एनसेलले २५ प्रतिशतले घटायो इन्टरनेट शुल्क



काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् ।

एनसेलले आफ्नो कर बाहेक २ प्रति एमबी रहेको पे एज यु गो शुल्क १.५० प्रति एमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहनेछ ।

सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ ।

पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् ।

जब ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० वा यो भन्दा थप १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जानेछन् । शुरुमा १० डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक १० मा ग्राहकले २०÷२० एमबी डेटा बोनस पाउने छन् ।

यदि ग्राहकले रु २ मेन ब्यालेन्स १.०४ एबी डेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउनेछन् ।

कोरोनाभाइरसले निम्त्याएको महामारीको यस समयमा, एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरु जस्तै सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु