वित्तीय साक्षरतामा प्रभु बैंक



काठमाडौं । प्रभु बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको आफ्नो क्षेत्रमा वित्तीय साक्षरता आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिने बताए । उनले स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने उल्लेख गरे ।

चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रुपमा परिचित भएको भएतापनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयबासीहरु नै अग्रसर भई लागेमा आर्थिक रुपमा सम्पनन हुन सकिने बताए । कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतमले वित्तीय साक्षरता सबैको लागि आवश्यक भएको बताए ।


क्लिकमान्डु