजारको प्रवृतिलाई नै चुनौती दिन्छु भन्ने मनसायले गरिने कारोवार धेरै हानिकारक हुन्छ ।

७, ब्यक्तिगत अनुमतिको सेयर बजारमा कुनै अर्थ रहन्न । आज फलानो सेयर बढ्छ भन्ने लागिरहेको छ, त्यसकारण किन्ने जस्ता कूराहरुको अर्थ हुँदैन । यस्त प्रवृतिबाट होसियार रहनु पर्छ ।

८, पुँजी बजारको कारोवारमा धैर्यताको ठूलो भूमिका हुन्छ । त्यसकारण आफ्नो योजनाअनुरुप बजार आएन भन्दैमा चाँडै धैर्य गुमाएर कारोवार गर्न छाड्न हुन्न । बजारलाई उसको चक्रमा छाडिदिनु पर्छ । यदि तपाईलाई आफ्नो विश्लेषण ठिक छजस्तो लाग्छ र त्यही अनुसार सेयर कारोवार गर्नु भएको छ भने धैर्यता कायम राख्नु उत्तम हुन्छ । कहिलेकाहि विभिन्न चलखेलको कारण पनि बजारले आफ्नो गति परिवर्तन गर्छ, तर त्यो स्थायी हुँदैन बजार पुनः पुरानै लयमा फर्किन्छ ।

९, सेयर बजारमा ज्योतिसशास्त्र चल्दैन र बजार कता जान्छ भनेर पत्ता लगाउने कुनै सफ्टवेयर पनि छैन । त्यसकारण अरुले भनेको आधारमा कारोवार नगरौं । आफ्नो विवेकको प्रयोग गर्दा नोक्शानीबाट जोगिन सकिन्छ ।

१०, सेयर मूल्यको आधारमा कारोवार गर्ने बानि गलत हो । आमलगानीकर्ताहरु सेयर मूल्यको आधारमा लगानी गर्छन् । सेयर मूल्य कुनै आधार नै होइन सामान्य अंक गणितको सिद्दान्तमा कहिल्यै सेयर नकिनौं ।

अन्त्यमा नियामक निकायले यसपछि खुल्ने बजारमा विशेष ध्यान दिन जरुरी छ । सेयर बजारका माफियाहरुले खेल्नसक्ने सबै खेलहरुका विरुद्ध लगानीकर्तालाई बचाउने प्रयास अरु समयमा भन्दा बढी गर्नुपर्छ ।


पुष्प दुलाल