बीमा कम्पनीद्वारा दाबी भुक्तानीमा ढिलाइ, सवा १८ अर्ब बाँकी



काठमाडौं । बीमा कम्पनीहरुले बीमाको प्रभावकारीता बढाउन दाबी भुक्तानीलाई छिटो छरितो र सहज बनाउने भने पनि बिमितले भने अर्बौ रुपैयाँको दाबी भुक्तानी पाएका छैनन ।

बीमा समितिले उपलब्ध गराएको कम्पनीहरुको वित्तीय विवरण चालु आर्थिक वर्षको ६ महिना बिमितले १८ अर्ब २१ करोड ८ लाख रुपैयाँ दाबी वापतको रकम पाउन सकेका छैनन ।

जसमा जीवन बीमा कम्पनीबाट २ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीबाट १५ अर्ब ८० करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी वापत पाएका छैनन ।

चालु आवको पुस मसान्तसम्म सञ्चालनमा रहेका ३९ वटा बीमा कम्पनीले १६ अर्ब ६० करोड ३१ लाख रुपैयाँ दाबी भुक्तानी वापत बिमितलाई बुझाएका छन् ।

जसमा निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँ र १० अर्ब ६९ करोड ८५ लाख रुपैयाँ जीवन बीमा कम्पनीहरुले भुक्तानी गरेका हुन् ।

बीमा समितिले गत साता ल्याएको दाबी भुक्तानी सम्बन्धी निर्देशिका २०७६ अनुसार कुनै पनि बीमा कम्पनीमा दाबी परेको १५ दिनभित्रमा नै सर्भेयरले आवश्यक जाँचबुझ गरी बीमा कम्पनीको दायित्वको निर्धारण गरी विस्तृत विवरण समेतको प्रतिवेदन पेश गर्नुपर्छ ।

कम्पनीले बीमा लेखको सर्त तथा सुविधा अनुसार बिमितले पाउन सक्ने दाबी वापतको रकम बिमितलाई बुझाउनुपर्ने उल्लेख गरिएको छ ।

 

सर्भेयरले बीमा कम्पनीमा प्रतिवेदन पेश गरेको ३५ दिनभित्र पनि कम्पनीले आफ्नो दायित्व अनुसारको दाबी भुक्तानी बिमितलाई नगरे समितिले यसमा छानबिन गर्ने सो निर्देशिकामा उल्लेख गरिएको छ ।

बीमा कम्पनीहरुले यसअघिसम्म बीमा विनियामावली २०४९ अनुसार दाबी बिमितलाई दाबी भुक्तानी गर्ने गरेका थिए ।

जसमा सर्भेयरले बीमा कम्पनीमा सर्भेको रिपोर्ट पेस गरेको ३५ दिनभित्र कम्पनीले दायित्व ठहर गरी बिमितलाई दाबी भुक्तानी गर्नुपर्ने थियो । जसले गर्दा बीमा कम्पनीहरुले ३५ दिनसम्म सर्भेको रिपोर्ट पर्खिने र आफ्नो दायित्व अनुसारको बिमितलाई भुक्तानीको रकम दिन ढिलाइ गर्ने गरेका थिए ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म बिमितलाई दाबी भुक्तानी गर्न बाँकी १५ अर्ब ८० करोड निर्जीवन बीमा कम्पनीहरुले राखेका छन् ।

जसमा ५ वर्ष कम्पनीले अर्ब रुपैयाँभन्दा बढी, ६ वटाले ५० करोड रुपैयाँचन्दा बढी र अरु कम्पनीको पनि १ करोड रुपैयाँभन्दा माथि नै दावी भुक्तानी वापतको रकम वितरण हुन बाँकी छ ।

सबैभन्दा धेरै नेको इन्स्योरेन्सको ४ अर्ब ३ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । यसैगरी प्रिमियर इन्स्योरेन्सको १ अर्ब ६२ करोड ६९ लाख रुपैयाँ, हिमालयन जनरलको १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सको १ अर्ब १४ करोड ६६ लाख रुपैयाँ र दि ओरिएनटलको १ अर्ब १३ करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी रकम वितरण हुन बाँकी रहेको छ ।

यसैगरी सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमध्ये पछिल्लो समय बीमा बजारमा आएका ९ वटा जीवन बीमा कम्पनीहरु बाहेक ११ वटा कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ दाबी वापतको रकम बिमितलाई भुक्तानी गर्न बाँकी रहेको छ ।

जसमा नेपाल लाइफले मात्र १ अर्ब २० करोड ८० लाख ४८ हजार रुपैयाँ बिमितलाई दाबी भुक्तानी गर्न बाँकी रहेको हो ।

यस्तै, मेटलाइफको ५४ करोड ५८ लाख रुपैयाँ, नेशनल लाइफको २६ करोड ८० लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको १९ करोड ५६ लाख रुपैयाँ, सुर्या लाईफको ३ करोड १२ लाख रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ ।

साथै एशियन लाइफको २ करोड ७ लाख, प्राइम लाइफको १ करोड ६० लाख रुपैयाँ, गुँरास लाइफको ४४ लाख ७४ हजार रुपैयाँ, सिटिजन्स लाइफको १६ लाख ६९ हजार रुपैयाँ र रिलायन्स लाइफको १० लाख रुपैयाँ दाबी वापतको बिमितलाई वितरण गर्नुपर्ने रकम बाँकी रहेको छ ।


क्लिकमान्डु