विदेशमा अध्ययनरत विद्यार्थीलाई अभिभावकले बढीमा ५ सय डलर पठाउन सक्ने



काठमाडौं । विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपालमा रहेका परिवारले बढीमा ५ सय अमेरिकी डलर बराबर वा सो बराबरको रकम पठाउन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) बिना पनि विद्यार्थीलाई पनि प्रतिव्यक्ति ५ सय अमेरिकी डलरसम्म रकम पठाउन पाउने व्यवस्था गरेको हो ।

विश्वभर कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न देशमा अध्ययनरत विद्यार्थीलाई दैनिक गुजरा चलाउन समेत गाह्रो भएको गुनासो आएको कारण सो व्यवस्था गरिएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए । ‘

‘एनओसी नपाएका विद्यार्थीहरुले खान बस्न नै समस्या भयो भनेर गुनासो गरेको कारण भएपछि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर पठाउन पाउने व्यवस्था गरिएको छ,’ उनले क्लिमाण्डूसँग भने ‘एनओसी पाएका विद्यार्थीलाई पहिलेबाट नै यो सुविधा थियो ।’

प्रतिविद्यार्थी  अभिभावकले १ पटक मात्रै बढीमा ५ सय अमेरिकी डलर पठाउन सक्ने मिश्रले जानकारी दिए ।

अब अभिभावकले विदेशमा अध्ययरत एनओसी नलिएका विद्यार्थीलाई पनि ५ सय अमेरिकी डलरसम्म विदेशी मुद्रा सटहीको सुविधा भएको बैंक वित्तीय संस्थाबाट रकम सटही गरेर पठाउन सक्नेछन् ।

यसरी रकम पठाउनको लागि पठाइएको रकम प्राप्त गर्ने लाभग्राही विदेशमा रहेको नेपाली विद्यार्थी नै हुनुपर्नेछ । साथै, निर्वाह खर्च वापतको रकम पठाउँदा रकम पाउने व्यक्ति विदेशमा रहेर अध्ययन गरिरहेको खुल्ने कागजसहित बैंक तथा वित्तीय संस्थामा निवेदन राष्ट्र बैंकले जारी निर्देशनमा उल्लेख  छ ।


क्लिकमान्डु