ऋण, अग्रिम कर र भ्याट बुझाउने समय थप गर्न बैंकर र व्यवसायीको माग



काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघ बीच विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको नेपालमा पर्नसक्ने प्रभाव र यसले उद्योग व्यवसाय र बैंकिङ्ग क्षेत्रमा पर्नसक्ने प्रभावका सम्बन्धमा छलफल भएको छ । जसमा निजी क्षेत्र र बैंकले आगमी दिनमा कोभिड १९ बाट पर्नसक्ने असरको सम्बन्धमा समान धारणा बनाउनु पर्ने विषयमा छलफल भएको छ ।

छलफलमा परिसंघका अध्यक्ष सतिश कुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष राजेश अग्रवाल, बैँकिङ्ग समितिका सभापति अनलराज भट्टराई र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहाल, उपाध्यक्ष अनुकुल भट्नाकर, सल्लाहकार अनिल शाह लगायतको उपस्थिति रहेको थियो ।

छलफलमा सहभागीहरुले वर्तमान ऋण पुनर्संरचना, अग्रिम कर र भ्याट बुझाउनको लागि समयावधी थप गरी उद्योग व्यवसाय बन्द भएको अवस्थामा मजदुरहरुको ज्याला सम्बन्धमा सरकारबाट समेत सहयोगको अपेक्षा गरेको छ । सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा निजी क्षेत्रबाट प्रवाह गरिने सेवाहरु कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो ।

वर्तमान अवस्थामा बैंकिङ्ग क्षेत्रबाट निजी क्षेत्रले गरेका अपेक्षाहरुलाई पूरा गर्न सरकारको सहयोग आवश्यक रहेकोले नीजि क्षेत्र र बैकहरु बीचको आपसी सहकार्यले विशेष अर्थ राख्ने सबैको धारणा रहेको छ ।

साथै अहिलेको अवस्थामा पर्यटन र हवाई क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव देखिए पनि समग्र क्षेत्रमा यसको प्रभाव पर्ने र आपूर्ति व्यवस्था मिलाउनको लागि अत्यावश्यक वस्तुहरुको उत्पादन तथा वितरण गर्ने कम्पनीहरुलाई समेत सूचारु राख्नको लागि सरकारले आवश्यक व्यवस्थापन मिलाउने तर्फ ध्यान दिन अनुरोध गरेका छन् ।


क्लिकमान्डु